परिच्छेद-५ जनस्वास्थ्यको संरक्षण, प्रवर्द्धन र सुधारका लागि सामाजिक, सांस्कृतिक तथा वातावरणीय निर्धारक

परिच्छेद-५ जनस्वास्थ्यको संरक्षण, प्रवर्द्धन र सुधारका लागि सामाजिक, सांस्कृतिक तथा वातावरणीय निर्धारक

३९. उपभोग्य वस्तुको गुणस्तर : (१) खाद्यान्न, मासु र पानी लगायतका उपभोग्य वस्तु उत्पादन, भण्डारण तथा बिक्री वितरणलाई गुणस्तरीय र स्वच्छ बनाउन नेपाल सरकारले सङ्घीय कानून बमोजिम न्यूनतम गुणस्तर मापदण्ड तोक्न सक्नेछ।
(२) उपदफा (१) बमोजिमको मापदण्ड पालना गर्नु प्रदेश, स्थानीय तह तथा सम्बन्धित सबैको कर्तव्य हुनेछ।
(३) उपभोग्य वस्तुको गुणस्तर सम्बन्धी अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ।

४०. ध्वनि र वायु प्रदुषण : (१) ध्वनि, वायु, जल तथा दृश्य प्रदुषणले जनस्वास्थ्यमा पार्ने प्रभावलाई न्यूनीकरण गर्नका लागि सङ्घीय कानून बमोजिम नेपाल सरकारले यस सम्बन्धी मापदण्ड निर्धारण गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिमको मापदण्डको पालना गर्नु प्रदेश तथा स्थानीय तह, आम नागरिक, उद्योगी, व्यवसायी, सङ्घ संस्थाको कर्तव्य हुनेछ।
(३) ध्वनि, वायू, जल तथा दृष्य प्रदुषणले जनस्वास्थ्यमा पार्ने प्रभावलाई न्यूनीकरण गर्नको लागि संघीय कानून बमोजिम नेपाल सरकारले ध्वनि, वायू, जल तथा दृष्य प्रदुषण सम्बन्धी मापदण्ड निर्धारण गर्नेछ।

४१. सरसफाई तथा फोहोरमैला व्यवस्थापन : (१) वातावरणीय प्रदुषण तथा फोहोरमैलाबाट मानव स्वास्थ्यमा पारेको वा पार्ने प्रतिकूल प्रभावलाई नियन्त्रण गर्नको लागि नेपाल सरकारले प्रचलित सङ्घीय कानून बमोजिम आवश्यक मापदण्ड बनाउन सक्नेछ।
(२) स्वास्थ्यजन्य फोहोरमैला संकलन, पुन: प्रयोग, प्रशोधन, बिसर्जन र नियमनको लागि नेपाल सरकारले आवश्यक मापदण्ड बनाउनेछ।
(३) उपदफा (१) र (२) बमोजिमको मापदण्डको पालना गर्नु प्रदेश तथा स्थानीय तहको कर्तव्य हुनेछ।
(४) प्रत्येक स्वास्थ्य संस्थाले तोकिएको मापदण्ड बमोजिम जोखिम रहित र जोखिमयुक्त फोहोरहरूलाई छुट्याई व्यवस्थापन गर्नु पर्नेछ।
(५) प्रत्येक स्वास्थ्य संस्थाले सेवा प्रदायकलाई तोकिएको मापदण्ड बमोजिमको स्वच्छ खानेपानी उपलब्ध गराउनु पर्नेछ।

४२. जनस्वास्थ्य मैत्री आवास, सार्वजनिक यातायात र सडक पूर्वाधार तथा सुरक्षा : (१) आवास क्षेत्रहरूको निर्माण गर्दा स्वास्थ्यमैत्री हुने गरी सङ्घीय कानूनले तोकेको मापदण्ड र गुणस्तर कायम गर्नु पर्नेछ।
(२) सडक पूर्वाधार निर्माण गर्दा सडक दुर्घटना कम हुने गरी र स्वास्थ्य प्रवर्धनलाई ध्यानमा राखी निर्माण गर्नु पर्नेछ। नयाँ बन्ने सडक र पुराना सडकहरूको स्तरोन्नति गर्दा प्रचलित कानून बमोजिम तोकिएको स्थानमा फुटपाथ, अपाङ्गता मैत्री संरचना र साइकल लेनको प्रबन्ध मिलाउनु पर्नेछ।
(३) सार्वजनिक यातायात सञ्चालन गर्दा जनस्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी वातावरण मैत्री बनाउन नेपाल सरकारले आवश्यक मापदण्ड तोकी कार्यान्वयन गर्न गराउन सक्नेछ।

