परिच्छेद–३, संस्थानको काम कर्तव्य

परिच्छेद–३, संस्थानको काम कर्तव्य

१६. राजगुठीको बन्दोबस्त र सञ्चालन  (१) संस्थानको अमानती, राजगुठी, मठ, मन्दिरको बन्दोबस्त र सञ्चालनको लागि आवश्यकतानुसार महन्त, पुजारी, व्यवस्थापक र अरू कामदार, कर्मचारीको नियुक्ति गरी दानपत्र लिखत भए सो र परम्परा बमोजिमको पर्व पूजा इत्यादि गर्नु पर्ने काम अमानतबाटै गराउनेछ र त्यस्तो अमानती गुठी, मठ, मन्दिरको आयस्ता गुठी कोष र गुठी जिन्सी मौज्दातमा जम्मा गरी खर्च गुठी कोष र
गुठी जिन्सी मौज्दातबाट नै व्यहोरिनेछ ।
(२) राजगुठीमा परिणत भएका छुटगुठी र निजीगुठीका हकमा संस्थानले त्यस्ता गुठीका दानपत्र, लिखत र परम्परा बमोजिम पर्व, पूजा इत्यादि गर्नु पर्ने काम नरोकिने र धर्म लोप नहुने गरी भइरहेको कामदार, कर्मचारी र खर्चको दरबन्दीमा बढी वा अनावश्यक कटाई नयाँ दरबन्दी कायम गरी उपदफा (१) बमोजिम अमानतबाट गुठीको कार्य सञ्चालन नगराई संस्थानले आफ्नै रेखदेख, नियन्त्रण र निर्देशनमा बढीमा पाँच वर्ष
सम्मको अवधि तोकी त्यस्तो गुठीको बन्दोबस्त र सञ्चालन साविकमा चलाई आएको दर्ता गुठियार, महन्त, पूजारी वा अरू कसैलाई सुम्पन सक्नेछ ।
तर, त्यसरी सुम्पिएकोमा दरबन्दी बमोजिम खर्च कटाई बाँकी बचेको आयस्ता संस्थानमा बुझाउनु पर्नेछ ।

१७. संस्थानको काम, कर्तव्य तथा अधिकारः यस ऐनमा स्पष्ट व्यवस्था भए बाहेक संस्थानको काम, कर्तव्य तथा अधिकार देहायबमोजिम हुनेछः–
(१) राजगुठीमाथि संस्थानमा हक दायित्व राखी व्यवस्था तथा सञ्चालन गर्न,
(२) छुटगुठी तथा निजीगुठीलाई राजगुठीमा लिई अमानतबाट व्यवस्था र सञ्चालन गर्ने वा यस ऐनमा व्यवस्था भए बमोजिम सञ्चालन गराउने,
(३) दानपत्र लिखत परम्परा बमोजिमको धार्मिक पर्व पूजा धर्मलोप नहुने गरी चलाउने वा चलाउन लगाउने,
(४) राजगुठीको चल अचल सम्पत्ति वा त्यसबाट भएको आम्दानी हाल भैरहेको र थप कुनै धार्मिक, शैक्षिक, सामाजिक, साँस्कृतिक वा परोपकारी संस्था वा कार्यमा लगाउने,
(५) राजगुठीको आम्दानीबाट फजूल खर्च घटाई चुहावट रोकी राजगुठीलाई बढी व्यवस्थित रूपले सञ्चालन गर्न आवश्यकत आनुसार कर्मचारी र खर्चको नयाँ दरबन्दी लगत बनाउने,
(६) कुनै अनुदान, दान, दातव्य, चल अचल, सम्पत्ति, प्राप्त गर्ने,

(६क) मठ मन्दिरमा चढ्ने भेटीघाटीको व्यवस्था गर्ने,

(६ख) प्राचीन गरगहना र धार्मिक, साँस्कृतिक वस्तुहरूको लगत राखी संरक्षण गर्ने गराउने,

