परिच्छेद–३ अपाङ्गता भएका व्यक्तिको अधिकार

परिच्छेद–३ अपाङ्गता भएका व्यक्तिको अधिकार

७. प्रचलित कानून बमोजिमका अधिकार उपभोग गर्न पाउने : अपाङ्गता भएका व्यक्तिलाई यस ऐनद्वारा प्रदत्त अधिकारका अतिरिक्त अन्य व्यक्ति सरह समान आधारमा प्रचलित कानून बमोजिम प्रदत्त अधिकारको उपभोग गर्न पाउने अधिकार हुनेछ ।
८. भेदभाव विरुद्धको अधिकार : (१) अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गताकोआधारमा भेदभाव वा निजलाई वैयक्तिक स्वतन्त्रताबाट बञ्चित गरिने छैन ।
स्पष्टीकरण : यस दफाको प्रयोजनका लागि “अपाङ्गताको आधारमा भेदभाव” भन्नाले अन्य व्यक्ति सरह समान आधारमा राजनीतिक, आर्थिक, सामाजिक वा सांस्कृतिक क्षेत्रमा मानव अधिकार तथा आधारभूत स्वतन्त्रताको उपभोग वा प्रयोगमा बाधा अवरोध सृजना गर्ने वा अपाङ्गताका आधारमा भिन्न गराउने, बहिष्करण गर्ने वा रोक लगाउने कार्य सम्झनु पर्छ र सो शब्दले उपयुक्त अनुकूलताको अस्वीकारको विभेदलाई समेत जनाउँछ ।
(२) कसैले पनि अपाङ्गता भएका व्यक्तिलाई शैक्षिक संस्थामा भर्ना गर्दा, बैङ्क तथा वित्तीय संस्थाबाट धितो राखी वा नराखी ऋण लिँदा वा अन्य वित्तीय कारोबार गर्दा, कुनै रोजगारीका लागि छनौट गर्दा वा शुल्क लिई वा नलिई सार्वजनिक रुपमा उपलब्ध गराइएका कुनै पनि सेवा, सुविधा प्रदान गर्दा अपाङ्गताका आधारमा कुनै पनि प्रकारको भेदभाव गर्न पाइनेछैन ।
(३) अपाङ्गता भएका व्यक्तिलाई निजको परिवारका कुनै सदस्य वा संरक्षकले अपाङ्गता भएकै आधारमा पालन पोषण, खानपान, हेरचाह, सम्पत्ति बाँडफाँड वा अन्य कार्यमा कुनै प्रकारको भेदभाव गर्न पाइने छैन ।
(४) कुनै दस्तुर बुझाई वा नबुझाई सर्वसाधारण व्यक्तिले प्रयोग वा प्रवेश गर्न पाउने गरी खुला गरिएको कुनै भवन वा स्थानको प्रयोग वा प्रवेशमा अपाङ्गता भएको आधारमा कुनै व्यक्तिलाई निषेध गर्न वा थप शर्त वा दायित्व राख्न पाइने छैन ।
९. सामुदायिक जीवनको अधिकार  (१) अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्ति सरह समान रुपमा आफ्नो परिवार वा संरक्षकसँग वा आफूले छनौट गरेको बासस्थानमा बस्ने अधिकार हुनेछ र निजलाई कुनै खास स्थानमा बस्नका लागि बाध्य पारिने छैन ।
(२) अपाङ्गता भएका व्यक्तिलाई सम्मानपूर्वक जीवनयापन गर्न तोकिए बमोजिम सहायक सामग्री तथा सामुदायिक सहायता सेवा पाउने अधिकार हुनेछ ।
१०. संरक्षणको अधिकार ः (१) अपाङ्गता भएका व्यक्तिलाई परिवार, संरक्षक वा अन्य व्यक्तिबाट हुने हरेक किसिमका अमानवीय वा अपमानजनक व्यवहार, शारीरिक वा मानसिक हिंसा, लैङ्गिक हिंसा, घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार र शोषण विरुद्ध संरक्षण प्राप्त गर्ने अधिकार हुनेछ ।
(२) अपाङ्गता भएका व्यक्तिलाई सशस्त्र संघर्ष, सङ्कटकाल वा विपद्परेको अवस्थामा प्राथमिकताका साथ सुरक्षा, उद्धार तथा संरक्षण पाउने अधिकार हुनेछ ।
(३) नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई लैङ्गिक हिंसा लगायत सबै प्रकारका शोषण, हिंसा र दुव्र्यवहारबाट संरक्षण गर्नकोलागि देहाय बमोजिमको व्यवस्था गर्नेछ :–
(क) अपाङ्गता भएका व्यक्ति विरुद्ध भएका शोषण, हिंसा र दुव्र्यवहारजन्य, लैङ्गिक तथा यौनजन्य हिंसाका घटनाको जानकारी लिने तथा
अभिलेख राख्ने,
(ख) खण्ड (क) बमोजिमको शोषण, हिंसा तथा घटनाका विरुद्धमा यस ऐन तथा प्रचलित कानून बमोजिम प्रभावकारी कानूनी कारबाही
गर्ने,
(ग) त्यस्ता घटनाबाट पीडितको तत्काल र प्रभावकारी रुपमा सुरक्षा, उद्धार, संरक्षण तथा पुनस्र्थापना गर्ने,
(घ) त्यस्ता घटना हुन नदिनका लागि उपयुक्त व्यवस्था गर्ने,
(ङ) त्यस्ता घटनाका विरुद्धमा सामुदायिक स्तरमा सचेतना तथा परामर्श कार्यक्रम सञ्चालन गर्ने ।
