परिच्छेद–७ स्वास्थ्य, पुनर्स्रथापना, सामाजिक सुरक्षा तथा मनोरञ्जन

परिच्छेद–७ स्वास्थ्य, पुनर्स्रथापना, सामाजिक सुरक्षा तथा मनोरञ्जन

२८. निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनेः (१) नेपाल सरकारले तोकिए बमोजिमको आयभन्दा कम वार्षिक आय भएका वा तोकिएको रोगको उपचारको लागि सरकारी अस्पतालमा भर्ना भएका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा तथा स्पीच थेरापी, अकोपेशनल थेरापी लगायतका आवश्यक थेरापी सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “अस्पताल” भन्नाले स्वास्थ्य केन्द्रलाई समेत जनाउँछ ।
(२) नेपाल सरकारले अपाङ्गता भएका कारणले खानुपर्ने औषधि तथा अनुवंशीय रक्तश्राव (हेमोफिलिया) सम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने फ्याक्टर तोकिएका आधारमा निःशुल्क उपलब्ध गराउनेछ ।
(३) नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको स्वास्थ्योपचारको लागि अस्पतालसम्म पहुँचका लागि रहेका अवरोधहरु हटाउन आवश्यक व्यवस्था गर्नेछ ।
(४) अस्पतालका स्वास्थ्यकर्मीले अस्पतालमा उपलब्ध भएसम्मको गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्राथमिकताका साथ अपाङ्गता भएका व्यक्तिलाई उपलब्ध गराउनु पर्नेछ ।
(५) सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित पच्चीस शैयाभन्दा बढी शैया भएका अस्पतालमा कम्तीमा दुई शैया अपाङ्गता भएका व्यक्तिलाई सुरक्षित राख्नु पर्नेछ ।
(६) नेपाल सरकारले निरोध वा निवारण हुन सक्ने अपाङ्गपनको निरोध तथा निवारण गर्न र अपाङ्गपन तुल्याउने कारक तत्वहरू पत्ता लगाई त्यसको निरोध, निवारण, नियन्त्रण, उन्मूलन र उपचार गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्नेछ ।
(७) नेपाल सरकारले अपाङ्गताबाट सृजना हुने अङ्ग र आङ्गिक कार्यको विचलन न्यूनीकरणका लागि नजिकको अस्पतालबाट उपचार प्रदान गर्न आवश्यक व्यवस्था गर्नेछ ।

२९. पुनस्र्थापना सम्बन्धी व्यवस्थाः (१) नेपाल सरकारले पूर्ण अशक्त, अति अशक्त, सहाराविहीन वा बौद्धिक अपाङ्गता भएका र मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई पुनस्र्थापना गर्नेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “पुनस्र्थापना” भन्नाले अपाङ्गता भएका व्यक्तिलाई समाजमा सक्रिय जीवन निर्वाह गर्न सक्षम हुने गरी प्रदान गरिने चिकित्सकीय सेवा, जीवनोपयोगी सीपमूलक तथा व्यावसायिक तालिम, सहायक सामग्री, औषधि उपचार, नियमित परामर्श सेवा, शैक्षिक तथा आर्थिक कार्यक्रम सम्झनु पर्छ र सो शब्दले अपाङ्गता भएका व्यक्तिलाई बसोबासका लागि सञ्चालन गरिने आवास कार्यक्रमलाई समेत जनाउँछ ।
(२) अपाङ्गता भएका व्यक्तिलाई उपयुक्त आवासको व्यवस्था गर्न तथा सशक्तीकरण गरी समाजमा पुनस्र्थापना गर्ने प्रयोजनको लागि नेपाल सरकारले आवश्यकता अनुसार पुनस्र्थापना केन्द्र स्थापना गर्न सक्नेछ ।
(३) कुनै संस्थाले तोकिए बमोजिम स्वीकृति लिई उपदफा (१) को उद्देश्यका लागि पुनस्र्थापना केन्द्र स्थापना र सञ्चालन गर्न सक्नेछ ।
(४) पुनस्र्थापना केन्द्रलाई नेपाल सरकारले तोकिए बमोजिम आर्थिक तथा अन्य सहयोग प्रदान गर्न सक्नेछ ।
(५) पुनस्र्थापना केन्द्रमा हुनु पर्ने भौतिक तथा अन्य पूर्वाधार, व्यवस्थापन र सञ्चालन सम्बन्धी मापदण्ड तथा अनुगमन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