(६ग) कुनै गुठीको कामको निमित्त खर्च गर्नु पर्दा सकभर सोही गुठीको आयस्ताबाट खर्च गर्ने,
(७) खेती, वागवानी र पशुपालन गर्ने,
(८) राजगुठीबाट गर्नु पर्ने कुनै काम गर्न संस्थानका तर्फबाट ठेक्का दिने करार गर्ने,
(९) घर, पसल बनाई बहालमा दिने,
(१०) संस्थानका तर्फबाट चलाउनु पर्ने कुनै कानुनी कारवाई चलाउने वा संस्थान उपर चलेको कुनै कानुनी कारवाईको प्रतिरक्षा गर्ने र अदालतको फैसला बमोजिम गर्ने,
(११) राजगुठीको आयस्ता रकमबाट गुठी चलाउने, खर्च गर्ने, बाँकी रकमबाट जगेडा कोष खडा गर्ने र सो कोषबाट सुरक्षित लगानी गर्ने,
(१२) गुठी तैनाथी जग्गामा संस्थानले आफै खेती गर्न वा मोही लगाई खेती गर्न दिने,
(१३) यो ऐन र प्रचलित कानुनबमोजिम राजगुठीको व्यवस्था सञ्चालन गर्दा परिआएको अरू काम गर्ने ।
१८. संस्थानले गर्न नहुने कामः संस्थानले देहायको काम गर्न हुँदैनः–
(१) गुठी जग्गामा नेपाल सरकारको स्वीकृति बेगर गुठीको स्वामित्व छाडिदिने,
(२) गुठी ऐलानी जग्गा नेपाल सरकारको नीति विरुद्ध नम्बरीमा दर्ता गर्ने,
(३) संस्थानलाई नोक्सान वा राजगुठीको धर्म–कार्यमा बाधा पर्ने कुनै काम कारवाई, आर्थिक कारोबार वा अन्य व्यवस्था सम्बन्धी काम गर्ने ।
१९. छुट गुठीको हक दायित्व संस्थानमा सर्नेः सबै छुट गुठी राजगुठीमा परिणत भई त्यस्तो छुट गुठीको चल अचल जायजेथा, देवमूर्ति समेत उपर छुट गुठीको भइराखेको सबै अधिकार संस्थानमा सर्नेछ र त्यस्ता छुट गुठीका गुठियार खान्गीदारको सबै हक अधिकार समाप्त हुनेछ ।

१९क. निजी गुठीको लगतः (१) निजी गुठीका गुठीयारले गुठीको लगत तोकिए बमोजिमको ढाँचामा संस्थानमा दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लगत प्राप्त भएपछि संस्थानले व्यक्तिगत वा पारिवारिक रूपमा र सामाजिक हितको लागि राखिएका निजी गुठीको लगत तोकिए बमोजिम छुट्टाछुट्टै राख्नु पर्नेछ ।
२०. निजी गुठीको हक दायित्व संस्थानले लिन सक्नेः (१) कुनै निजी गुठीको दाता समेत सबै वा अधिकांश गुठीयारहरूले त्यस्तो निजी गुठीको हक दायित्व संस्थानले नै व्यहोर्ने गरी बन्दोबस्त र सञ्चालन संस्थानबाट नै हुन लिखित अनुरोध गरेमा संस्थानले त्यस्तो गुठीको हक दायित्व लिई बन्दोवस्त र सञ्चालन गर्न सक्नेछ ।
(२) व्यक्तिगत वा पारिवारिक रूपमा राखिएका निजी गुठी बाहेक सामाजिक हितको लागि राखिएका निजी गुठीका गुठीयारले शिलापत्र, धर्मपत्र, दानपत्र आदिमा लेखिए बमोजिम सो गुठीको सञ्चालन नगरी गुठीको सम्पत्ति हिनामिना गरेको देखिएमा गुठियारले लिखित अनुरोध नगरे पनि संस्थानले त्यस्तो गुठीको जिम्मा लिई बन्दोवस्त सञ्चालन गर्न सक्नेछ ।
(३) पशुपति अमालकोट कचहरीमा कूत बुझाउनु पर्ने वा पशुपति गुह्येश्वरीसँग सम्बन्धित सबै खालका गुठीको जग्गाको जग्गा प्रशासन गुठी संस्थानले जिम्मा लिई बन्दोबस्त र सञ्चालन गर्न सक्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम संस्थानले हक दायित्व लिएपछि त्यस्तो निजी गुठी राजगुठीमा परिणत भई त्यस्तो निजी गुठीको चल, अचल जायजेथा, देवमूर्ति समेत उपर निजी गुठी वा दाता गुठियारको भैरहेको सबै अधिकार संस्थानमा सर्नेछ र त्यस्तो निजी गुठीका दाता, गुठीयार, खान्गीदारको सबै हक अधिकार समाप्त हुनेछ ।
२१. राजगुठीमा परिणत भएको छुटगुठी र निजीगुठीको विवरण जायजेथा बुझाउनेः दफा १९ र २० बमोजिम राजगुठीमा परिणत भएको छुट गुठी वा निजी गुठीका दाता, गुठियार वा गुठी चलाइआएका व्यक्तिले संस्थानले सूचना प्रकाशित गरेको छ महिनाभित्र संस्थानले तोकेबमोजिम त्यस्तो गुठीको चल अचल, जायजेथाको विवरण र स्याहा श्रेस्ता लगायत सबै लिखत संस्थानलाई बुझाउनु पर्छ ।