परिच्छेद–७ विविध

परिच्छेद–७ विविध

३७. हदबन्दी सम्बन्धी व्यवस्थाः गुठी रैतान नम्बरी जग्गाको जग्गावाला र गुठी जग्गाका मोहीका सम्बन्धमा हदबन्दीसम्बन्धी प्रचलित नेपाल कानुनको सबै व्यवस्था लागू हुनेछ र सो प्रयोजनका लागि गुठी जग्गा र सरकारी रैकर जग्गा दुबैको हिसाब गरी हदबन्दी
कायम गर्नु पर्छ ।

३८. गुठी तैनाथी जग्गाका सम्बन्धमा विशेष व्यवस्थाः यस ऐनबमोजिम गुठी तैनाथी हुने जग्गा राजगुठी र संस्थानको हित विपरित कुनै व्यक्तिले कुनै किसिमले बन्दोबस्तीमा लिएको भए पनि गुठी संस्थान ऐन, २०२१ लागू भएपछि बन्दोबस्ती पाएको त्यस्तो हक
अधिकार स्वतः समाप्त भई त्यस्तोमा संस्थान र राजगुठीको हक र स्वामित्व पुनः कायम हुनेछ ।
तर–
(१) बन्दोबस्तीमा पाएको जग्गा घरबारीको लागि प्रयोग भएकोमा अन्य प्रचलित कानुनले पाएको हदसम्म त्यस्ताे व्यक्तिकाे नाउँमा गुठी रैतान नम्बरीमा दर्ता हुनेछ बाँकी जग्गामा संस्थानलाइ यस एेन बमाेजिम कूत  तिराे बुझाउन पर्नेछ ।

(२) नेपाल सरकारकाे स्वीकृति लिइ गुठी संस्थानले दश  बिगाहासम्म कसैकाे नाममा गुठी रैतान नम्बरीमा दर्ता गरेकाे जग्गाकाे हकमा याे दफा लागू हुने छैन ।

३९. गुठी घर वा जग्गा साविक बमोजिम दर्ता हुनेः (१) गुठी तैनाथी जग्गा गुठी अधीनस्थ जग्गामा, गुठी अधीनस्थ जग्गा गुठी रैतान नम्बरी जग्गामा वा गुठीको घर वा जग्गा रैकरमा दर्ता भएको प्रमाणित हुन आएमा प्रशासकले वा प्रशासकको काम गर्ने प्रशासकीय प्रमुखले त्यस्तो गुठीको घर वा जग्गा साविकको गुठी तैनाथी जग्गा, गुठी अधिनस्थ जग्गा वा गुठी रैतान नम्बरीमा नै दर्ता गर्न सक्नेछ । त्यसरी दर्ता भइसकेपछि
सो घर वा जग्गाको पहिले दर्ता भएको लगत कट्टा हुनेछ ।
(२) उपदफा (१) बमोजिम प्रशासकले वा प्रशासकको काम गर्ने प्रशासकीय प्रमुखले गरेको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले सो निर्णय उपर पैतीस दिन भित्र जिल्ला अदालतमा पुनरावेदन दिन सक्नेछ ।

४०. जायजेथा रोक्का राख्न पर्नेः संस्थानमा धितो राखेको अचल सम्पत्ति रोक्का गर्न संस्थानबाट लेखिआएमा सम्बन्धित कार्यालयले त्यस्तो अचल सम्पत्तिको सुक्री–बिक्री, भोगबन्धकी, दृष्टिबन्धकी वा अन्य कुनै प्रकारले कसैलाई हक छोडी दिन नपाउने गरी रोक्का गर्नु पर्नेछ ।

४१. बाँकी बक्यौता असुल गर्नेः (१) संस्थानले असुल उपर गर्नु पर्ने मालपोत, कूत, बहाल, भूबहाल, पेश्की, ठेक, जरिवाना, बिगो, शुल्क, अतिरिक्त शुल्क, दस्तुर आदि बाँकी– बक्यौता संस्थानले सरकारी बाँकी सरह सम्बन्धित व्यक्तिको धितो वा अन्य जायजेथा लिलाम बिक्री गरी असुल–उपर गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको बाँकी–बक्यौता असुल गर्दा संस्थानले मनासिब देखेमा दश प्रतिशतसम्म ब्याज समेत लगाई किस्ताबन्दीमा असुल उपर गर्न सक्नेछ ।

(३) उपदफा (१), (२) र दफा २८ मा जुनसुकै कुरा लेखिएको भएतापनि तोकिएको अवधिसम्मको बक्यौता रकम संस्थानले तोकिदिए बमोजिमको दरमा किस्ताबन्दीमा नगदीमा असुल गर्न सक्नेछ ।

