परिच्छेद–५ बालबालिकाको विशेष संरक्षण र पुनर्स्थापना

परिच्छेद–५ बालबालिकाको विशेष संरक्षण र पुनर्स्थापना

४८.  विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाः (१) देहायका बालबालिका विशेष संरक्षणको आवश्यकता भएका बालबालिका मानिनेछन् :–

(क)   अनाथ बालबालिका,

(ख)   अस्पताल वा अन्य कुनै सार्वजनिक स्थानमा अलपत्र अवस्थामा छाडिएका वा फेला परेका, बाबुआमाबाट अलग्गिएका वा बाबुआमा पत्ता नलागी बेवारिसे भएका बालबालिका,

(ग)   बाबुआमालाई गम्भीर शारीरिक वा मानसिक अपाङ्गता वा अशक्तता भएको कारण उचित हेरचाह नपाएका बालबालिका,

(घ)   कानूनी विवादमा परेका बालबालिकामध्ये दिशान्तर प्रक्रिया अन्तर्गत वैकल्पिक हेरचाहको लागि सिफारिस भएका बालबालिका,

(ङ)   थुनामा रहेका वा बन्दी बाबु वा आमासँग आश्रित भई कारागारमा रहेका बालबालिका,

(च)   जबरजस्ती करणी वा कानून बमोजिम सजाय हुने हाडनाताबाट जन्मिएको शिशुलाई आफूले पालनपोषण गर्न नसक्ने भनी बाल कल्याण अधिकारी समक्ष निवेदन परेका बालबालिका,

(छ)   बाबु, आमा वा अभिभावकबाट दुर्व्यवहार, हिंसा वा बेवास्ता भएको कारणले बालबालिकाको उच्चतम हितको लागि परिवारबाट अलग गरिएका बालबालिका,

(ज)   जबरजस्ती वा बँधुवा प्रकृतिका वा जोखिमपूर्ण वा निकृष्ट प्रकृतिको वा प्रचलित कानून विपरीत श्रममा संलग्न भई जीवनयापन गरिरहेका, धूमपान, मद्यपान एवं
अन्य लागूऔषधको कुलतमा फसेका, एच.आई.भी. सङ्क्रमित बालबालिका,

(झ)   गम्भीर शारीरिक वा मानसिक स्वास्थ्य समस्या वा गम्भीर अपाङ्गता भएको कारण जीवन जोखिममा रही बाबुआमा वा परिवारबाट उपचारको व्यवस्था हुन नसकेको वा सामान्य जीवनयापन गर्न कठिनाइ भएका बालबालिका,

(ञ)   बालबालिका विरुद्धको कसूरबाट पीडित भएका वा त्यस्तो जोखिममा रहेका बालबालिका,

(ट)   विपद् वा सशस्त्र द्वन्द्वका कारणले बाबुआमा दुवै वा आमा बाबुमध्ये एक गुमाएका, बेपत्ता भएका वा आफू नै शारीरिक वा मानसिक रूपमा घाइते भएका वा अपाङ्गता भएका बालबालिका,

(ठ)   विपन्न दलित समुदायका बालबालिका,

(ड)   मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विशेष संरक्षणको आवश्यकता भएका बालबालिका भनी तोकेका अन्य बालबालिका।

(२) उपदफा (१) बमोजिमका बालबालिकालाई आवश्यकता अनुसार उद्धार, अस्थायी संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक पुनर्मिलन, पुनर्स्थापना, वैकल्पिक हेरचाह, परिवार सहयोग, सामाजिक सुरक्षा, सामाजिकीकरण लगायत अन्य सेवा तथा सहयोग तोकिए बमोजिम हुनेछ।

४९.  वैकल्पिक हेरचाहको व्यवस्था: (१) दफा ४८ को उपदफा (१) को खण्ड (क), (ख), (ग), (घ), (ङ), (च) र (छ) बमोजिमका बालबालिकालाई वैकल्पिक हेरचाहको आवश्यकता भएका बालबालिका मानिनेछ।

(२) उपदफा (१) बमोजिमको बालबालिकालाई देहायको प्राथमिकताको आधारमा बाल कल्याण अधिकारीले वैकल्पिक हेरचाहको व्यवस्था मिलाउनु पर्नेछः–

(क)   बालबालिकाको आमा वा बाबुको तर्फका नातेदार,

(ख)   बालबालिकालाई हेरचाह गर्न इच्छुक परिवार वा व्यक्ति,

(ग)   बालबालिकालाई परिवारमा आधारित हेरचाह गर्ने संस्था,

(घ)   बालगृह।

(३) वैकल्पिक हेरचाह सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

५०.  बालबालिकाको संरक्षणः (१) कुनै ठाउँमा विशेष संरक्षणको आवश्यकता भएका बालबालिका रहे भएको थाहा पाउने व्यक्तिले सो कुराको सूचना बालकल्याण अधिकारीलाई दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम जानकारी प्राप्त भएमा बालकल्याण अधिकारीले त्यस्तो बालबालिकाको तत्काल उद्धार गर्नु पर्ने देखेमा उद्धार गरी दफा ६९ बमोजिमको अस्थायी संरक्षण सेवामा राख्‍न सक्नेछ।

