परिच्छेद–८ लेखापरीक्षण

परिच्छेद–८ लेखापरीक्षण

११०. कम्पनीले लेखापरीक्षक नियुक्त गर्नु पर्ने : (१) प्रत्येक कम्पनीले आफ्नो लेखापरीक्षण गराउन यस
ऐन बमोजिम लेखापरीक्षक नियुक्त गर्नु पर्नेछ ।

(२) कुनै कम्पनीको नेपाल राज्यबाहिर शाखा कार्यालय भएमा त्यस्तो शाखा कार्यालय रहेको मुलुकको प्रचलित कानूनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक उपदफा (१) बमोजिम नियुक्त लेखापरीक्षकले सो शाखाको पनि लेखापरीक्षण गर्न सक्नेछ ।

१११. लेखापरीक्षकको नियुक्ति : (१) कम्पनीको लेखापरीक्षक प्रचलित कानून बमोजिम लेखा परीक्षण गर्न इजाजतपत्र प्राप्त लेखापरीक्षकहरुमध्येबाट पब्लिक कम्पनीको हकमा परिच्छेद–१८ को अधीनमा रही साधारण सभाले र प्राइभेट कम्पनीको हकमा प्रबन्धपत्र, नियमावली वा सर्वसम्मत सम्झौतामा व्यवस्था भए बमोजिम र सो नभएमा साधारण सभाले नियुक्त गर्नु पर्नेछ र त्यसरी नियुक्त भएको मितिले पन्ध्र दिनभित्र निजको नाम कार्यालयमा पठाउनु पर्नेछ । तर प्रथम वार्षिक साधारण सभा हुनुभन्दा अघि सञ्चालक समितिले लेखापरीक्षक नियुक्त गर्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त भएको लेखापरीक्षक त्यसपछि बस्ने वार्षिक साधारण सभासम्म मात्र बहाल रहनेछ ।

(३) पब्लिक कम्पनीको लेखापरीक्षण गर्न एउटै लेखापरीक्षक, निजको साझेदार वा पूर्व साझेदार वा कर्मचारी वा भूतपूर्व कर्मचारीलाई लगातार तीन पटकभन्दा बढी लेखापरीक्षक नियुक्त गर्न सकिने छैन ।
तर तीन वर्ष पहिले नै साझेदारीबाट अलग हुने साझेदार वा त्यस्तो लेखापरीक्षकको सेवाबाट अलग भएको कर्मचारीको हकमा यो प्रतिबन्ध लागू हुने छैन ।

११२. लेखापरीक्षकमा नियुक्त हुन नसक्ने : (१) देहायका व्यक्ति वा त्यस्ता व्यक्ति हिस्सेदार भएको फर्म वा कम्पनी लेखापरीक्षकमा नियुक्त हुन र नियुक्त भइसकेको भए पनि बहाल रहन सक्ने छैन :–
(क) कम्पनीको सञ्चालक, नियमित पारिश्रमिक वा नगद सुविधा पाउने गरी नियुक्त सल्लाहकार, कम्पनीको व्यवस्थापन समूहमा रहेकोव्यक्ति वा कर्मचारी वा कामदार वा निजहरु कसैको साझेदार वा त्यस्तो साझेदारमध्ये कुनैको कर्मचारी वा निजहरुमध्ये सञ्चालक वा साझेदारको नजिकको नातेदार वा निजको कर्मचारी,
(ख) कम्पनीबाट कुनै किसिमले ऋण लिएको आसामी वा कम्पनीलाई तिर्नु बुझाउनु पर्ने कुनै रकम म्यादभित्र भुक्तान नगरी बाँकी रहेको व्यक्ति वा त्यस्तो व्यक्तिको नजिकको नातेदार,
(ग) लेखापरीक्षण सम्बन्धी कसूरमा सजाय पाएको तीन वर्षको अवधि भुक्तान नभएको व्यक्ति,
(घ) साहूको दामासाहीमा परेको व्यक्ति,
(ङ) कम्पनीको आधारभूत शेयरधनी वा कम्पनीको चुक्ता पुँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको शेयरधनी वा निजको नजिकको नातेदार,
(च) भ्रष्टाचार, ठगी वा नैतिक पतन हुने फौजदारी कसूरमा सजाय पाएको पाँच वर्षको अवधि भुक्तान नभएको व्यक्ति,
(छ) दफा १११ को उपदफा (३) बमोजिमको व्यक्ति,
(ज) पब्लिक कम्पनीको हकमा कुनै पनि सरकारी वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रण रहेको संस्था वा अन्य कुनै कम्पनीमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्ति वा निजको साझेदार वा त्यस्तो साझेदारको कर्मचारीको रुपमा कार्यरत व्यक्ति वा कम्पनीको व्यवस्थापनको तर्फबाट तयार हुने कुनै लिखत वा प्रतिवेदनमा हस्ताक्षर गर्न अधिकार पाएको व्यक्ति,
(झ) सीमित दायित्व भएको कम्पनी वा संगठित संस्था ।
(ञ) कम्पनीसँगको कारोबारमा कुनै स्वार्थ भएको व्यक्ति वा निजको नजिकको नातेदार वा कम्पनीसँगको कारोबारमा कुनै स्वार्थ भएको अर्को कम्पनीको सञ्चालक, पदाधिकारी वा आधारभूत शेयरधनी ।
(२) लेखापरीक्षकले आफू नियुक्त हुनुअघि उपदफा (१) बमोजिम अयोग्य नभएको कुरा कम्पनीलाई लिखित रुपमा जानकारी गराउनु पर्नेछ ।
(३) कुनै लेखापरीक्षक आफ्नो कार्यकाल समाप्त नहुँदै कुनै कम्पनीको लेखापरीक्षण गर्न अयोग्य भएमा वा कम्पनीको लेखापरीक्षक नियुक्त हुन वा कायम रहन नसक्ने स्थिति उत्पन्न भएमा निजले लेखापरीक्षण गर्नु पर्ने वा गरिरहेको काम तत्काल रोकी सो कुराको जानकारी
लिखित रुपमा कम्पनीलाई दिनु पर्नेछ ।
(४) यस दफाको प्रतिकूल हुने गरी नियुक्त भएको लेखापरीक्षकले गरेको लेखापरीक्षण मान्य हुने छैन ।

