परिच्छेद–५, राजगुठी जग्गा

परिच्छेद–५, राजगुठी जग्गा

२५. गुठी तैनाथी जग्गाको बन्दोबस्तः (१) गुठी तैनाथी जग्गा संस्थानले आफै खेती गर्न वा लिलाम बढाबढ गराई दर्ता गरिदिन सक्नेछ ।
(२) गुठी तैनाथी जग्गामध्ये ऐलानी बाँझो जग्गाको हकमा संस्थानले अवस्था अनुसार देहायबमोजिम कुनै पनि व्यवस्था गर्न सक्नेछ ः–

(क) संस्थान आफैले आवाद गर्ने,
(ख) तोकिएबमोजिम केही वर्षको कूतसम्म माफी गरी खास किसानलाई  …….. आवादी गर्न दिने, र
(ग)  …………………
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै गुठी तैनाथी जग्गा घर घडेरी वा उद्योग व्यापारको लागि उपयुक्त देखिएमा त्यस्ता गुठी जग्गा र संस्थान आफैले खेती गरे गराएको गुठी तैनाथी जग्गा आवादी वा ऐलानी जे भएपनि उपयोग र ठाउँको महत्व हेरी संस्थानले तोकिएबमोजिम  ………….. बढाबढ गराई गुठी रैतान नम्बरी जग्गामा परिणत गरी दर्ता गरी दिन सक्नेछ र २०४६ चैत्र २६ गते भन्दा पहिले नै गुठी तैनाथी जग्गामा आफनै पूँजी लगाई घर बनाई बसोवास गरिसकेकाको हकमा त्यस्तो घर घडेरी यसै ऐनमा अन्यत्र व्यवस्था गरिए अनुसार
मूल्याङ्कन समितिले तोकेको मूल्यको आधारमा निजकै नाममा रैतान नम्बरीमा परिणत गरी दर्ता गर्न सकिनेछ ।
(४) उपदफा (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि देवस्थल रहेका वा देवी देवता देवस्थल पर्व पूजा जात्रासँग सम्बन्धित धार्मिक एवं सार्वजनिक पर्ति जग्गा कुनै व्यक्तिको नाममा दर्ता गरिने छैन । त्यस्तो जग्गा दर्ता गरिएको रहेछ भने पनि संस्थानले त्यस्तो जग्गाको दर्ता बदर गर्न सक्नेछ ।

२६. गुठी अधीनस्थ जग्गाको बन्दोबस्तः (१) यो ऐन प्रारम्भ भएपछि काठमाडौं उपत्यका र पहाड इलाकामा जोताहाले दर्तावालालाई कूत बुझाई दर्तावाला मोहीले राजगुठीलाई पूरै जिन्सी वा आँशिक जिन्सी र आँशिक गुठीको भाउले नगदीमा बुझाउनु पर्ने गुठी अधीनस्थ जग्गामा दर्तावालाको सबै हक अधिकार समाप्त भई त्यस्तो जग्गामा संस्थानको पूर्ण स्वामित्व कायम हुनेछ र त्यस्तो जग्गामा खास जोताहा किसानले प्रचलित कानुन बमोजिम मोहियानी हक पाउनेछ ।
(२) उपदफा (१) बमोजिम हक समाप्त हुने दर्तावाला मोहीले निजको साबिक जग्गामा प्रचलित कानुन बमोजिम लाग्ने मालपोतको दश गुणाले हुने रकम क्षतिपूर्तिवापत तोकिएबमोजिम पाउनेछ । त्यसरी क्षतिपूर्ति पाउने दर्तावालाले गुठीलाई तिर्नुपर्ने बक्यौता रकम भए सो कट्टा गरी क्षर्तिपूर्तिको रकम पाउनेछ ।
(३) उपदफा (२) बमोजिम दर्तावाला मोहीलाई दिइने क्षतिपूर्तिको रकम दर्तावालाको हक समाप्त भई आफ्नो हक हुन आउने खास जोताहा किसानले संस्थानमा तोकिएबमोजिम बुझाउनुपर्नेछ ।

(३क) दर्तावाला मोहीले संस्थानमा बुझाउनु पर्ने कूत नबुझाई बक्यौता रहन गएको देखिएमा जोताहा किसानले त्यस्तो बक्यौता रहेको अवधिको कूत दर्तावाला मोहीलाई बुझाएको निस्सा संस्थानमा पेश गर्नु पर्नेछ ।

(३ख) उपदफा (३क) बमोजिम कूत बुझाएको निस्सा पेश गर्न नसकेमा निस्सा पेश गर्न नसके जतिको कूत संस्थानमा बुझाउनु पर्नेछ ।
(४) दर्तावाला मोहीको हक समाप्त भई आफ्नो हक हुन आउने खास जोताहा किसानले उपदफा (३) मा तोकिए बमोजिमको क्षतिपूर्तिको रकम दाखिल नगरेमा वा उपदफा (३ख) बमोजिम बक्यौता कूत तोकिएबमोजिम नतिरेमा सो जग्गाको कूत नतिरे सरह कारवाई गरी सो जग्गामा तोकिएको दस्तूर लिई अर्को मोही कायम गर्न सकिनेछ ।
(५) उपदफा (४) बमोजिम कारवाई गरी अर्को मोही कायम हुन आएमा त्यस्तो मोहीले उपदफा (३) बमोजिम हक समाप्त भएको दर्तावाला मोहीलाई तिर्नुपर्ने क्षतिपूर्तिको बाँकी रकम र उपदफा (३ख) बमोजिमको कूत समेत संस्थानमा तोकिएबमोजिम बुझाउनु पर्नेछ ।

(६).    ……………
(७) यस दफामा जुनसुकै कुरा लेखिएको भएतापनि कुनैगुठी अधीनस्थ जग्गामा कसैले कानुनबमोजिम अधिकार पाई घर–बारी बनाई बसोबास गरी आएको भए प्रचलित नेपाल कानुनबमोजिम घर–बारी वापत राख्न पाउने जग्गाको हदसम्म जग्गा सोही व्यक्तिको नाममा मोहियानीमा दर्ता हुनेछ ।