परिच्छेद–२ अपाङ्गताको वर्गीकरण, परिचयपत्र तथा अभिलेख

परिच्छेद–२ अपाङ्गताको वर्गीकरण, परिचयपत्र तथा अभिलेख

३. अपाङ्गताको वर्गीकरणः (१) अपाङ्गताको वर्गीकरण अनुसूचीमा उल्लेख भए बमोजिम हुनेछ ।
(२) मन्त्रालयले तोकिए बमोजिमको समितिको सिफारिसमा उपदफा (१)
बमोजिमको अपाङ्गताको वर्गीकरणमा हेरफेर गर्न सक्नेछ ।

४. अपाङ्गताको परिचयपत्र सम्बन्धी व्यवस्थाः (१) अपाङ्गता भएका व्यक्तिले अपाङ्गताको परिचयपत्र प्राप्त गर्न निज आफैले वा निजको परिवारको कुनै सदस्य वा संरक्षकले सम्बन्धित वडा स्थानीय तहको सिफारिस सहित स्थानीय तहमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अपाङ्गता भएका कुनै व्यक्ति आफैले निवेदन दिन नसक्ने भएमा वा निजको परिवारको कुनै सदस्य वा संरक्षक पनि नभएमा स्थानीय तहका सम्बन्धित वडाका वडा अध्यक्षले अपाङ्गता परिचयपत्रको लागि निजको तर्फबाट उपदफा (१) बमोजिम निवेदन दिन सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम निवेदन प्राप्त भएपछि कार्यालयले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा प्रष्ट रुपमा अपाङ्गता देखिने व्यक्तिको हकमा अपाङ्गताको वर्गीकरण समेत उल्लेख गरी तोकिए बमोजिमको ढाँचामा अपाङ्गताको परिचयपत्र दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम निवेदन जाँचबुझ गर्दा अपाङ्गताको कुन वर्गीकरणमा पर्ने हो सो प्रष्ट नभएका वा अपाङ्गता भए वा नभएको सम्बन्धमा द्विविधा भएका व्यक्तिको हकमा कार्यालयले समन्वय समिति समक्ष पेश गरी सो समितिको सिफारिसको आधारमा उपदफा (३) बमोजिम अपाङ्गताकोपरिचयपत्र दिनु पर्नेछ ।
(५) समन्वय समितिले उपदफा (४) बमोजिम सिफारिस गर्नुअघि अपाङ्गताको परिचयपत्र प्राप्त गर्ने व्यक्तिको शारीरिक परीक्षण गर्न आवश्यक देखेमा कार्यालयको खर्चमा नजिकको सरकारी अस्पतालमा निजको स्वास्थ्य परीक्षण गराउनु पर्नेछ ।
(६) यस दफा बमोजिम जाँचबुझ वा शारीरिक परीक्षण गर्दा कुनै व्यक्तिलाई अपाङ्गताको परिचयपत्र दिन मिल्ने नदेखिएमा कार्यालयले सोको कारण सहितको जानकारी निवेदकलाई दिनु पर्नेछ ।
(७) उपदफा (६) बमोजिम अपाङ्गताको परिचयपत्र दिन नमिल्ने गरी कार्यालयबाट भएको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले पैँतीस दिनभित्र मन्त्रालय वा मन्त्रालयले तोकेको अधिकारी समक्ष उजूरी दिन सक्नेछ र त्यस्तो उजूरी सम्बन्धमा मन्त्रालयले गरेको निर्णय अन्तिम हुनेछ ।
(८) अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र दिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

५. झुट्टा विवरण दिई परिचयपत्र प्राप्त गर्न नहुने ः (१) कसैले पनि झुट्टा विवरण दिई अपाङ्गताको परिचयपत्र प्राप्त गर्न वा एक प्रकारको अपाङ्गताको वर्गीकरणमा पर्नेमा झुट्टा विवरण दिई अर्को प्रकारको वर्गीकरणको अपाङ्गताको परिचयपत्र प्राप्त गर्न हुँदैन ।
(२) कसैले उपदफा (१) विपरीत अपाङ्गताको परिचयपत्र प्राप्त गरेमा त्यस्तो व्यक्तिको परिचयपत्र रद्द गरी निजलाई यस ऐन बमोजिम कारबाही गरिनेछ ।
(३)उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यथार्थ विवरण दिंदादिंदै कुनै अधिकारीले अपाङ्गता भएको व्यक्तिलाई बेग्लै वर्गको परिचयपत्र प्रदान गरिएको देखिएमा सो परिचयपत्र दिने अधिकारीलाई प्रचलित कानून बमोजिम कारबाहीको लागि सिफारिस गरिनेछ ।
(४) कसैले झुट्टा विवरण दिई प्राप्त गरेको अपाङ्गताको परिचयपत्रको आधारमा प्रचलित कानून बमोजिम अपाङ्गता भएका व्यक्तिको लागि आरक्षित गरिएको पदमा कुनै व्यक्ति नियुक्ति भएको पाइएमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो नियुक्ति जुनसुकै बखत बदर गरी निजले पाएको तलब तथा अन्य सुविधा समेत सरकारी बाँकी सरह असूल उपर गरी पद प्राप्तिका लागि योग्यता ढाँटेको कसूर गरेको मानी प्रचलित कानून बमोजिम सजाय गरिनेछ ।

६. अभिलेख राख्नु पर्नेः (१) स्थानीय तहले आफ्नो क्षेत्रभित्र स्थायी रुपमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिको तोकिए बमोजिमको विवरण सहितको अभिलेख तयार गरी प्रत्येक वर्ष अद्यावधिक गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम अद्यावधिक गरेको अभिलेख स्थानीय तहले नेपाल सरकारको संघीय मामिला सम्बन्धी विषय हेर्ने मन्त्रालय, मन्त्रालय र प्रदेशको सामाजिक क्षेत्र हेर्ने मन्त्रालयमा पठाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्राप्त अभिलेखको आधारमा मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको एकीकृत विवरण तयार गर्नु पर्नेछ ।
(४) यस दफा बमोजिम अभिलेखमा समावेश नभएका अपाङ्गता भएका व्यक्तिलाई यस ऐन बमोजिम उपलब्ध गराउने सेवा, सुविधा प्रदान गर्न बाध्य हुने छैन ।