 

११३. कार्यालयले लेखापरीक्षक नियुक्त गर्न सक्ने : कम्पनीको वार्षिक साधारण सभामा कारणवश लेखापरीक्षक नियुक्त हुन नसकेमा वा वार्षिक साधारण सभा नै हुन नसकेमा वा यस ऐन बमोजिम नियुक्त भएको लेखापरीक्षक कुनै कारणवश कायम रहन नसकेमा कम्पनीको सञ्चालक समितिको अनुरोधमा कार्यालयले अर्को लेखापरीक्षक नियुक्त गर्न सक्नेछ ।

११४. हिसाब किताब लेखा दिनु पर्ने : लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकले कम्पनीको हिसाब किताब र लेखा कार्यालय समयभित्र जुनसुकै बखत मागेमा पनि दिनु पर्नेछ र कुनै कैफियत माग गरेको भए सोको यथार्थ जवाफ समेत सम्बन्धित सञ्चालक वा कर्मचारीले मनासिव समयभित्र दिनु पर्नेछ ।

११५. लेखापरीक्षकको काम कर्तव्य : (१) लेखापरीक्षकले आफूले लेखापरीक्षण गरेको हिसाब, किताब र लेखाको आधारमा कम्पनीको वासलात, नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण प्रमाणित गरी शेयरधनीहरु वा नियुक्त गर्ने अधिकारीलाई सम्बोधन गरी आफ्नो प्रतिवेदन कम्पनीलाई दिनु पर्नेछ ।