४२. नेपाल सरकारले जग्गा अधिग्रहण गरे वापत सोध भर्ना गर्नेः नेपाल सरकारले गुठी जग्गा अधिग्रहण गरेमा सो जग्गाको मुआव्जा रकमको सट्टा जग्गा नै सोधभर्ना गर्न सक्नेछ ।
तर गुठी रैतान नम्बरी जग्गा अधिग्रहण गरेमा नेपाल सरकारले संस्थानलाई सो जग्गाको लाग्ने मालपोत वापत क्षतिपूर्ति दिनु पर्नेछ ।

४२क.नेपाल सरकारले गुठी जग्गा लिन सक्ने : नेपाल सरकारले संस्थानको स्वामित्वमा रहेको गुठी जग्गा सामाजिक कल्याण वा सामुदायिक हितको लागि उपलब्ध गर्न वा गराउन आवश्यक देखेमा व्यवहारिकता हेरी सहुलियत मूल्यमा लिन सक्नेछ ।

४३. तिर्जा व्यवस्था हटाउन सकिनेः गुठीका महन्त, पूजारी, गुठियार र अन्य रकमीहरूले खान्गी वा तिर्जा व्यवस्थाबाट जिन्सी खाई आएकोमा त्यसको सट्टा संस्थानले निजहरूलाई पारिश्रमिकको व्यवस्था गर्न सक्नेछ ।

४४. प्राचीन मूर्ति तथा गरगहनाको सम्बन्धमाः (१)राजगुठीका महन्त, पूजारी, गुठियार तथा अन्य रकमीहरूले आफ्नो जिम्माको देवी–देवताको प्राचिन मूर्ति गरगहना, भाँडा–वर्तन आदि सुरक्षित हुने गरी त्यसको अद्यावधिक लगत बनाई संस्थानबाट जँचाई राख्नु पर्नेछ ।
(२) त्यस्तो महन्त, पूजारी, गुठियार, तथा अन्य रकमीहरूको अदलीबदली हुँदा आफ्नो जिम्माको लगत बमोजिमको मालसामान बरबुझारथ गर्नु पर्नेछ ।
(३) राजगुठीका देवी–देवताको बेचल्तीका गरगहना, भाँडा–वर्तन आदि सामानहरू जिम्मा लिने व्यक्तिले सो सामानहरू संस्थानमा सुरक्षितसाथ राख्न चाहेमा निजले सो सामानहरू संस्थानमा बुझाउन सक्नेछ । संस्थानले चाहेमा त्यस्तो गरगहना भाँडा– वर्तनहरू संस्थानमा बुझाउन लगाउन सक्नेछ ।

४५. गहना र अन्य सम्पत्तिको व्यवस्था गर्न ः (१) राजगुठीका देवी–देवतालाई चढाएको गहना, भाँडाकुँडा र अन्य जिन्सी सम्पत्तिको सुरक्षाको लागि संस्थानले आवश्यक व्यवस्था गर्नेछ ।
(२) देवी–देवतालाई चढाएको गहना र अन्य सम्पत्ति जाँच्दा मनासिब कारणले बाहेक नपुग भएको देखिएमा संस्थानले सो जिम्मा लिने व्यक्तिबाट भर्ना हाल्न लगाउन सक्नेछ र त्यसरी सट्टा भर्ना नहालेमा संस्थानले बिगो बमोजिमको रकम त्यस्तो व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्नेछ ।

४६. गुठी जग्गाको हाट–बजार सम्बन्धमाः (१) प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भएतापनि गुठीको जग्गामा लाग्ने हाट, मेला वा बजारबाट गाउँपालिका वा नगरपालिकाले उठाएको रकम वा दस्तुरको पचास प्रतिशत रकम संस्थानमा बुझाउनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि संस्थानले चाहेमा त्यस्तो हाट, मेला वा बजार लाग्ने गुठी जग्गा संस्थानले आफैं व्यवस्था गर्न वा उपयोग गर्न सक्नेछ ।

४७. गुठी जग्गाको नाप–जाँच सम्बन्धमाः (१) गुठी जग्गाको नाप–जाँच गर्दा सम्बन्धित अधिकारीले सो गर्न अगावै सो कुराको सूचना संस्थानको कार्यालयमा दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम संस्थानलाई सूचना नदिएमा त्यस्तो अधिकारीलाई निजको सेवा–शर्तसम्बन्धी प्रचलित कानुनबमोजिम विभागीय कारवाई गरिनेछ ।

