परिच्छेद-२ सेवाग्राहीको अधिकार, कर्तव्य तथा स्वास्थ्य संस्थाको दायित्व

परिच्छेद-२ सेवाग्राहीको अधिकार, कर्तव्य तथा स्वास्थ्य संस्थाको दायित्व

.   स्वास्थ्य सेवाको पहुँच तथा सुनिश्चितता : (१) प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार हुनेछ।

(२) उपदफा (१) बमोजिमको सेवा प्राप्त गर्ने प्रयोजनको लागि प्रचलित कानून तथा नेपाल सरकारले समय समयमा तोके बमोजिमको स्वास्थ्य सम्बन्धी कार्यक्रममा समावेश हुनु प्रत्येक नागरिकको कर्तव्य हुनेछ।

(३) कुनै पनि नागरिकलाई स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन।

(४) प्रत्येक नागरिकलाई देहायका शीर्षक अन्तर्गतका तोकिए बमोजिमका आधारभूत स्वास्थ्य सेवाहरू निःशुल्क प्राप्त गर्ने हक हुनेछ :-

(क) खोप सेवा,

(ख)   एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन, पोषण सेवा, गर्भवती, प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन, गर्भपतन तथा प्रजनन स्वास्थ्य जस्ता मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवा,

(ग)   सरूवा रोग सम्बन्धी सेवा,

(घ)   नसर्ने रोग तथा शारीरिक बिकलाङ्गता सम्बन्धी सेवा,

(ङ)   मानसिक रोग सम्बन्धी सेवा,

(च)   जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धी सेवा,

(छ)   सामान्य आकस्मिक अवस्थाका सेवा,

(ज)   स्वास्थ्य प्रवर्द्धन सेवा,

(झ)   आयुर्वेद तथा अन्य मान्यता प्राप्त वैकल्पिक स्वास्थ्य सेवा,

(ञ)   नेपाल सरकारले नेपाल राजपत्रमा सूचना जारी गरी तोकेका अन्य सेवा।

(५) उपदफा (४) बमोजिम नेपाल सरकारले निर्धारण गरेको आधारभूत स्वास्थ्य सेवाहरूमा आवश्यकता अनुरूप प्रदेश वा स्थानीय सरकारले थप गर्न सक्नेछ।

(६) उपदफा (५) बमोजिम थप गरिएका सेवाहरूको आर्थिक व्ययभार सम्बन्धित सरकारले व्यहोर्नु पर्नेछ।

(७) उपदफा (४) बमोजिमका सेवाहरूको विस्तृत विवरण, सेवा प्रवाह तथा व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था तथा प्रकृया मन्त्रालयले तोके बमोजिम हुनेछ।

(८) स्थानीय तहले प्रदेश तथा सङ्घ अन्तर्गत सञ्चालित स्वास्थ्य संस्थाहरूको साझेदारीमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सक्नेछ।

.    आकस्मिक उपचार : (१) प्रत्येक स्वास्थ्य संस्थाहरूले तोकिए बमोजिमका आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रत्येक स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको कर्तव्य हुनेछ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै स्वास्थ्य संस्थामा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध हुन नसकेमा त्यस्तो स्वास्थ्य संस्थाले सो संस्थाबाट उपलब्ध हुने उपचार तत्काल उपलब्ध गराई थप उपचारको लागि अन्य स्वास्थ्य संस्थामा प्रेषण गर्नु पर्नेछ।

(४) यस दफा बमोजिम उपचार गर्दा लागेको खर्च सम्बन्धित व्यक्तिको स्वास्थ्य बीमा भएकोमा सोबाट र स्वास्थ्य बीमा नभएकोमा वा स्वास्थ्य बीमाको रकमले नपुग हुने भएमा सम्बन्धित व्यक्ति, निजको अविभावक, परिवारको सदस्य, संरक्षक वा संरक्षकत्व ग्रहण गरिएको व्यक्तिले व्यहोर्नु पर्नेछ।

तर आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पर्ने स्वास्थ्य सेवा स्वास्थ्य संस्थाले निःशुल्क रूपमा उपलब्ध गराउनु पर्नेछ।

