अनुसूची (दफा ३ को उपदफा (१) सँग सम्बन्धित)

अनुसूची (दफा ३ को उपदफा (१) सँग सम्बन्धित)

अपाङ्गताको वर्गीकरण
(क) शारीरिक अङ्ग वा प्रणालीमा भएको समस्या तथा कठिनाइको आधारमा अपाङ्गता भएका व्यक्ति :–
१. शारीरिक अपाङ्गता ः स्नायु, मासंपेशी र जोर्नी तथा हड्डीको बनावट एवं सञ्चालनमा समस्या भएको कारणबाट कुनै व्यक्तिको अङ्गको सञ्चालन, प्रयोग र हिँडडुलमा समस्या (जस्तैः बाल पक्षघात (पोलियो), शारीरिक अङ्गविहीन, कुष्ठ प्रभाव, मांसपेशी विचलन (मस्कुलर डिस्ट्रोफी), जोर्नी र मेरूदण्ड सम्बन्धी स्थायी समस्या, क्लवफीट पैँताला फर्केको, रिकेट्स हड्डी सम्बन्धी समस्याका कारण उत्पन्न अशक्तता) तथा सोह्र वर्ष उमेर पुगेको व्यक्तिमा उमेर बमोजिम हुनुपर्ने औसत उचाइभन्दा ज्यादै कम उचाइ भएको व्यक्ति ।
२. दृष्टि सम्बन्धी अपाङ्गता : दृष्टि सम्बन्धी देहायको समस्याबाट कुनैव्यक्तिमा कुनै पनि वस्तुको आकृति, आकार, रूप र रङ्गको ज्ञान नहुने, –
(क) दृष्टि विहीनता : औषधि, शल्यचिकित्सा, चस्मा वा लेन्सको प्रयोगबाट पनि दुबै आँखाले हातको औँला दश फिटको दूरीबाट छुट्याउन नसक्ने वा स्नेलेन चार्टको पहिलो लाइनको अक्षर (३÷६०) मा पढ्न नसक्ने व्यक्ति ।
(ख) न्यून दृष्टियुक्त : औषधि, शल्यचिकित्सा, चस्मा वा लेन्सको प्रयोगबाट पनि बीस फिटको दूरीबाट हातको औंला छुट्याउन नसक्ने वा स्नेलेन चार्टको चौथो लाइनको अक्षर (६÷१८) मा पढ्न नसक्ने ।
(ग) पूर्ण दृष्टिविहीन : पूर्ण रुपमा उज्यालो वा अँध्यारो छुट्याउन नसक्ने व्यक्ति ।
३. सुनाइ सम्बन्धी अपाङ्गता : सुनाइका अङ्गको बनावट एवं स्स्वरको पहिचान, स्थान, उतारचढाव तथा स्वरको मात्रा र गुण छुट्याउन नसक्ने,