४८. अस्थायी निस्सा दिनेः गुठी जग्गाको जोताहा अस्थायी निस्सा र जग्गा धनीको स्थायी प्रमाण–पूर्जा  रैकर जग्गाको निस्सा दिने कार्यालयले दिनेछ ।

४९. कित्ता काट्नेः गुठी जग्गाको कित्ता काट्नु पर्दा सो कित्ता काट्ने कार्य रजिष्ट्रेशन गर्ने कार्यालयले गर्नेछ ।

५०. गुठी जग्गामा दर्ता गराउनु पर्नेः यो ऐन प्रारम्भ हुनुभन्दा अघि कुनै व्यक्तिले गुठी जग्गा जानी जानी रैकरमा दर्ता गराएको भए त्यस्तो व्यक्तिले यो ऐन प्रारम्भ भएको मितिले ६ महिनाभित्र सो जग्गा पुनः गुठी जग्गामा दर्ता गराउनु पर्नेछ ।

५१. गुठी तैनाथी जग्गाको चक्लाबन्दी मिलाउनेः संस्थानले गुठी तैनाथी जग्गाको चक्लाबन्दी मिलाउन आवश्यक देखेमा जग्गा सट्टापट्टा गरी चक्लाबन्दी मिलाउन सक्नेछ ।

५२. संस्थानलाई निर्देशन दिने अधिकारः नेपाल सरकारले आवश्यक देखेमा संस्थानलाई आवश्यक निर्देशनहरू दिन सक्नेछ । त्यसरी निर्देशन भएमा संस्थानले त्यस्तो निर्देशनहरू पालना गर्नु पर्नेछ ।

५३. संस्थानलाई सहयोग गर्नु पर्नेः गुठीको परम्पराबमोजिम चलाउनु पर्ने काम गुठीको चल अचल सम्पत्तिको संरक्षण गर्ने काम र संस्थानको घर जग्गा देवस्थल पाटी पौवामा संस्थानको स्वीकृति बेगर जबरजस्ती भोगचलन गर्नेलाई हटाउने जस्ता काममा स्थानीय प्रशासन, प्रहरी र गाउँपालिका वा नगरपालिकालेसहयोग गर्नु पर्नेछ ।

५४. विवरण वा मालपोत नबुझाउनेलाई सजायः दफा २१, २३ वा २४ बमोजिम संस्थानलाई बुझाउनु पर्ने विवरण, लिखत वा मालपोत दाखिल नगरेमा त्यस्तो व्यक्तिलाई पच्चीस सय रुपैयाँसम्म जरिवाना हुनेछ ।

५५. गुठी जग्गा रैकरमा दर्ता गराउनेलाई सजायः यो ऐन प्रारम्भ भएपछि जानी जानी गुठी जग्गा रैकरमा दर्ता गराउने व्यक्तिलाई वा दफा ५० बमोजिम गुठी जग्गामा दर्ता नगराउने व्यक्तिलाई रैकरमा दर्ता भएको जग्गाको प्रचलित दरभाउले हुन आउने मोल बराबरसम्म जरिवाना हुनेछ । त्यसरी रैकरमा दर्ता गरिएको जग्गा गुठीमा पुनः दर्ता गरिनेछ र त्यस्तो जग्गामा घर पसल बनाइसकेको रहेछ भने सो जग्गामा भूबहाल लाग्नेछ ।

५६. गरगहना आदि हिनामिना गर्नेलाई सजायः राजगुठीका देवी–देवतालाई चढाएको गरगहना तथा अन्य सम्पत्ति कसैले हिनामिना गरेमा निजबाट बिगो असुल गरी निजलाई बिगो बमोजिम जरिवाना हुनेछ ।

५७. धर्मलोप गर्नेलाई सजायः गुठीको लिखत, शिलापत्र, दानपत्र आदि बमोजिम गर्नु पर्ने काम नगरी धर्मलोप गरेमा त्यस्तो व्यक्तिलाई पाँचसय रुपैयाँसम्म जरिवाना हुनेछ र त्यस्तो व्यक्तिलाई गुठीको लिखत, शिला–पत्र, दानपत्र, आदि बमोजिम काम गर्ने गराउन सकिनेछ । सो बमोजिम नगर्ने महन्त, पूजारी, गुठियार र अन्य रकमीहरूलाई खारेज गरी अर्को व्यक्ति नियुक्ति गर्ने सकिनेछ ।