(३) उपदफा (१) बमोजिम प्राप्त सूचनाको आधारमा बालकल्याण अधिकारीले जाँचबुझ तथा छानबिन गरी आवश्यक सेवाको व्यवस्था गर्न सक्नेछ।

(४) बालकल्याण अधिकारीले उपदफा (३) बमोजिमको आवश्यक सेवा प्रदान गर्न तोकिए बमोजिमको समाजसेवीलाई जिम्मेवारी दिन सक्नेछ।

(५) उपदफा (३) बमोजिम जाँचबुझ तथा छानबिन गर्दा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको लागि आवश्यक अन्य सेवा सुनिश्चित गर्नु पर्नेछ। त्यसरी विशेष संरक्षण गर्न आवश्यक नदेखिएमा र निजको बाबु, आमा, परिवारको अन्य सदस्य वा संरक्षक फेला परेमा बालकल्याण अधिकारीले त्यस्तो बालबालिकालाई निजको जिम्मा लगाउनु पर्नेछ।

(६) उपदफा (५) बमोजिम बालकल्याण अधिकारीले बालबालिकालाई निजको बाबु, आमा, परिवारको अन्य सदस्य वा संरक्षकलाई जिम्मा लगाउनको लागि कुनै सहयोग गर्नु पर्ने देखेमा सम्बद्ध निकायसँग समन्वय गरी सहयोग प्रायोजन वा परिवार सहयोग जस्ता आवश्यक सेवाको व्यवस्था मिलाउनु पर्नेछ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,–

(क)   “सहयोग प्रायोजन” भन्नाले कुनै व्यक्ति, संघ, संस्था वा निकायद्वारा बालबालिकालाई आवश्यक पालन पोषण तथा शिक्षाको लागि दीर्घकालीन तथा अल्पकालीन रूपमा आर्थिक सहयोग उपलब्ध गराउने कार्य सम्झनु पर्छ।

(ख)   “परिवार सहयोग” भन्नाले बालबालिकाको परिवारलाई विखण्डनतर्फ लैजाने आर्थिक तथा सामाजिक कारणको पहिचान र निराकरण गरी त्यसबाट परिवारको एकता तथा सौहार्दता कायम गराउँदै सम्बन्धित परिवारभित्रैबाट बालबालिकाको संरक्षण हुने वातावरण सिर्जना गर्न गरिने सहयोग सम्झनु पर्छ।

(७) उपदफा (३) बमोजिम जाँचबुझ तथा छानबिन गर्दा वैकल्पिक हेरचाहको आवश्यकता भएको देखिएमा बाल कल्याण अधिकारीले बैकल्पिक हेरचाहको व्यवस्था गर्नु पर्नेछ।

(८) बालबालिका पीडित भएको मुद्दामा पीडित बालबालिकाले चाहेमा वा बाबुआमा, अभिभावक नै पीडक भएमा वा पीडकसँग मिली बालबालिका थप जोखिममा पर्ने सम्भावना देखिएमा वा घटनाको छानबिन, कारबाही तथा सत्य तथ्य बुझ्न बाधा पर्ने देखिएमा बालकल्याण अधिकारीले त्यस्ता पीडित बालबालिकालाई बाबुआमा वा परिवारबाट समेत निश्चित अवधिका लागि अलग गराई अस्थायी संरक्षण सेवामा राख्ने व्यवस्था गर्नु पर्नेछ।

(९) उपदफा (३) बमोजिम जाँचबुझ तथा छानबिन गर्दा बालबालिकाको पितृत्व र मातृत्वको ठेगान नलागेको पाइएमा बाल कल्याण अधिकारीले निजको जन्म दर्ता तथा पहिचान खुल्ने सरकारी परिचयपत्रको लागि सिफारिस गरिदिनु पर्नेछ।

५१. संरक्षक नियुक्त गर्ने वा तोक्नेः दफा ४९ बमोजिम वैकल्पिक हेरचाहको सेवा प्रदान गर्दा प्रचलित कानून बमोजिम संरक्षक नियुक्त गरी वा तोकी हेरचाहको व्यवस्था मिलाउनु पर्नेछ।

५२.  बाल गृहको स्थापना तथा सञ्चालनः (१) विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको संरक्षण गर्ने प्रयोजनको लागि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले आवश्यकतानुसार बाल गृहको स्थापना गर्नेछन्।

(२) बाल गृहको स्थापना, सञ्चालकको योग्यता, सञ्चालन अनुमति, नविकरण, वर्गीकरण, व्यवस्थापन, सञ्चालन मापदण्ड र अनुगमन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।