(५) यस दफा बमोजिम आकस्मिक उपचार सेवा प्रदान गर्दा सम्बन्धित सेवाग्राहीलाई उपचार शुरु गरिसकेपछि मात्र त्यस्तो सेवा प्राप्त गर्दा पूरा गर्नु पर्ने प्रक्रिया अवलम्बन गर्न लगाउनु पर्नेछ।

(6) आकस्मिक उपचार सेवा सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

५.     विशेषज्ञ सेवा : (१) नेपाल सरकारले सेवाको प्रकृति, भौगोलिक अवस्था तथा रोगको प्रकोप दरका आधारमा आवश्यकता अनुसार तोकिएका विशिष्टीकृत सेवा उपलब्ध गराउनु पर्नेछ।

(२) सङ्घीय कानूनले तोकेको मापदण्ड बमोजिम प्रदेश सरकारले विशेषज्ञ सेवा उपलब्ध गराउनु पर्नेछ।

(३) विशेषज्ञ सेवा उपलब्ध गराउने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

.   प्रेषण (रेफरल) सेवा : (१) प्रत्येक स्वास्थ्य संस्थाले उपचारको लागि आएको बिरामीलाई आफ्नो स्वास्थ्य संस्थाको संरचना, उपकरण, विशेषज्ञ सेवा नभएको वा अन्य कुनै उपयुक्त कारणले उपचार प्रदान गर्न नसकिने अवस्था भएमा आफ्नो संस्थामा उपलब्ध हुने सेवा प्रदान गरी थप उपचारको लागि तुरुन्त त्यस्तो बिरामीलाई उपचार प्रदान गर्न सक्ने स्वास्थ्य संस्थामा प्रेषण गर्नु पर्नेछ।

(२) स्वास्थ्य संस्थाले उपदफा (१) बमोजिम प्रेषण गर्दा तोकिए बमोजिमका विधि र प्रकृया पूरा गर्नु पर्नेछ।

(३) विशेषज्ञ सेवा र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाबीच आवश्यक प्रेषण प्रणाली स्थापना गरी सेवा प्रभावकारी बनाउन नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले आवश्यक व्यवस्था मिलाउनेछ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आपतकालीन उपचारको क्रममा रहेका बिरामीलाई प्रेषण गर्दा प्रेषित गर्ने स्वास्थ्य संस्थाले आफुसँग रहेका न्यूनतम स्वास्थ्य सम्बन्धी उपकरण एवं उपलब्ध स्वास्थ्य सुविधा सहित प्रेषित गर्नु पर्नेछ।

७.   गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने : (१) नेपाल सरकारले प्रत्येक नागरिकलाई स्वास्थ्य संस्थाबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनेछ।

(२) नेपाल सरकारले उपलब्ध श्रोत साधनको आधारमा नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न देहायका कार्यहरू गर्नेछः-

(क) नागरिकको स्वास्थ्यको संरक्षण र संवर्द्धन लागि नीति निर्धारण गर्ने,

(ख)   स्वास्थ्य सेवाको प्राथमिकता निर्धारण गरी समातामूलक तवरबाट सेवा उपलब्ध गराउने।

(३) यो ऐन कार्यान्वयन गर्न सङ्घ, प्रदेश तथा स्थानीय तहले आवश्यकताको आधारमा तोकिएको मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाको स्थापना गरी त्यस्ता संस्थामा आवश्यक जनशक्ति, प्रविधि तथा उपकरणको व्यवस्था मिलाउनु पर्नेछ।

.   सेवाग्राहीको कर्तव्य : स्वास्थ्य संस्थामा वा स्वास्थ्यकर्मीसँग सेवा लिने सेवाग्राहीको कर्तव्य देहाय बमोजिम हुनेछ :-

(क) आफ्नो स्वास्थ्यको सम्बन्धमा सचेत रहने, स्वस्थ जीवनशैली अपनाउने, योग तथा शारीरिक व्यायाम गर्ने तथा स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा उपभोग गर्ने,