३०. पुनस्र्थापना कोष : (१) दफा २९ को उपदफा (२) बमोजिम स्थापना भएका पुनस्र्थापना केन्द्र सञ्चालन गर्नका लागि नेपाल सरकारले एक पुनस्र्थापना कोषको स्थापना गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,

(क१) प्रदेश सरकारबाट प्राप्त रकम,
(ख) कुनै व्यक्ति वा संस्थाबाट सहयोग स्वरूप प्राप्त रकम,
(ग) विदेशी व्यक्ति, संघ वा संस्थाबाट प्राप्त रकम,
(घ) स्थानीय तहबाट प्राप्त रकम,
(ङ) दफा ५५ बमोजिम भएको जरिबाना बापत प्राप्त हुने रकम,
(च) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) पुनस्र्थापना कोषको सञ्चालन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

३१. अनुसन्धान गर्ने गराउनेः नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण र सेवा सुविधामा पहुँच अभिबृद्धि गर्न तथा अपाङ्गमैत्री सेवा, सुविधा र प्रविधिको विकासको लागि आवश्यक अनुसन्धान गर्नु, गराउनु पर्नेछ ।

३२. सामाजिक सुरक्षाः  (१) नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई समाजमा स्वतन्त्र र स्वावलम्बनपूर्वक जीवनयापन गर्न सक्ने गरी सक्षम बनाउन अपाङ्गता भएका व्यक्तिको योगदान रहने गरी वा तोकिएको अवस्थामा निःशुल्क रुपमा देहाय बमोजिमका सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याउनेछः–
(क) सुरक्षा तथा स्वास्थ्य सेवासहितको सामुदायिक आवास सुविधा विकास गर्न,
(ख) असहाय बालबालिका तथा परिवारबाट त्यागिएका अपाङ्गता भएका व्यक्तिको लागि आवासको व्यवस्था गर्न,
(ग) जीवन बीमा, स्वास्थ्य बीमा र दुर्घटना बीमा गराउन,
(घ) औषधि तथा आवश्यक सहायक सामग्री उपलब्ध गराउन,
(ङ) तोकिएको आधारमा बेरोजगारी भत्ता, जीवनयापन भत्ता तथा बृद्ध भत्ता उपलब्ध गराउन,
(च) तोकिएको अवस्थाका अपाङ्गता भएका व्यक्तिका सहयोगीको लागि भत्ता उपलब्ध गराउन,
(छ) अपाङ्गता भएका व्यक्तिको विकासका लागि सर्वमान्य ढाँचाको विकास तथा प्रयोगमा सहयोग गर्न,
स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “सर्वमान्य ढाँचा (युनिभर्सल डिजायन)” भन्नाले सबैले अधिकतम हदसम्म प्रयोग गर्न सक्ने उत्पादन,
भौतिक संरचना, कार्यक्रम र सेवाको ढाँचा सम्झनु पर्छ र सो शब्दले अपाङ्गता भएका व्यक्तिका निश्चित वर्गका लागि प्रयोग गरिने सहायक
उपकरणलाई समेत जनाउँछ ।
(ज) तोकिए बमोजिमका अन्य सेवा सुविधा उपलब्ध गराउन ।
(२) उपदफा (१) बमोजिमको कार्यक्रम कार्यान्वयन गर्दा अपाङ्गताको विविधता, लिङ्ग, उमेर, आर्थिक तथा सामाजिक अवस्था जस्ता विषयलाई आधार बनाइनेछ ।

३३. सांस्कृतिक अधिकार तथा मनोरञ्जन ः नेपाल सरकार तथा स्थानीय तहले अपाङ्गता भएका व्यक्तिको सांस्कृतिक अधिकारको सम्मान गर्न तथा निजलाई मनोरञ्जन सम्बन्धी क्रियाकलापमा अन्य व्यक्ति सरह सहभागी हुने अवसरको सिर्जनाका लागि देहायको व्यवस्था गर्नेछः–
(क) अपाङ्गता भएका व्यक्तिमा रहेको सीप, कला, प्रतिभा तथा साहित्यप्रतिको रुचीको सम्मान र विकासका लागि आवश्यक छात्रवृत्ति, सुविधा तथा सहयोग उपलब्ध गराउने,
(ख) सेवा सुविधा तथा पूर्वाधारलाई अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त बनाउन आवश्यक प्रविधि तथा कलाको विकास गर्ने,
(ग) अपाङ्गता भएका व्यक्तिलाई सेवा उपलब्ध गराउने मनोरञ्जन केन्द्र तथा संघसंस्थालाई सहयोग गर्ने,
(घ) अपाङ्गता भएका व्यक्तिलाई अतिरिक्त क्रियाकलापमा भाग लिन प्रोत्साहन गर्ने,
(ङ) तोकिए बमोजिमका अन्य कार्य गर्ने, गराउने ।

