परिच्छेद-८ चरित्र सम्बन्धी गोपनीयता
१५. चरित्रको गोपनीयता हुने: (१) प्रत्येक व्यक्तिलाई निजको चरित्र, वैयक्तिक आचरण र व्यवहारको गोपनीयता राख्न पाउने अधिकार हुनेछ।
(२) कुनै व्यक्तिको चरित्र, आचरण वा व्यवहारको सम्बन्धमा कुनै प्रश्न उठेमा त्यस सम्बन्धमा छानबिन गरी कानून बमोजिम कारबाही गर्ने क्रममा बाहेक निजको चरित्रको सम्बन्धमा कसैले कुनै टिप्पणी गर्न हुँदैन।
(३) कसैले कुनै पनि व्यक्तिको चरित्रमा आघात पार्ने, निजको बेइज्जती वा अपमान हुने, आत्मसम्मानमा ठेस पुग्ने वा पारिवारिक जीवनमा आँच आउने गरी कुनै पनि प्रकारको काम, कारबाही गर्न वा निजको आचरण वा व्यवहार सम्बन्धी कुनै पनि कुरा सार्वजनिक गर्न वा गराउन हुँदैन।
१६. तस्विर खिच्न वा बिक्री गर्न नहुनेः (१) कसैले कुनै पनि व्यक्तिको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षति पुग्ने गरी निजको मञ्जुरीविना निजको तस्विर खिच्न वा निजलाई बदनाम गर्ने नियतले निजको तस्विरसँग अरु कसैको तस्विर राखी जुनसुकै तरिकाले अर्को तस्विर बनाउन वा एक व्यक्तिको तस्विरको केही अंश अर्को व्यक्तिको तस्विरको अर्को अंशसँग मिलाई अर्कै तस्विर बनाउन, प्रकाशन गर्न वा सार्वजनिक गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै सार्वजनिक ठाउँ वा कुनै व्यक्तिको तस्वीर खिच्दा त्यस्तो ठाउँमा रहेको अन्य कुनै व्यक्ति समेतको तस्वीर खिचिन गएकोमा त्यसलाई कसूर मानिने छैन।
तर त्यसरी खिचिन गएको तस्वीर समेत उपदफा (१) विपरीत प्रयोग गर्न पाइने छैन।
(३) कसैले कुनै पनि व्यक्तिलाई सताउने, हैरान पार्ने वा निजबाट कुनै अनुचित फाइदा लिने वा तस्विरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले निजको मञ्जुरी नलिई निजको तस्विर प्रकाशन, प्रचार प्रसार, खरिद बिक्री वा सार्वजनिक गर्न वा गराउन हुँदैन।
१७. अनुसन्धानको सिलसिलामा रहेको व्यक्तिलाई सार्वजनिक गर्न नहुनेः कानून बमोजिम अनुसन्धानको सिलसिलामा रहेको कुनै पनि व्यक्तिलाई लागेको कसूरको सम्बन्धमा सम्बन्धित निकायमा अभियोग पत्र दायर नभएसम्म निजलाई अधिकार प्राप्त अधिकारीले कुनै पनि तरिकाले सार्वजनिक गर्न वा गराउन हुँदैन।
तर त्यस्तो अभियोग लागेको व्यक्तिको नाम र निजलाई लागेको अभियोगको विवरण वा सूचना सार्वजनिक गर्न बाधा पर्ने छैन।
१८. गोप्य कुरा प्रकट गर्न नहुनेः कसैले आफ्नो व्यावसायिक कामको सिलसिलामा कुनै व्यक्तिबाट कसैको आचरण सम्बन्धी कुनै कुरा जानकारी पाएको भए सम्बन्धित व्यक्तिले मञ्जुरी दिएको वा अधिकार प्राप्त अधिकारीको आदेश भएको अवस्थामा बाहेक निजले त्यस्तो कुरा कसैलाई प्रकट गर्नु हुँदैन।
0 Comments