परिच्छेद–६ बाल अधिकार तथा बाल कल्याण सम्बन्धी संस्थागत व्यवस्था
५९. राष्ट्रिय बालअधिकार परिषद्: (१) बालबालिकाको अधिकार तथा हक हितको संरक्षण र सम्वर्द्धन गर्न नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको अध्यक्षतामा तोकिए बमोजिमको एक राष्ट्रिय बाल अधिकार परिषद् रहनेछ।
(२) परिषद्को बैठक तथा काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।
६०. प्रदेश र स्थानीय तहको बाल अधिकार समितिः (१) प्रत्येक प्रदेशमा प्रदेशको बालबालिका सम्बन्धी विषय हेर्ने मन्त्रीको अध्यक्षतामा प्रदेश बाल अधिकार समिति रहनेछ।
(२) प्रत्येक स्थानीय तहमा गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको उपाध्यक्ष वा उपप्रमुखले तोकेको त्यस्तो गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको सदस्यको अध्यक्षतामा स्थानीय बाल अधिकार समिति रहनेछ।
(३) उपदफा (१) र (२) बमोजिमका प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिमा रहने सदस्य संख्या र त्यस्तो समितिको काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि प्रदेश र स्थानीय तहले निर्धारण गरे बमोजिम हुनेछ।
६१. बालकल्याण अधिकारी: (१) बालबालिकाको अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन गर्न तथा बाल संरक्षण कार्य समेत गर्नका लागि स्थानीय तहमा एक जना बाल कल्याण अधिकारी रहनेछ।
(२) उपदफा (१) बमोजिम बालकल्याण अधिकारीको नियुक्ति, काम कर्तव्य र अधिकार तथा सेवाको शर्त लगायत अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
६२. समाजसेवी तथा बाल मनोविज्ञ: (१) समाजसेवी तथा बालमनोविज्ञको रूपमा काम गर्न चाहने व्यक्तिले स्थानीय बाल अधिकार समिति समक्ष तोकिए बमोजिम आफ्नो नाम सूचीकृत गराउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको सूचीमा रहेका समाजसेवी तथा बाल मनोविज्ञमध्येबाट स्थानीय तहमा बाल संरक्षण सम्बन्धी कार्य तथा सेवा प्रवाह गर्नको लागि आवश्यक संख्यामा समाजसेवी तथा बाल मनोविज्ञ नियुक्त गर्न सकिनेछ।
(३) उपदफा (२) बमोजिम नियुक्त समाजसेवी तथा बाल मनोविज्ञले बाल कल्याण अधिकारीको प्रत्यक्ष निर्देशन र सुपरिवेक्षणमा काम गर्नेछ।
(४) बाल अदालतलाई आवश्यक पर्ने समाजसेवी तथा बाल मनोविज्ञ उपदफा (१) बमोजिमको सूचीकृत समाजसेवी तथा बाल मनोविज्ञबाट नियुक्त गरिनेछ।
(५) समाजसेवी तथा बालमनोविज्ञको नियुक्ति प्रक्रिया, योग्यता, काम, कर्तव्य र अधिकार तथा सेवाको शर्त लगायत अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
६३. बाल कोषः (१) बालबालिकालाई तत्काल उद्धार, राहत र पुनर्स्थापना गर्न तथा क्षतिपूर्ति प्रदान गर्ने काम समेतका लागि एक बाल कोष रहनेछ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमका रकमहरू रहनेछन् :–
(क) नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट प्राप्त रकम,
(ख) विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ, संस्था वा व्यक्तिबाट प्राप्त रकम,
(ग) स्वदेशी व्यक्ति, संघ वा संस्थाबाट प्राप्त रकम,
(घ) बाल अदालतबाट भएको जरिबानाबाट प्राप्त रकम,
(ङ) अन्य कुनै स्रोतबाट प्राप्त हुने रकम।
(३) उपदफा (२) को खण्ड (ख) बमोजिमको रकम प्राप्त गर्नु अघि नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ।
(४) उपदफा (१) बमोजिमको कोषको रकम प्रदेश तथा स्थानीय तहको कानून बमोजिम स्थापना हुने बाल कोषलाई समेत उपलब्ध गराउन सकिनेछ।
(५) उपदफा (१) बमोजिमको कोषको व्यवस्थापन, सञ्चालन र प्रयोग सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।
0 Comments