३४. खेलकुदमा सहभागी गराउने : (१) नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्ति सरह आवश्यकता अनुसार विशेष व्यवस्था गरी खेलकुद सम्बन्धी क्रियाकलापमा सहभागी गराउनका लागि आवश्यक व्यवस्था गर्नेछ ।
(२) खेलकुदको विकास तथा प्रतियोगिता आयोजना गर्ने संस्था वा निकायले अपाङ्गता भएका व्यक्तिलाई खेलकुद सम्बन्धी प्रतियोगितामा संलग्न गराई खेलकुदको विकास तथा प्रबद्र्धन गर्नु पर्नेछ ।
(३) उपदफा (१) र (२) को प्रयोजनको लागि खेलकुदको विकास गर्न अधिकार पाएका संस्था वा निकायले अपाङ्गता भएका व्यक्तिलाई खेलकुदमा सहभागी गराउन देहायका कार्यक्रम सञ्चालन गर्न सक्नेछन्ः–
(क) अपाङ्गता भएका व्यक्तिको पहुँच र समावेशी सहभागिता रहने गरी खेलकुदका पाठ्यक्रम तथा कार्यक्रमको पुनरावलोकन गर्ने,
(ख) अपाङ्गता भएका व्यक्तिको पहुँच र सुविधा हुने गरी खेलकुद मैदान तथा भौतिक पूर्वाधारको पुनः डिजाइन गर्ने,
(ग) अपाङ्गता भएका व्यक्तिको खेलकुदप्रतिको प्रतिभा तथा क्षमतालाई उजागार गर्न आवश्यक प्रविधिको विकास तथा प्रयोग गर्ने,
(घ) अपाङ्गता भएका व्यक्तिलाई समावेश गरी खेलकुद प्रतियोगिता आयोजना गर्ने,
(ङ) खेलकुदसँग सम्बन्धित अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेश तथा स्थानीयस्तरका संयन्त्रमा अपाङ्गता भएका व्यक्तिलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गराउने,
(च) विद्यालयस्तरमा सञ्चालन गरिने खेलकुद तथा अतिरिक्त क्रियाकलापमा अन्य बालबालिका सरह अपाङ्गता भएका बालबालिकालाई सहभागी गराउने तथा उनीहरुलाई अपाङ्गताको प्रकृतिका आधारमा विकास गरिएको खेलकुदमा सहभागी गराउन उपयुक्त प्रशिक्षण, तालिम,
प्रतियोगिता र सोका लागि स्रोतको व्यवस्था गर्ने,
(छ) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने ।

३५. मानसिक वा मनोसामाजिक (साइको–सोसियल) अपाङ्गता भएका व्यक्तिका लागि थप सेवा, सुविधाः (१) नेपाल सरकारले मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई निज, निजको परिवारको कुनै सदस्य वा संरक्षकले छनौट गरेको सामुदायिक अस्पताल वा स्वास्थ्य
केन्द्रमा राखी उपचार गराउने व्यवस्था मिलाउनेछ ।
(२) नेपाल सरकारले मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने औषधि र परामर्श सेवा निःशुल्क उपलब्ध गराउनेछ ।
(३) नेपाल सरकारले घर परिवारबाट उपेक्षित भएका मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई उपचार गरी पुर्नस्थापना गर्ने वा पारिवारिक पुनर्मिलन गराउने व्यवस्था मिलाउनेछ ।

३६. कारागारमा राख्न नहुने : (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि मानसिक वा मनोसामाजिक अपाङ्गता भएका कुनै व्यक्तिलाई उपचार वा संरक्षणको नाममा कारागारमा राखिने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि फौजदारी कसूरमा कारबाही चलिरहेका वा सजाय पाएका अपाङ्गता भएका व्यक्तिलाई प्रचलित कानून बमोजिम कारागारमा राख्न बाधा पर्ने छैन ।