(क) बहिरा : असी डेसिबलभन्दा माथिको ध्वनि सुन्न नसक्ने वा सञ्चारका लागि साङ्केतिक भाषा प्रयोग गर्नुपर्ने व्यक्ति ।
(ख) सुस्तश्रवण : सुन्नलाई श्रवण यन्त्र राख्नुपर्ने वा पैँसठीदेखि असी डेसिबलसम्मको ध्वनि सुन्न सक्ने व्यक्ति ।
४. श्रवण दृष्टिविहीन अपाङ्गताः सुनाइ सम्बन्धी र दृष्टिसम्बन्धी दुवै अपाङ्गता भएको वा दुईवटा इन्द्रिय सम्बन्धी अपाङ्गताको संयुक्त अन्तरक्रिया रहेको व्यक्ति ।
५. स्वर र बोलाइ सम्बन्धी अपाङ्गता : स्वर र बोलाइ सम्बन्धी अङ्गमा उत्पन्न कार्यगत सीमितताका कारण तथा बोल्दा स्वरको उतार चढावमा कठिनाइ, बोली स्पष्ट नहुने, बोल्दा शब्द वा अक्षर दोहोर्याउने व्यक्ति ।
६. मानसिक वा मनोसामाजिक अपाङ्गता : मस्तिष्क र मानसिक अङ्गमा आएको समस्या तथा सचेतना, अभिमुखीकरण, स्फूर्ति, स्मरणशक्ति, भाषा, गणनाजस्ता बौद्धिक कार्य सम्पादनका सन्दर्भमा आउने समस्याको कारणले उमेर र परिस्थिति अनुसार व्यवहार गर्न समस्या हुने अवस्थाको व्यक्ति ।
७. बौद्धिक अपाङ्गता : उमेरको बृद्धिसँगै बौद्धिक सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारणले उमेर वा वातावरणमा सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थाको व्यक्ति । (जस्तोः डाउन्स सिन्ड्रोम समेत)
८. अनुवंशीय रक्तश्राव (हेमोफिलिया) सम्बन्धी अपाङ्गता : अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टरमा विचलन आई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुने शारीरिक अवस्थाको व्यक्ति ।
९. अटिज्म सम्बन्धी अपाङ्गता : जन्मजात नशा वा तन्तुको विकास र सोको कार्यमा आएको समस्या भएको व्यक्ति । (जस्तो ः सञ्चार गर्न, सामान्य सामाजिक नियम बुझ्न र प्रयोग गर्न कठिनाई हुने तथा उमेरको विकाससँगै सामान्य व्यवहार नदेखाउनु, अस्वभाविक प्रतिक्रिया देखाउनु, एउटै क्रिया लगातार दोहोर्याइरहनु, अरूसँग घुलमिल नहुनु वा तीव्र प्रतिक्रिया गर्ने व्यक्ति)
१०. बहुअपाङ्गता : एउटै व्यक्तिमा माथि उल्लिखित दुई वा दुईभन्दा बढी प्रकारका अपाङ्गताको समस्या भएको व्यक्ति । (जस्तैः मस्तिष्क पक्षघात आदि)
(ख) अशक्तताको गम्भीरताका आधारमा अपाङ्गताको वर्गीकरण :
(१) पूर्ण अशक्त अपाङ्गता : आफ्नो दैनिक क्रियाकलाप सम्पादन गर्न निरन्तर रुपमा अरुको सहयोग लिँदा पनि कठिनाइ हुने अवस्थाको व्यक्ति ।
(२) अति अशक्त अपाङ्गता : वैयक्तिक क्रियाकलाप सम्पादन गर्न तथा सामाजिक क्रियाकलापमा संलग्न हुन निरन्तर रुपमा अरुको सहयोग लिनुपर्ने अवस्थाको व्यक्ति ।
(३) मध्यम अपाङ्गता : भौतिक सुविधा, वातावरणीय अवरोधको अन्त्य, शिक्षा वा तालिम :भएमा अरुको सहयोग लिई वा नलिई नियमित रुपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थाको व्यक्ति ।
(४)सामान्य अपाङ्गता : सामाजिक तथा वातावरणीय अवरोध नभएमा नियमित रुपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थाको व्यक्ति ।
स्पष्टीकरण :  १. “शारीरिक अङ्गहरूको बनौट र कार्य” भन्नाले शरीर सञ्चालन सम्बन्धी, दृष्टि सम्बन्धी, स्वर र सुनाइ सम्बन्धी, मानसिक, मांसपेशी र स्नायु सम्बन्धी र अन्य प्रणालीका अङ्ग र कार्यलाई जनाउँछ ।
२. “नियमित दिनचर्याका कार्यहरु र सामाजिक जीवन क्षेत्रमा सहभागिता” भन्नाले व्यक्तिको सिकाइ, दैनिक काम, सञ्चार, चलफिर, स्वयं हेरचाह, घरेलु जीवन अन्तरक्रिया, समाहित शिक्षा, रोजगारी, सामुदायिक एवं नागरिक जीवनका क्षेत्रका कार्यहरू र सहभागितालाई जनाउँछ ।
३. “विद्यमान सामाजिक एवं भौतिक वातावरणबाट सिर्जित अवरोध” भन्नाले मनोसामाजिक, प्रविधि, प्राकृतिक तथा मानव निर्मित वातावरण, धारणागत, सेवाप्रणाली र नीतिहरूबाट सिर्जना भएको अवरोधलाई जनाउँछ ।
४. सहभागिता, सुविधा तथा प्रतिनिधित्व समेतका लागि बौद्धिक अपाङ्गता र पूर्णअशक्तता भएका अपाङ्ग ब्यक्तिहरूका हकमा आमा, बाबु वा प्रत्यक्षरूपमा पालनपोषणमा संलग्न व्यक्तिलाई परिवारका सदस्य वा सरोकारवाला मानिनेछ ।