४३. उद्योग र शहरीकरण : (१) जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावको पहिचान गरी रोकथाम गर्न र जोखिम न्यूनीकरण गर्न तोकिएका उद्योग, व्यवसाय तथा आयोजनाको स्वीकृति लिनु अघि जनस्वास्थ्य प्रभाव मूल्याङ्कन गर्नु पर्नेछ।
(२) उपदफा (१) अनुसारको जनस्वास्थ्य प्रभाव मूल्याङ्कनको मापदण्ड, संयन्त्र र तहगत कार्यक्षेत्र सङ्घीय कानूनले तोके बमोजिम हुनेछ।
(३) कुनै उद्योग, व्यवसाय तथा आयोजनाले उचित प्रकारले फोहोर व्यवस्थापन नगरी वा कुनै प्रकारको विकिरणका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पारेमा सोको कारणले प्रभावित व्यक्तिहरूका लागि स्वास्थ्य उपचार र भौतिक क्षति, पशु पक्षी लगायत अन्य क्षति भएको अवस्थामा सोको उचित क्षतिपूर्तिको व्यवस्था सम्बन्धित उद्योगी, व्यवसायी तथा आयोजनाले गर्नु पर्नेछ।
(४) सङ्घ, प्रदेश, स्थानीय तहले स्वास्थ्यका दृष्टिकोणले पर्याप्त खेल, मनोरञ्जन स्थल, पार्क, पैदल हिँड्ने व्यवस्था, साइकल चलाउन मिल्ने गरी जनस्वास्थ्य मैत्री शहरीकरण प्रवर्धनको व्यवस्था मिलाउनु पर्नेछ।
(५) नेपाल सरकारले प्रचलित कानून बमोजिम स्थानीय तहले पाउने अनुदान निर्धारण गर्दा जनस्वास्थ्य मैत्री सूचकाङ्क विकास गरी समावेश गर्नु पर्नेछ।

४४. जोखिमयुक्त क्षेत्रमा काम गर्ने कामदारको स्वास्थ्य सुरक्षा : (१) जोखिमयुक्त क्षेत्रमा काम गर्ने कामदारको स्वास्थ्य सुरक्षाका लागि सम्बन्धित रोजगारदाताले प्रचलित कानून बमोजिमका सुरक्षाका उपायहरू अवलम्बन गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमका जोखिमयुक्त क्षेत्रमा कार्य गर्ने कामदार वा कर्मचारीहरूको रोजगारदाताहरूले प्रचलित कानून बमोजिम स्वास्थ्य बीमा गर्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिमको जोखिमयुक्त क्षेत्रको कार्यस्थलमा औजार, उपकरण वा अन्य कुनै सामग्रीको प्रयोगको कारणले कुनै कर्मचारी वा कामदार घाईते वा मृत्यु भएमा वा कुनै स्वास्थ्यकर्मी सेवा प्रदान गर्ने सिलसिलामा गम्भिर संक्रमण वा बिरामी भएमा सम्बन्धित रोजगारदाताले स्वास्थ्य उपचार र उपयुक्त क्षतिपूर्तिको व्यवस्था मिलाउनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिमको जोखिमयुक्त कार्यस्थलमा काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी वा कामदारहरुलाई सम्बन्धित रोजगारदाताले नेपाल सरकारले तोके बमोजिमको जोखिम भत्ता उपलब्ध गराउनु पर्नेछ।

४५. जनस्वास्थ्यलाई प्रभावित पार्ने विज्ञापन तथा प्रचार प्रसार : (१) मदिरा, चुरोट, सुर्ती तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन।
(२) मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवा तर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन।

४६. जनस्वास्थ्यलाई प्रभावित पार्ने सामाजिक, सांस्कृतिक अन्धविश्वास : जनस्वास्थ्यलाई प्रतिकूल प्रभाव पार्ने सामाजिक र सांस्कृतिक अन्धविश्वास नियन्त्रण गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहले आवश्यक उपाय अवलम्बन गर्नेछ।

४७. लक्षित समूहहरूका लागि विशेष सामाजिक सुरक्षा तथा कार्यक्रमहरू : (१) महिला, बालबालिका, किशोर किशोरी, दलित, शहीद परिवार र नेपाल सरकारले तोकेका अन्य लक्षित समूहहरूका लागि विशेष सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरू कार्यान्वयन गर्न स्थानीय तह तथा प्रदेश सरकारले आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम लक्षित समूहहरूका लागि दिइने स्वास्थ्य सेवा, सुविधा तथा प्रकृया सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।