परिच्छेद–१२ कसूर र सजाय

परिच्छेद–१२ कसूर र सजाय

५३. घृणा, हेला वा तिरस्कार गर्न नहुने ः कसैले पनि अपाङ्गता भएका व्यक्तिलाई घृणा, हेला, उपहास वा तिरस्कार गर्न, जानीजानी निजको आत्मसम्मानमा चोट पुर्याउने कुनै कार्य गर्न वा अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सहायक सामग्रीको प्रयोगमा अवरोध वा हस्तक्षेप गर्न वा त्यस्तो सामग्री खोस्न वा बिगार्न हुँदैन ।
५४. भिक्षा माग्न लगाउन नहुनेः कसैले अपाङ्गता भएका व्यक्तिलाई भिक्षा माग्न लगाउन हुँदैन ।
५५. सजाय : (१) कसैले दफा ५ को उपदफा (१) विपरीत कुनै काम गरेमा त्यस्तो व्यक्तिलाई एक महिनादेखि तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(२) कसैले दफा ५३ विपरीत कुनै काम गरेमा त्यस्तो व्यक्तिलाई तीन महिनादेखि नौ महिनासम्म कैद वा तीस हजार रुपैयाँदेखि नब्बे हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(३) कसैले दफा ५४ विपरीत कुनै काम गरेमा भिक्षा माग्न वा माग्न लगाउनेलाई प्रचलित कानून बमोजिम हुने सजायमा पचास प्रतिशत थप सजाय हुनेछ ।
(४) उपदफा (२) बमोजिमको कसूर गर्न दुरुत्साहन गर्ने, उद्योग गर्ने वा मतियार भई सहयोग गर्नेलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।
(५) उपदफा (२) र (४) बमोजिमको सजाय पाएको व्यक्तिले पुनः त्यस्तो कार्य गरेमा सो उपदफा बमोजिम हुने सजायमा पच्चीस प्रतिशत थप सजायसमेत हुनेछ ।
(६) कुनै व्यक्तिले यस ऐन बमोजिम प्रदत्त अपाङ्गता भएका व्यक्तिको अधिकार उल्लङ्घन गरेमा वा निज प्रतिको दायित्व पूरा नगरेमा त्यस्तो व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
(७) माथि उपदफाहरुमा लेखिएदेखि बाहेक यस ऐन विपरीत काम गर्ने व्यक्ति वा कुनै संस्था वा निकायका प्रमुखलाई पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
५६. हदम्याद : दफा ५५ बमोजिम सजाय हुने विषयमा सो काम भए गरेको मितिले तीन महिनाभित्र मुद्दा दायर गरिसक्नु पर्नेछ ।
५७. नेपाल सरकार वादी हुने ः दफा ५५ को उपदफा (१), (२), (३), (४) र (५) अन्तर्गतको सजाय हुने मुद्दा नेपाल सरकार वादी हुनेछ र सो मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची–१ मा समावेश भएको मानिनेछ ।