परिच्छेद-१ प्रारम्भिक

परिच्छेद-१ प्रारम्भिक

१.   संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “जनस्वास्थ्य सेवा ऐन, २०७५” रहेको छ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

.   परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा,–

(क) “आकस्मिक स्वास्थ्य सेवा” भन्नाले आकस्मिक घटना वा आपतकालीन अवस्था परी जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिहरूको जीवनलाई जोखिममुक्त गर्न, जीवन वा अङ्ग गुम्नबाट बचाउन आवश्यकता अनुसार दिनुपर्ने प्रारम्भिक तथा तत्काल सेवा सम्झनु पर्छ।

(ख)   “आधारभूत स्वास्थ्य सेवा” भन्नाले दफा ३ को उपदफा (४) बमोजिम आम नागरिकको स्वास्थ्य आवश्यकता पूर्तिका लागि राज्यबाट सुलभ रूपमा निःशुल्क उपलब्ध हुने प्रबर्द्धनात्मक, प्रतिकारात्मक, निदानात्मक, उपचारात्मक र पुनर्स्थापनात्मक सेवा सम्झनु पर्छ।

(ग)   “गैरसरकारी वा निजी स्वास्थ्य संस्था” भन्नाले प्रचलित कानून बमोजिम स्विकृति लिई गैरसरकारी वा निजी क्षेत्रको लगानी तथा स्वामित्वमा सञ्चालन भएका स्वास्थ्य संस्था सम्झनु पर्छ।

(घ)   “चिकित्सक” भन्नाले प्रचलित कानून बमोजिम चिकित्सकको रूपमा सम्बन्धित परिषद्‌मा दर्ता भएको व्यक्ति सम्झनु पर्छ।

(ङ)   “जनस्वास्थ्य निरीक्षक” भन्नाले जनस्वास्थ्य सम्बन्धी अनुगमन नियमनको लागि तोकिएको पदाधिकारी सम्झनु पर्छ।

(च)   “जोखिमयुक्त क्षेत्र” भन्नाले कार्यस्थल वा कार्य प्रकृतिका कारण मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने कुनै पनि रसायनिक, जैविक, जलवायु परिवर्तन जन्य, मनोसामाजिक, शारीरिक, भौतिक तथा भौगोलिक अवस्था रहेको कार्यक्षेत्रलाई सम्झनु पर्छ र सो शब्दले स्वास्थ्य उपचारका बेला स्वास्थ्यकर्मीहरूलाई हुने सम्भाव्य जोखिम समेतलाई जनाउनेछ।

(छ)   “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन बमोजिम बनेका नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।

(ज)   “परम्परागत उपचार प्रदायक” भन्नाले परम्परागत रूपमा जडिबुटी, जान्तव र खनिजबाट उपचार प्रदान गर्ने व्यक्ति सम्झनु पर्छ।

(झ)   “मन्त्रालय” भन्नाले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालय सम्झनु पर्छ।

(ञ)   “समिति” भन्नाले दफा ५० बमोजिमको राष्ट्रिय जनस्वास्थ्य समिति सम्झनु पर्छ।

(ट)   “सरकारी स्वास्थ्य संस्था” भन्नाले सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालित स्वास्थ्य संस्था सम्झनु पर्छ।

(ठ)   “सामुदायिक स्वास्थ्य कार्यकर्ता” भन्नाले मान्यता प्राप्त संस्थाबाट स्वास्थ्य सेवाका विषयमा तोकिएका योग्यता वा तालीम हासिल गरी संस्था वा समुदायमा कार्य गर्ने स्वास्थ्य कार्यकर्ता तथा महिला स्वास्थ्य स्वंयसेविका समेतलाई सम्झनु पर्छ।

(ड)   “सेवाग्राही” भन्नाले स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा लिने व्यक्ति सम्झनु पर्छ।

(ढ)   “सेवा प्रदायक” भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्वास्थ्य सेवाका विषयमा निश्चित योग्यता वा तालीम हासिल गरी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र सामुदायिक स्वास्थ्य कार्यकर्ता सम्झनु पर्छ।

(ण)   “स्वास्थ्यकर्मी” भन्नाले प्रचलित कानून बमोजिम स्वास्थ्यकर्मीको रूपमा सम्बन्धित परिषद्‍मा दर्ता भएको व्यक्ति सम्झनु पर्छ।

(त)   “स्वास्थ्य सेवा” भन्नाले आधुनिक चिकित्सा (एलोप्याथी), आयुर्वेद, होमीयोप्याथी, युनानी, प्राकृतिक चिकित्सा, अकुपञ्चर, सोवारिग्पा (आम्ची) चिकित्सा पद्धतिमा आधारित भई प्रदान गरिने प्रतिकारात्मक, प्रबर्द्धनात्मक, निदानात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्रशामक (पालिएटिभ) सेवा सम्झनु पर्छ।

(थ)   “स्वास्थ्य संस्था” भन्नाले सरकारी स्वास्थ्य संस्था सम्झनुपर्छ र सो शब्दले प्रचलित कानून बमोजिम स्थापित गैरसरकारी वा निजी वा सहकारी वा गैर नाफामुलक सामुदायिक स्वास्थ्य संस्थालाई समेत जनाउँछ।