परिच्छेद–१ प्रारम्भिक

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भः (१) यस ऐनको नाम “गुठी संस्थान ऐन, २०३३” रहेकोछ ।

(२) यस ऐनको विस्तार नेपालभर हुनेछ ।

(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा–

(क) “संस्थान” भन्नाले दफा ३ अन्तर्गतको गुठी संस्थान सम्झनुपर्छ ।

(ख) “अध्यक्ष” भन्नाले गुठी संस्थानको अध्यक्ष सम्झनुपर्छ ।

(ख१) “समिति” भन्नाले दफा ९ अनुसार गठित सञ्चालक समिति सम्झनुपर्छ ।

(ख२) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनुपर्छ ।

(ख३) “प्रशासक” भन्नाले संस्थानको प्रशासक सम्झनुपर्छ ।
(ग) “गुठी” भन्नाले कुनै मठ वा कुनै देवी–देवताको पर्व, पूजा वा जात्रा चलाउन वा कुनै धार्मिक वा परोपकारी कामको लागि कुनै मन्दिर, देवस्थल, धर्मशाला, पाटी– पौवा, इनार, पोखरी, तलाउ, धारा, पियाउ, बाटो, घाट, पुल, चौतारा, गौचरन, बाग, बगैचा, जङ्गल, पुस्तकालय, पाठशाला, औषधालय, चिकित्सालय घर, इमारत वा संस्था बनाउने, चलाउन वा त्यस्को संरक्षण गर्न कुनै दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता आउने अरू कुनै सम्पत्ति वा रकममा आफ्नो हक छाडी राखेको गुठी समेतलाई सम्झनुपर्छ ।
(घ) “राजगुठी” भन्नाले यो ऐन प्रारम्भ हुँदाको अवस्थामा गुठी संस्थानको हक दायित्व भई गुठी संस्थानले बन्दोवस्त र सञ्चालन गरी आएको राजगुठी सम्झनुपर्छ ।
(ङ) “छुटगुठी” भन्नाले आयस्ताबाट गुठीको पूजा, पर्व इत्यादि दानपत्र लिखत बमोजिमको काम चलाई बाँकी रहेको गुठीको शेष कसर वा सलामीसम्म राजगुठीमा बुझाउने गरी वा गुठी चलाउनेले नै शेष खाने गरी गुठी संस्थान ऐन, २०२१ प्रारम्भ हुनु अगावै सरकारी गुठी लगतमा गुठी दर्ता गराई वा दर्ता गराउनु पर्ने गरी त्यस्तो गुठीको जग्गाको नेपाल सरकारमा बुझाउनु पर्ने मालपोत वा तिरो बुझाउनु नपर्ने गराई र गुठीको दर्ता गुठीयारले नै गुठी चलाउन पाउने गरी छुट पाएको गुठीलाई सम्झनुपर्छ ।

(च) “निजी गुठी” भन्नाले राजगुठी र छुट गुठी बाहेकको दुनियाँको निजी गुठी सम्झनुपर्छ ।
(छ) “गुठीयार” भन्नाले छुट गुठी वा निजी गुठीका दाता वा दाताका हकवाला गुठी चलाउन वा गुठीको शेष कसर खान पाउने हक भएका व्यक्ति र त्यस्ता गुठीको सालबसाली दरबन्दीको महन्त र पूजारीलाई सम्झनुपर्छ ।
(ज) “गुठी रैतान नम्बरी जग्गा” भन्नाले दर्तावालाले संस्थानलाई मालपोत बुझाउनु पर्ने जग्गा सम्झनुपर्छ ।
(झ) “गुठी नम्बरी जग्गा” भन्नाले संस्थानले जग्गावालाको हैसियतले नेपाल सरकारलाई मालपोत बुझाउनु पर्ने जग्गा सम्झनुपर्छ ।
(ञ) “गुठी तैनाथी जग्गा” भन्नाले कसैको नाममा दर्ता नभएको गुठी संस्थानको सम्पूर्ण अधिकार रहेको जग्गा सम्झनुपर्छ ।
(ट) “गुठी अधीनस्थ जग्गा” भन्नाले दर्तावालाले संस्थानलाई जिन्सी बुझाई आएको जग्गा सम्झनुपर्छ ।
(ठ) “गुठी जिमीदारी” भन्नाले कुनै जिमीदारी मौजामा गुठीको हक भई गुठीमा मालपोत दाखिल हुने जिमीदारीलाई सम्झनुपर्छ ।
(ड) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको विनियममा वा नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी जारी गरेको आदेशमा तोकिएको वा तोकिएबमोजिम सम्झनुपर्छ ।