(ख)   स्वास्थ्य सेवा प्राप्त गर्ने व्यक्तिले स्वास्थ्य संस्थाको नियमको पालना गर्ने,

(ग)   स्वास्थ्य संस्थालाई आफ्नो स्वास्थ्य अवस्थासँग सम्बन्धित यथार्थ जानकारी उपलब्ध गराउने र स्वास्थ्य सेवा लिँदा स्वास्थ्यकर्मीलाई सहयोग गर्ने,

(घ)      स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको मर्यादा र सम्मान गर्ने,

(ङ)      स्वास्थ्यकर्मीप्रति शारीरिक, मानसिक वा लैङ्गिक हिंसा हुने काम नगर्ने,

(च)      सिफारिस गरिएको आंशिक वा पूरा उपचार लिन अस्विकार गरेको अवस्थामा उपचार कार्ड वा डिस्चार्ज सर्टिफिकेटमा उल्लेख गरी हस्ताक्षर गर्ने,

(छ) दफा ६ को अधीनमा रही स्वास्थ्य संस्थाले प्रेषण गरेको स्वास्थ्य संस्थामा गई सेवा लिने।

.   उपचार गराउने दायित्व हुने : परिवारका सदस्य, संरक्षक वा संरक्षकत्व स्वीकार गरिएको कुनै पनि व्यक्ति बिरामी भएमा त्यस्तो व्यक्तिलाई स्वास्थ्य संस्थामा लैजानु, उपचार गराउनु, उपचार खर्च व्यहोर्नु र उपचार गर्ने कार्यमा सहयोग तथा  सहजीकरण गर्नु अभिभावक, परिवारका सदस्य, संरक्षक तथा संरक्षकत्व स्वीकार गरिएको व्यक्तिको दायित्व हुनेछ।

१०सेवाग्राहीलाई जानकारी दिनु पर्ने : (१) प्रत्येक स्वास्थ्य संस्था तथा उपचार प्रदान गर्ने स्वास्थ्यकर्मीले सेवाग्राहीलाई देहायका विषयमा जानकारी दिनु पर्नेछ :-

(क) प्रत्येक सेवाग्राहीलार्इ आफ्नो स्वास्थ्य र उपचारको अवस्था सम्बन्धमा,

तर सेवाग्राहीको स्वास्थ्य स्थितिको सूचना दिँदा निजको वा समुदायको हित विपरीत हुन सक्ने पर्याप्त आधार भएमा स्वास्थ्य संस्थालाई त्यस्तो सूचना गोप्य राख्न कुनै बाधा पर्ने छैन।

(ख)   रोगको निदान, निदान भएको रोगको प्राकृतिक परिणाम र उपचारसँग सम्बन्धित सेवाको स्तर र विकल्प सम्बन्धमा,

(ग)   स्वास्थ्य उपचार सम्बन्धी विकल्पसँग सम्बन्धित अनुमानित खर्च र सम्भावित परिणाम सम्बन्धमा,

(घ)   सेवाग्राहीले स्वास्थ्य सेवा अस्वीकार गर्न सक्ने र सेवा अस्वीकार गर्दा उत्पन्न हुन सक्ने सम्भावित परिणाम, जोखिम र दायित्व सम्बन्धमा।

(२) स्वास्थ्य संस्थाले सेवाग्राहीलाई उपदफा (१) बमोजिमको जानकारी उपलब्ध गराउँदा सम्भव भएसम्म निजले बुझ्न सक्ने भाषामा उपलब्ध गराउनु पर्नेछ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सेवाग्राहीको स्वास्थ्य स्थितिको सूचना सम्बन्धित सेवाग्राहीलाई दिन नसकिने अवस्थामा निजको परिवारको उमेर पुगेको सदस्यलाई दिनु पर्नेछ।

११.  सेवाग्राहीको सुसूचित सहमति (इन्फर्मड कन्सेण्ट) लिनुपर्ने : (१) प्रत्येक स्वास्थ्य संस्थाले सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदा निजको सुसूचित सहमति लिनु पर्नेछ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “सुसूचित सहमति” भन्नाले कानूनी रूपले सक्षम व्यक्तिले स्वास्थ्य सेवा लिन दिएको लिखित वा मौखिक सहमति सम्झनु पर्छ।

