परिच्छेद-९ विद्युतीय माध्यम र गोपनीयता
१९. विद्युतीय माध्यमको गोपनीयता हुनेः (१) प्रत्येक व्यक्तिलाई विद्युतीय माध्यममा रहेको निजको कुनै पनि वैयक्तिक सूचना, लिखत, पत्राचार, तथ्याङ्क वा चरित्र सम्बन्धी कुराको गोपनीयता राख्न पाउने अधिकार हुनेछ।
(२) कसैले कुनै पनि व्यक्तिको विद्युतीय माध्यममा रहेको सूचना, जानकारी, पत्राचार अनधिकृत रूपमा प्राप्त गर्न, त्यसको गोपनीयता भङ्ग गर्न वा अनधिकृत रूपमा कसैलाई उपलब्ध गराउन हुँदैन।
(३) कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिहरूबीचमा विद्युतीय माध्यमबाट भएका कुनै संवाद वा कुराकानी सम्बन्धित व्यक्तिहरूले मञ्जुरी दिएको वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीले आदेश दिएकोमा बाहेक कुनै यान्त्रिक उपकरणको प्रयोग गरी सुन्न वा त्यस्तो कुराको ध्वनि अङ्कन वा रेकर्ड गर्न वा गराउन हुँदैन।
तर सार्वजनिक रूपमा गरिएको भाषण वा वक्तव्यको हकमा यस उपदफाको व्यवस्था लागू हुने छैन।
(४) उपदफा (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित व्यक्तिको मञ्जुरी वा अधिकार प्राप्त अधिकारीको आदेशले कुनै पनि सूचना, जानकारी वा पत्राचार सुन्न, ध्वनि अङ्कन वा रेकर्ड गर्न वा गराउन सकिनेछ।
(५) विद्युतीय सूचना र तथ्याङ्कको गोपनीयता सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
२०. सार्वजनिक स्थलमा सिसिटिभि क्यामेरा जडान गर्ने सम्बन्धमाः (१) कुनै पनि सार्वजनिक स्थलमा सिसिटिभि क्यामेरा जडान गर्न आवश्यक भएमा शौचालय, स्नान गृह वा कपडा फेर्ने कक्ष (चेञ्जिङ रुम) बाहेकका ठाउँमा त्यस्तो क्यामेरा जडान गर्न वा गराउन सकिनेछ।
(२) उपदफा (१) बमोजिम सिसिटिभि क्यामेरा जडान गरेको ठाउँमा सबैले देख्ने र जानकारी पाउने गरी त्यस्तो क्यामेरा जडान गरिएको सूचना दिने व्यवस्था गर्नु पर्नेछ।
(३) कुनै स्थानमा सिसिटिभि क्यामेरा जडान गर्ने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।
२१. निगरानी वा जासुसी गर्न नहुने: कुनै व्यक्तिको आवास वा कुनै कार्यालयको निगरानी वा जासुसी गर्न वा यस ऐन बमोजिम गोप्य हुने कुनै कुरा प्राप्त गर्ने उद्देश्यले कुनै विद्युतीय माध्यम, फोटोग्राफी वा कुनै तरिका प्रयोग गर्न हुदैन।
२२. ड्रोन प्रयोग गर्न नहुने: मुलुकको सीमा क्षेत्र वा सार्वजनिक स्थान बाहेक कुनै सार्वजनिक निकाय, पुरातात्विक महत्वको क्षेत्र, सुरक्षा निकायको भवन, संरक्षित क्षेत्र वा खानी तथा खनिजजन्य पदार्थ रहेको क्षेत्र वा कुनै व्यक्तिको आवासमा अधिकार प्राप्त अधिकारी वा त्यस्तो व्यक्तिको अनुमतिविना कुनै किसिमको ड्रोन वा त्यस्तै प्रकृतिको यन्त्र प्रयोग गर्न वा कुनै गोप्य सूचना प्राप्त गर्ने उद्देश्यले कुनै कार्य गर्न हुँदैन।
0 Comments