३. वर्तमान स्थिति

३. वर्तमान स्थिति

३. वर्तमान स्थिति

नेपालको अधिकतम तापक्रम प्रति वर्ष सरदर ०.०६ डिग्री सेल्सियसका दरले बृद्धि भएको देखिन्छ र हिमाली क्षेत्रमा यो दर बढी देखिएको छ । । विश्व जनसङ्ख्याको करिव ०.४ प्रतिशत मानिस बसोवास गर्ने नेपालले विश्वको कूल हरितगृह ग्याँसको करिव ०.०२५ प्रतिशत मात्र उत्सर्जन गरेता पनि वायुमण्डलीय तापक्रम बृद्धिका् कारण प्रभावित हुँदै गएको छ । यहाँ वार्षिक वर्षा–चक्रमा हेरफेर, लामो समय सम्म खडेरी पर्ने तथा तीब्र वर्षा हुने गरेको छ । हाल दिन र रात दुबै पहिलेको भन्दा वढी ताता भै रहेका छन् अर्थात ठण्डा दिन र रातको सङ्ख्या कम हुंदै गएको छ । १०० मि.मि. वा सो भन्दा वढी परिमाणमा पानी पर्ने दिनहरू अर्थात् मुसलधारे वर्षा हुने दिनको सङ्ख्या बढ्दैछ । पानी
पर्ने समय र अवधिमा परिवर्तन भइरहेको छ । तीब्र गतिमा हिमगलन हुँदै जानाले हिमनदीहरू पातलिंदै र छोट्टिंदै गएको र हिमतालको आकार बढ्दै गएको छ । जलवायु परिवर्तनको कारण कृषि तथा खाद्यान्न, जलस्रोत, वन जङ्गल तथा जैविक विविधता, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारमा प्रतिकूल प्रभाव पर्न थालेको छ । बाढी, पहिरो तथा डढेलोमा तीव्रता आएको छ । यी कारणबाट नेपालमा अत्यधिक मात्रामा धनजनको क्षति हुनुको साथै जीविकोपार्जनमा असर पारेको देखिन्छ । हाल जलवायु परिवर्तनबाट लाखौं नेपालीहरू जोखिममा परेको अनुमान गरिएको छ । सगरमाथा क्षेत्रमा रहेको हिम रेखा विगत करिव ९ दशकको दौरानमा ३३० फिट उचाई गलन (भर्टिकल लस्) भएको छ। हिमगलनको कारण नयाँ हिमतालहरू वन्दै गएका तथा नेपालका नदीमा सन् २०३० सम्म केहीे मात्रामा पानीको वहाव बढेता पनि यस शताब्दीको अन्त्यमा ठूलो परिमाणमा घट्ने अनुमान गरिएको छ । जलवायु परिवर्तनको कारण सिर्जित समस्याहरू घट्नुको सट्टा बढ्दै गएका र यसको कारक नेपाल नभएतापनि अनुकूलनका कार्यक्रमहरू कार्यान्वयन गर्दै जानु परेको छ । तसर्थ नेपालले जलवायु अनुकूलनलाई राष्ट्रिय एजेण्डाको रूपमा अगाडि ल्याएको छ र यसबाट सिर्जना हुने जोखिम न्यून गर्न विविध कार्यक्रमहरू कार्यान्वयन गर्न हालका वर्षहरूमा यथेष्ठ पहल गरिरहेको छ ।