(२) उपदफा (१) को प्रयोजनको लागि तोकिएको उपचार प्रदान गर्न लिखित सहमति लिनु पर्नेछ।

(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा सेवाग्राहीको सुसूचित सहमति विना स्वास्थ्य सेवा प्रदान गर्न सकिनेछः-

(क) सेवाग्राहीले सहमति प्रदान गर्न सक्ने अवस्थामा नरहेको र कसैलाई पनि त्यस्तो सहमति प्रदान गर्ने अनुमति वा अख्तियारी नदिएकोमा उपलब्ध भएसम्म क्रमशः निजको पति वा पत्नी, बाबु वा आमा, हजुरबुवा वा हजुरआमा, उमेर पुगेका छोरा वा छोरी, दाजुभाइ वा दिदीबहिनी वा उपलब्ध सेवाग्राहीको निकटतम व्यक्तिले सहमति दिएको अवस्थामा,

(ख)   प्रचलित कानून वा अदालतको आदेश बमोजिम सहमति विना नै स्वास्थ्य सेवा उपलब्ध गराइएको अवस्थामा,

(ग)   कुनै व्यक्तिलाई उपचार नगर्दा जनस्वास्थ्यमा गम्भीर खतरा उत्पन्न हुने अवस्था रहेकोमा,

(घ)   स्वास्थ्य सेवा उपलब्ध गराउन ढिलाई गरिएमा सम्बन्धित बिरामीको मृत्यु हुन सक्ने वा निजको स्वास्थ्यमा अपूरणीय क्षति पुग्न सक्ने सम्भावना रहेकोमा,

(ङ)   सम्बन्धित व्यक्तिले व्यक्त वा अव्यक्त रूपमा वा आचरणद्वारा स्वास्थ्य सेवा लिन अस्वीकार नगरेकोमा,

(च)   तोकिए बमोजिमको अन्य अवस्थामा।

१२.  समान व्यवहार गर्नु पर्ने : (१) यस ऐन बमोजिम उपचार गर्दा सबै सेवाग्राहीप्रति समान तथा आदरपूर्ण व्यवहार गर्नु सम्बन्धित स्वाथ्यकर्मीको कर्तव्य हुनेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बिरामीको स्वास्थ्यको गम्भीरताको आधारमा स्वास्थ्य संस्थाले उपचार गर्दा प्राथमिकीकरण गर्न सक्नेछ।

(३) कुनै पनि स्वास्थ्य संस्थाले कसैलाई निजको उत्पत्ति, धर्म, वर्ण, जात जाति, लिङ्ग, पेशा, यौनिक तथा लैङ्गिक पहिचान, शारीरिक वा स्वास्थ्य अवस्था, अपाङ्गता, वैवाहिक स्थिति, गर्भावस्था, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा उपचारमा भेदभाव गर्नु, गराउनु हुँदैन।

१3. पेशागत आचरण : स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीले सम्बन्धित परिषद्हरूले निर्धारण गरे बमोजिमका पेशागत आचरण पालना गर्नु पर्नेछ।

१4. गोपनियता कायम राख्ने : (१) स्वास्थ्य सेवा प्रवाह गर्दा सेवाग्राहीको स्वास्थ्य अवस्था, निदान वा निजले प्राप्त गरेको उपचार लगायतका सूचनाहरू गोप्य राख्नु पर्नेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा सूचना सार्वजनिक गर्न यस दफाले बाधा पुर्‍याएको मानिने छैनः-

(क) सूचना सार्वजनिक गर्न सेवाग्राहीले लिखित सहमति दिएमा,

(ख)   अदालतको आदेश वा प्रचलित कानून बमोजिम सूचना सार्वजनिक गर्नु पर्ने भएमा,

(ग)   सूचना सार्वजनिक नगर्दा त्यसबाट जनस्वास्थ्यमा गम्भीर असर पर्ने देखिएमा।

(३) उपदफा (२) को खण्ड (ग) को प्रयोजनको लागि जनस्वास्थ्यमा गम्भीर असर पर्ने वा नपर्ने सम्बन्धमा तोकिएको अधिकारीले निर्णय गरे बमोजिम हुनेछ।