११. राजनीतिक सहभागिताको अधिकार : (१) अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्ति सरह समान आधारमा भयमुक्त वातावरणमा निर्वाचनमा उम्मेदवार हुने र स्वेच्छिक रूपमा कसैको सहयोग लिई वा नलिई मतदान गर्ने अधिकार हुनेछ ।
(२) नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई मतदानको प्रक्रिया, सुविधा र सामग्रीलाई पहुँचयुक्त तथा बुझ्न र प्रयोग गर्न सक्ने गरी उपयुक्त व्यवस्था मिलाउनेछ ।
१२. नीति निर्माणमा सहभागिताको अधिकार : (१) अपाङ्गता भएका व्यक्तिलाई असर पार्ने प्रकृतिका महत्वपूर्ण नीति निर्माण प्रक्रियामा अपाङ्गता भएका व्यक्ति स्वयं वा निजसँग सम्बन्धित संघ, संस्था मार्फत सहभागी हुने अधिकार हुनेछ ।
(२) उपदफा (१) बमोजिम नीति निर्माण प्रक्रियामा सहभागी हुँदा अपाङ्गता भएका व्यक्तिले व्यक्त गरेको विचारलाई सान्दर्भिकताको आधारमा उचित स्थान दिइनेछ ।
१३. संस्था खोल्ने अधिकार : अपाङ्गता भएका व्यक्तिलाई प्रचलित कानून बमोजिम संघ वा संस्थाको स्थापना, सञ्चालन र व्यवस्थापन गर्न पाउनेअधिकार हुनेछ ।
१४. सांस्कृतिक जीवनमा सहभागी हुने अधिकार : (१) अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्ति सरह समान आधारमा टेलिभिजन कार्यक्रम, चलचित्र, नाटक, नाट्यशाला, सिनेमा हल, पुस्तकालय, पर्यटकीय सेवा, कला, साहित्य, सङ्गीत लगायतका सांस्कृतिक कार्यक्रम वा सेवा
र मनोरञ्जनमा पहुँचयुक्त ढाँचा र विधिमा सहभागी हुने अधिकार हुनेछ ।
(२) अपाङ्गता भएका व्यक्तिलाई सिर्जनशील, कलात्मक, बौद्धिक, व्यावसायिक, पेशागत तथा आन्तरिक क्षमताको विकास र उपयोग गर्ने अधिकार हुनेछ ।
(३) अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्ति सरह समान आधारमा साङ्केतिक भाषा, बहिरा संस्कृति लगायत विशेष सांस्कृतिक तथा भाषिक पहिचानको मान्यता र सहायता पाउने अधिकार हुनेछ ।
१५. सेवा, सुविधा तथा न्यायमा पहुँचको अधिकार ः (१) अपाङ्गता भएका व्यक्तिलाई शैक्षिक संस्था, आवास, कार्यस्थल, भवन, सडक, यातायात, विद्युतीय सञ्चार सेवा लगायत सर्वसाधारणलाई खुला भएका वा प्रदान गरिएका अन्य सेवा तथा सुविधाहरूमा सहज पहुँचको अधिकार हुनेछ ।
(२) अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच सुनिश्चित गर्न निःशुल्क कानूनी सहायताको अधिकार हुनेछ ।
१६. सामाजिक सुरक्षाको अधिकार : (१) तोकिएका अपाङ्गता भएका व्यक्तिलाई नेपाल सरकारबाट तोकिए बमोजिमकोआर्थिक सहयोग वा सामाजिक सुरक्षा प्राप्त गर्ने अधिकार हुनेछ ।
(२) अपाङ्गता भएका व्यक्तिले कुनै पनि अवसरको प्राप्ति र उपभोग गर्दा निजले प्रयोग गर्ने सहायता सेवामा भएको अतिरिक्त व्ययभारको सोधभर्ना पाउनेअधिकार हुनेछ ।
१७. सूचना तथा जानकारीको अधिकार : (१) अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सञ्चारका माध्यमबाट अपाङ्गमैत्री तथा पहुँचयुक्तताको आधारमा सूचना तथा जानकारी पाउने अधिकार हुनेछ ।
(२) सार्वजनिक सञ्चारका विद्युतीय प्रसारण संस्थाले नेपाल सरकारले तोके बमोजिमको सङ्ख्यामा साङ्केतिक भाषामा समाचार तथा अन्य कार्यक्रम सञ्चालन गर्नु पर्नेछ ।
(३) अपाङ्गता भएका व्यक्तिलाई सर्वसाधारणको लागि लक्षित गरिएका सूचना थप शुल्क वा दस्तुर बिना पहुँचयुक्त ढाँचा र प्रविधिमा प्राप्त गर्ने अधिकार हुनेछ ।
(४) टेलिफोन तथा इन्टरनेट लगायतका सञ्चार सेवा प्रदायकले आफूले प्रदान गर्ने सेवा नेपाल सरकारले तोकिदिएको अवधिभित्र अपाङ्गता भएका व्यक्तिको पहुँचयुक्त ढाँचा र प्रयोग गर्न मिल्नेगरी उपलब्ध गराउनुपर्नेछ ।
१८. आवतजावतको अधिकार : अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्ति सरह आफ्नो सहायक सामग्री र आफूले रोजेको सहयोगीका साथ आवतजावत गर्ने अधिकार हुनेछ ।