५८. अन्य सजायः दफा ५४, ५५, ५६, र ५७ मा लेखिएदेखि बाहेक कसैले यस ऐनको बर्खिलाप अन्य कुनै काम गरेमा निजलाई एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

५९. सजाय गर्ने अधिकारीः (१) दफा ५४, ५५, ५६, ५७ र ५८ बमोजिम सजाय गर्ने अधिकार प्रशासकलाई हुनेछ ।
(२) उपदफा (१) अन्तर्गत प्रशासकले गरेको सजायको आदेश उपर नेपाल सरकारमा पुनरावेदन लाग्नेछ ।

६०. अदालतलाई भएसरहको अधिकार हुनेः दफा ५४, ५५, ५६, ५७ र ५८ बमोजिम कारवाई गर्दा प्रशासकलाई बयान लिने, साक्षी प्रमाण बुझ्ने र कागजपत्रहरू दाखिल गराउने सम्बन्धमा अदालतलाई भए सरहको अधिकार हुनेछ ।

६१. अन्य नेपाल ऐनबमोजिम कारवाई गर्न सकिनेः यस ऐनमा लेखिएको कुनै कुराले देवी– देवताका मूर्ति, गरहगना तथा संस्थानका अन्य सम्पत्ति हिनामिना गर्ने व्यक्तिलाई भ्रष्टाचार निवारण सम्बन्धी प्रचलित कानुनबमोजिम कारवाई चलाउन बाधा पर्ने छैन ।

६३. विशेष छुटः (१) प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भएतापनि संस्थान वादी भएको मुद्दामा कोर्ट फी लाग्ने छैन र संस्थान वादी वा प्रतिवादी भएको मुद्दा मामिलामा संस्थानको वारिसलाई हाजिर नगराई नहुने अवस्था परी सम्बन्धित अड्डा अदालतले आदेश दिएमा बाहेक संस्थानको वारिस तारेखमा हाजिर भैरहनु पर्ने छैन ।
२) संस्थानले आफ्नो जायजेथाको हक कायम गराउन, लगानी असुल गर्न, कर्मचारी, महन्त, पूजारी, रकमी, गुठियार, ठेकदार आदिसँग बाँकी रहेको नगदी जिन्सी दाखिला गराउने कूत, ठेक, मालपोत, भूबहाल समेतको जुनसुकै रकम असुल गर्ने सम्बन्धमा कुनै हदम्याद लाग्ने छैन ।

६३क. अधिकार प्रत्यायोजन गर्न सक्नेः संस्थानले आवश्यकतानुसार आफ्नो अधिकार अध्यक्ष, सदस्यहरूको उपसमिति, प्रशासक वा संस्थानको कुनै कर्मचारीलाई सुम्पन्न सक्नेछ ।

६३ख. जिल्ला कार्यालयले गुठी र देवस्थलको रेखदेख गर्नु पर्नेः प्रत्येक जिल्ला कार्यालयले आफ्नो जिल्लामा रहेको गुठीहरूको काम कारवाईको आवश्यक रेखदेख र निरीक्षण गर्नुका साथै देवस्थलहरूमा रहेका प्राचीन मूर्ति, गरगहना आदि सम्पत्तिको रेखदेख गर्नु पर्नेछ ।

६३ग. जिल्ला गुठी सञ्चालन सहयोग समितिः (१) गुठी जग्गाको सुव्यवस्था गर्नको लागि नेपाल सरकारले आवश्यकतानुसार जिल्ला गुठी सञ्चालन सहयोग समिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको समितिको गठन, काम, कर्तव्य र अधिकार तथा अन्य कार्यविधि तोकिएबमोजिम हुनेछ ।

६४. विघटन र त्यसको परिणामः (१) कुनै कारणवश संस्थानलाई विघटन गर्नु पर्छ भन्ने नेपाल सरकारलाई लागेमा संस्थानलाई विघटन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम संस्थान विघटन भएमा संस्थानको सबै दायित्व र अधिकारहरू नेपाल सरकारमा सरेको मानिनेछ ।

६५. विनियम बनाउने अधिकारः यस ऐनको उद्देश्य कार्यान्वित गर्न संस्थानले नेपाल सरकारबाट स्वीकृति प्राप्त गरी विनिमयहरू बनाउन सक्नेछ ।

६६. खारेजी र बचाउः (१) गुठी संस्थान ऐन, २०२९ खारेज गरिएकोछ ।
(२) गुठी संस्थान ऐन, २०२९ अन्तर्गत भए गरेका काम कारवाई यसै ऐन अन्तर्गत भए गरेको मानिनेछ ।