(२) लेखापरीक्षकको प्रतिवेदन प्रचलित कानून अनुसार वा अधिकार प्राप्त निकायले निर्धारण गरेको लेखापरीक्षणमान (अडिट स्ट्याण्डर्ड) अनुरुप हुनु पर्नेछ र त्यस्तो प्रतिवेदनमा आवश्यकता अनुसार यस ऐन बमोजिम खुलाउनु पर्ने कुराहरु उल्लेख गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको लेखापरीक्षण प्रतिवेदनमा अन्य कुराहरुको अतिरिक्त देहायका कुरा पनि खुलाउनु पर्नेछ :–
(क) लेखापरीक्षण सम्पन्न गर्न आवश्यक सूचना र स्पष्टीकरण उपलब्ध भए वा नभएको,
(ख) यस ऐन अनुरुप कम्पनीले आफ्नोकारोबारको यथार्थ स्थिति स्पष्ट हुने गरी लेखा राखे वा नराखेको,
(ग) प्राप्त भएको वासलात, नाफा नोक्सानीको हिसाब र नगद प्रवाह विवरण प्रचलित कानून बमोजिम निर्धारण गरिएको लेखामान अनुरुप तयार भए वा नभएको र त्यस्ता विवरणहरु कम्पनीले राखेको लेखासँग दुरुस्त रहे वा नरहेको,
(घ) लेखापरीक्षणको सिलसिलामा उपलब्ध गराइएका स्पष्टीकरण तथा सूचनाहरुको आधारमा लेखापरीक्षकको रायसाथ प्रस्तुत वासलातले कम्पनीको आर्थिक अवस्थाको तथा सोही मितिमा समाप्त भएको वर्षको नाफा नोक्सानीको हिसाब र नगद प्रवाह विवरणले क्रमशः कम्पनीको नाफा नोक्सान र नगद प्रवाहको समुचित चित्रण गरे वा नगरेको,
(ङ) सञ्चालक समिति वा प्रतिनिधि वा कुनै कर्मचारीले कानूनविरुद्ध काम काज गरेको वा कम्पनीको सम्पत्ति हिनामिना गरेको वा कम्पनीको हानि नोक्सानी गरे वा गराएको भए सो कुरा,
(च) कम्पनीमा लेखा सम्बन्धी कुनै जालसाजी गरे वा नगरेको,
(छ) कुनै सुझाव भए त्यस्ता सुझावहरु ।

 

११६. लेखापरीक्षण प्रतिवेदनमा लेखापरीक्षकको सही हुनु पर्ने : (१) यस ऐन बमोजिम कुनै कम्पनीबाट नियुक्त लेखापरीक्षकले तयार गरेको लेखापरीक्षण प्रतिवेदनमा सो व्यक्ति स्वंयले नै हस्ताक्षर गरी मिति खुलाउनु पर्नेछ ।
(२) कुनै कम्पनीले प्रचलित कानून अनुसार लेखापरीक्षणको कार्य गर्ने प्रमाणपत्र प्राप्त लेखा व्यवसायी संस्थालाई लेखापरीक्षकको रुपमा नियुक्त गरेको भए त्यस्तो संस्थाको साझेदारहरुको निर्णय अनुसार अधिकार प्रदान गरिएको सदस्यले लेखापरीक्षण प्रतिवेदनमा
हस्ताक्षर गरी मिति खुलाउनु पर्नेछ ।

११७. सूचना दिनु पर्ने : लेखापरीक्षकले दिएको प्रतिवेदनको प्रतिलिपि यस ऐनमा गरिएको व्यवस्थाको अधीनमा रही कम्पनीले शेयरधनीहरुलाई उपलब्ध गराउनु पर्नेछ । त्यस्तो कम्पनीमा आधिकारिक ट्रेड युनियनको व्यवस्था भएको रहेछ भने त्यस्तो टे«ड युनियनको लिखित अनुरोधमा कम्पनीले सो टेड युनियनलाई प्रतिवेदनको एकप्रति उपलब्ध गराउनु पर्नेछ ।

११८. लेखापरीक्षकको पारिश्रमिक : लेखापरीक्षकको पारिश्रमिक नियुक्तिकर्ताले तोके बमोजिम हुनेछ र सो पारिश्रमिक कम्पनीले व्यहोर्नेछ ।

११९. नियुक्त लेखापरीक्षकलाई हटाउने व्यवस्था : (१) यस परिच्छेद अनुसार नियुक्त लेखापरीक्षकलाई जुन आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरिएको हो सो आर्थिक वर्षको लेखापरीक्षणकोकाम समाप्त नभएसम्म हटाउन सकिने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै लेखापरीक्षकले लेखापरीक्षकको आचरण विपरीत काम गरेमा, आफूलाई लेखापरीक्षक नियुक्त गर्ने कम्पनीको हित विपरीत हुने कार्य गरेमा वा प्रचलित कानून विपरीत काम गरेमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स
संस्थालाई पूर्व जानकारी दिई सम्बन्धित कम्पनीको व्यवसाय नियमित गर्ने सम्बन्धमा प्रचलित कानून अनुसार अधिकार प्राप्त नियमनकारी निकाय भए त्यस्तो निकायको स्वीकृति लिई र नभए कार्यालयको स्वीकृति लिई जुन प्रक्रियाबाट लेखापरीक्षक नियुक्त भएको हो सोही प्रक्रियाबाट निजलाई हटाउन सकिनेछ ।
(३) उपदफा (२) अनुसार लेखापरीक्षकलाई हटाउँदा निजलाई आफ्नो सफाई प्रस्तुत गर्ने मनासिब मौका दिनु पर्नेछ ।