परिच्छेद-१ प्रारम्भिक

परिच्छेद-१ प्रारम्भिक

  • संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

  • परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क)   “आकस्मिक प्रसूति सेवा (इमर्जेन्सी अव्स्टेट्रिक केयर)” भन्नाले गर्भावस्था, प्रसूति अवस्था वा सुत्केरी अवस्थामा कुनै जटिलता देखा परेमा त्यस्ता जटिलता व्यवस्थापन गर्न चौबीसै घण्टा उपलब्ध हुने सेवा सम्झनु पर्छ।

(ख)   “आधारभूत आकस्मिक प्रसूति सेवा (वेसिक इमर्जेन्सी अव्स्टेट्रिक केयर)” भन्नाले एन्टिवायोटिक, म्याग्नेसियम सल्फेट वा अक्सिटोसिन दिने, अड्केको साल निकाल्ने, औजार (भ्याकुम) समेतको मद्दतले शिशु जन्माउने र गर्भपतन भएकोमा पाठेघर सफा गर्ने जस्ता आधारभूत सेवा सम्झनु पर्छ।

(ग)   “किशोर किशोरी” भन्नाले दश वर्षदेखि उन्नाईस वर्षको उमेर समूहको व्यक्ति सम्झनु पर्छ।

(घ)   “गर्भपतन” भन्नाले गर्भमा रहेको भ्रुण स्वभाविक रूपमा जन्मन सक्ने हुनुभन्दा अगावै गर्भाशयबाट भ्रुण बाहिर निस्कने वा निकाल्ने कार्य सम्झनु पर्छ।

(ङ)   “गर्भनिरोध (कन्ट्रासेप्सन)” भन्नाले डिम्ब निष्काशन, शुक्रकिट र डिम्ब निसेञ्चन वा डिम्बरोपणका सामान्य प्रक्रियामा अवरोध उत्पन्न गरी गर्भ रहन नदिने उपाय सम्झनु पर्छ।

(च)   “गर्भनिरोधका साधन” भन्नाले गर्भनिरोध गर्ने कार्यमा सहयोग गर्ने हर्मोनयुक्त वा अन्य साधन सम्झनु पर्छ।

(छ)  “गर्भपतन सेवा” भन्नाले गर्भपतन गर्नका लागि इजाजतपत्र प्राप्त स्वास्थ्य संस्थामा इजाजतपत्र प्राप्त स्वास्थ्यकर्मीले यस ऐन बमोजिमको प्रक्रिया पूरा गरी गरिने गर्भपतन सेवा सम्झनु पर्छ।

(ज)   “गर्भवती सेवा” भन्नाले दफा 5 बमोजिमको सेवा सम्झनु पर्छ।

(झ)   “गर्भावस्था” भन्नाले गर्भधारण हुनु अघिको अन्तिम पटक महिनावारी भएको पहिलो दिनदेखि महिलाको पाठेघरभित्र गर्भ रहेसम्मको अवधि सम्झनु पर्छ।

(ञ)   “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।

(ट)   “नवजात शिशुको अत्यावश्यकीय सेवा (न्यूबर्न इसेन्सियल केयर)” भन्नाले नवजात शिशुलाई न्यानो गरी सफा राख्ने, नाभी र आँखाको स्याहार गर्ने, आमाको दुध खुवाउने, आवश्यक खोप दिने समेतका सेवा सम्झनु पर्छ।

(ठ)   “नवजात शिशुको आकस्मिक सेवा (न्यूबर्न इमर्जेन्सी केयर)” भन्नाले नवजात शिशुलाई सङ्क्रमण भएको अवस्थामा एन्टिवायोटिक दिने, हाइपोथरमीया लगायतको व्यवस्थापन गर्ने तथा त्यस्ता शिशुको श्वास प्रश्वास सम्बन्धी समस्या व्यवस्थापन सम्बन्धी सेवा सम्झनु पर्छ।

(ड)   “परिवार नियोजन” भन्नाले कुनै गर्भनिरोधको साधन प्रयोग गरी वा नगरी आफूले चाहे अनुसारको सन्तानको सङ्ख्या वा गर्भान्तर निर्धारण गर्ने योजना सम्झनु पर्छ।

(ढ)   “प्रजनन स्वास्थ्य” भन्नाले प्रजनन पद्धति, प्रक्रिया र कार्यसँग सम्बन्धित शारीरिक, मानसिक तथा  सामाजिक स्वास्थ्यको स्थिति सम्झनु पर्छ।

(ण)   “प्रजनन स्वास्थ्य अधिकार” भन्नाले दफा ३ बमोजिमको अधिकार सम्झनु  पर्छ।

(त)   “प्रजनन स्वास्थ्य रुग्णता (मर्बिडिटि)” भन्नाले प्रजनन, गर्भावस्था, गर्भपतन, प्रसव र यौन व्यवहारको कारणले प्रजनन प्रणालीमा प्रतिकूल प्रभाव पार्ने अवस्था सम्झनु पर्छ र सो शब्दले आङ्ग खस्ने, प्रसव छिद्र, बाँझोपन, पाठेघरको मुखको क्यान्सर र प्रजनन प्रणालीलाई प्रभाव पार्ने यस्तै प्रकारका अन्य अवस्था समेतलाई जनाउँछ।

(थ)   “प्रसूतिकर्मी” भन्नाले गर्भवती महिलाको प्रसूति गराउने कार्य गर्ने तालिम प्राप्त स्वास्थ्यकर्मी सम्झनु पर्छ।

(द)   “मन्त्रालय” भन्नाले स्वास्थ्य सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालय सम्झनु पर्छ।

(ध)   “बृहत आकस्मिक प्रसूति सेवा (कम्प्रिहेन्सिव इमर्जेन्सी अव्स्टेट्रिक केयर)” भन्नाले खण्ड (ख) मा उल्लिखित आधारभूत आकस्मिक प्रसूति सेवाको अतिरिक्त रक्त सञ्चार र शल्य चिकित्सा सेवा समेत सम्झनु पर्छ।

(न)   “सुरक्षित मातृत्व” भन्नाले महिलालाई गर्भवती, प्रसव र सुत्केरी अवस्थामा यस ऐन बमोजिम उपलब्ध गराइने मातृत्व सेवा सम्झनु पर्छ।

(प)   “स्वास्थ्य संस्था” भन्नाले सरकारी, गैरसरकारी, सामुदायिक वा निजी स्तरबाट सञ्चालित अस्पताल, नर्सिङ्ग होम, मेडिकल कलेज वा  स्वास्थ्य प्रतिष्ठान सम्झनु पर्छ र सो शब्दले प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी वा अन्य कुनै नामबाट सञ्चालित स्वास्थ्य संस्थालाई समेत जनाउँछ।