भाग १ – प्रारम्भिक

भाग १ – प्रारम्भिक

१. संविधान मूल कानूनः (१) यो संविधान नेपालको मूल कानून हो । यस संविधानसँग बाझिने कानूनबाझिएको हदसम्म अमान्य हुनेछ ।

(२) यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ ।

२. सार्वभौमसत्ता र राजकीयसत्ताः नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहनेछ ।

३. राष्ट्रः बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टि रूपमा राष्ट्र हो ।

४. नेपाल राज्यः (१) नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो ।

(२) नेपालको क्षेत्र देहाय बमोजिम हुनेछः–

(क) यो संविधान प्रारम्भ हुँदाका बखतको क्षेत्र, र

(ख) यो संविधान प्रारम्भ भएपछि प्राप्त हुने क्षेत्र ।

५. राष्ट्र भाषाः (१) नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्र भाषा हुन् ।

(२) देवनागरी लिपिमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ ।

(३) उपधारा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय निकाय तथा कार्यालयमा मातृभाषा प्रयोग गर्न कुनै वाधा पुर्‍याएको मानिने छैन । त्यसरी प्रयोग गरिएको भाषालाई राज्यले सरकारी कामकाजको भाषामा रूपान्तर गरी अभिलेख राख्नेछ ।

६. राष्ट्रिय झण्डाः सिम्रिक रङ्गको भुइँ र गाढा नीलो रङ्गको किनारा भएको दुई त्रिकोण अलिकति जोरिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लोभागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको, परम्परागत झण्डा नेपालको राष्ट्रियझण्डा हो । सो झण्डा बनाउने तरिका र तत्सम्बन्धी अरु विवरण अनुसूची–१ मा उल्लेख भएबमोजिम हुनेछ ।

७. राष्ट्रिय गान इत्यादिः (१) नेपालको राष्ट्रिय गान र निशाना छाप नेपाल सरकारले निर्धारण गरेबमोजिम हुनेछ ।

(२) नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई रराष्ट्रिय पंक्षी डाँफे हुनेछ ।