१5. डिस्चार्ज (बहिर्गमन) सारांश दिनु पर्ने : प्रत्येक स्वास्थ्य संस्थामा भर्ना भई उपचार गराइरहेको बिरामीलाई डिस्चार्ज गर्दा त्यस्ता संस्थाले तोकिए बमोजिमको जानकारी सहितको डिस्चार्ज सारांश दिनु पर्नेछ।

१6. स्वास्थ्य संस्थाको दायित्व : (१) प्रत्येक स्वास्थ्य संस्थाले योग्य सेवा प्रदायकबाट मात्र स्वास्थ्य सेवा प्रदान गर्नु पर्नेछ।

(२) प्रत्येक स्वास्थ्य संस्थाले कुनै पनि रोगको सङ्क्रमण नहुने र रोक्ने तर्फ आवश्यक सुरक्षात्मक उपायको अवलम्बन गर्नु पर्नेछ।

(३) प्रत्येक स्वास्थ्य संस्थाले आफूले उपलब्ध गराएको स्वास्थ्य सेवासँग सम्बन्धित देहायको सूचना प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्नेछः-

(क) उपलब्ध स्वास्थ्य सेवा, सोको प्रकृति, लाग्ने अनुमानित समय र लागत,

(ख)   कार्य सञ्चालन तालिका र चिकित्सक वा स्वास्थ्यकर्मीको समय तालिका,

(ग)   स्वास्थ्य सेवामा पहुँच स्थापित गर्ने कार्यविधि,

(घ)   गुनासो व्यवस्थापन सम्बन्धी कार्यविधि।

१७.  स्थानीय प्रशासनलाई जानकारी गराउने : (१) कसैले दुर्घटना वा अन्य कुनै कारणले कुनै व्यक्तिलाई उपचारको लागि कुनै स्वास्थ्य संस्थामा लगेमा त्यस्तो स्वास्थ्य संस्थाले त्यस्तो व्यक्तिलाई तत्काल आफुसँग उपलब्ध भएसम्मको उपचारको सेवा प्रदान गर्नु पर्नेछ र त्यस्तो व्यक्तिको पहिचान हुन नसकेमा सोको जानकारी तत्काल सम्बन्धित स्थानीय प्रशासनलाई दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम स्वास्थ्य संस्थाले सूचना दिँदा उपचार गरिएको व्यक्ति र निजसँग सम्बन्धित उपलब्ध भएसम्मको अन्य जानकारी समेत दिनु पर्नेछ।

(३) उपदफा (१) र (२) बमोजिम जानकारी प्राप्त भएपछि स्थानीय प्रशासनले सम्बन्धित व्यक्तिको परिवार, अभिभावक वा संरक्षकको खोजी गरी सोको जानकारी गराउनु पर्नेछ।

१8. उजूरी गर्न सक्ने : उपचारको क्रममा कुनै सेवाग्राहीको स्वास्थ्यमा थप जटिलता देखा परेमा वा उपचारको प्रक्रियाप्रति निजलाई कुनै आशंका भएमा निजले उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था प्रति तोकिएको निकायमा तोकिए बमोजिम उजूरी गर्न सक्नेछ।

  1. शर्त बन्देज लगाउन सक्ने : स्वास्थ्य संस्थाको प्रमुखले प्रचलित कानून बमोजिम स्वास्थ्य सेवा प्रदायकको स्वास्थ्य स्थितिको आधारमा स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवामा निश्चित शर्त बन्देज लगाउन सक्नेछ।
  2. आवश्यक उपाय अवलम्बन गर्ने : प्रत्येक स्वास्थ्य संस्थाले प्रचलित कानूनको अधीनमा रही कर्मचारीको सुरक्षा र रोगको संक्रमण नहुने र रोक्ने तर्फ आवश्यक उपायको अवलम्वन गर्नु पर्नेछ।