५३.  बाल गृहमा रहने अवधिः विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको उपयुक्त पुनर्स्थापना नभएसम्म वा त्यस्तो बालबालिकाको उमेर अठार वर्ष नपुगेसम्म निजलाई बाल  गृहमा राखिनेछ।

५४.  पुनर्मिलन गराउनु पर्ने: (१) बालगृहमा रहेका बालबालिकाको बाबुआमा वा अभिभावक पत्ता लागेमा र बालबालिकाको उच्चतम हित हुने भएमा तोकिए बमोजिम पारिवारिक पुनर्मिलन गराउनु पर्नेछ।

(२) यो ऐन प्रारम्भ भएपछि दफा ४९ र ६९ बमोजिम बाहेक बालबालिकालाई बाल गृहमा राख्न पाइने छैन।

५५.  पुनर्स्थापना तथा सामाजिक पुनर्एकीकरण सम्बन्धी दायित्व: बाल गृह वा बाल सुधार गृहमा रहेका बालबालिकाको पुनर्स्थापना तथा सामाजिक पुनर्एकीकरण गर्ने सम्बन्धमा बाल कल्याण अधिकारीलाई सहयोग गर्ने दायित्व सम्बन्धित बाल गृह वा बाल सुधार गृहको हुनेछ।

५६.  संस्थाको प्रमुख जिम्मेवार हुने: (१) यस परिच्छेद बमोजिम कुनै संस्थाले संरक्षकको जिम्मेवारी पाएको भएमा त्यस्तो संस्था प्रमुख बालबालिकाको हेरचाह तथा पालनपोषणको लागि अन्तिम जिम्मेवार मानिनेछ।

स्पष्टीकरण: यस दफाको प्रयोजनका लागि “संस्था प्रमुख” भन्‍नाले त्यस्तो संस्थाको प्रमुख कार्यकारी अधिकृत वा सो हैसियतमा काम गर्ने अध्यक्ष, प्रबन्ध निर्देशक वा संस्थाको नियमानुसार तोकिएका अन्य कुनै अधिकृत सम्झनु पर्छ।

(२) संरक्षकको जिम्मेवारी पाएको संस्थाले तोकिएको शर्त र प्रक्रिया विपरीत कार्य गरेमा त्यस्तो संस्थालाई बाल कल्याण अधिकारीले कुन शर्त उल्लंघन गरेको हो सो समेत खुलाई बालबालिकाको संरक्षण कार्य गर्न रोक लगाउन सक्नेछ।

(३) उपदफा (२) बमोजिम रोक लगाइएको संस्थाले अपेक्षित सुधार गरेको कुरा अनुगमनबाट पुष्टि भएमा बाल कल्याण अधिकारीले उक्त संस्थालाई बाल संरक्षण कार्यमा लगाइएको रोक फुकुवा गर्न सक्नेछ।

५७.  बाल संरक्षण सम्बन्धी मापदण्ड: (१) विद्यालय, बालबालिकासँग प्रत्यक्ष काम गर्ने प्रत्येक सार्वजनिक निकाय तथा निजी क्षेत्र एवं सामाजिक संस्थाहरूले बालबालिका विरूद्धको हिंसा वा बाल यौन दुर्व्यवहारको रोकथाम गर्न, बालबालिकाको संरक्षण सुनिश्चित गर्न र उजूरीको तत्काल कारबाही गर्नको लागि संस्थागत तहमा बालसंरक्षण मापदण्ड निर्माण गरी लागू गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम निर्माण गरिएको बाल संरक्षण मापदण्ड कार्यान्वयन गर्नु विद्यालय, प्रत्येक सार्वजनिक निकाय तथा निजी क्षेत्र एवं सामाजिक संस्थाका प्रमुखको दायित्व हुनेछ।

५८.  अनुगमन तथा प्रतिवेदन: (१) यस ऐन बमोजिम बालबालिकाको हेरचाह र पालनपोषण गर्न जिम्मा लिएका व्यक्ति, संरक्षक वा संस्थाले बालबालिका सम्बन्धी विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र सम्बन्धित बाल कल्याण अधिकारी मार्फत् स्थानीय बाल अधिकार समिति समक्ष पेश गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम प्राप्त विवरणको आधारमा स्थानीय बाल अधिकार समितिले प्रतिवेदन तयार गरी वार्षिक रूपमा प्रदेशस्तरको बाल अधिकार समिति र स्थानीय तहको बाल अधिकार समिति समक्ष पेश गर्नु पर्नेछ।

(३) प्रदेश बाल अधिकार समितिले प्रदेशभित्रका तथा स्थानीय बाल अधिकार समितिले स्थानीय तहभित्रका बालबालिकाको समग्र स्थिति र उपलब्ध सेवाको गुणस्तर तथा प्रभावकारिताका सम्बन्धमा आवधिक रूपमा निरीक्षण र अनुगमन गर्नेछ।