परिच्छेद–१ प्रारम्भिक

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “आर्थिक कार्यविधि ऐन, २०५५” रहेकोछ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,

(क) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।
(ख) “सञ्चित कोष” भन्नाले संविधानको संविधानको धारा ११७ बमोजिमको सञ्चित कोष वा सरकारी कोष सम्झनु पर्छ ।
(ग) “कार्यालय” भन्नाले संवैधानिक अंग तथा निकाय, नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, विभाग र सो मातहतका सबै अड्डा अदालत तथा अन्य सरकारी निकायका कार्यालय समेतलाई सम्झनु पर्छ ।
(घ) “तालुक कार्यालय” भन्नाले सम्बन्धित कार्यालयभन्दा माथिल्लो तहको कार्यालय सम्झनु पर्छ ।
(ङ) “मातहतको कार्यालय” भन्नाले सम्बन्धित कार्यालयको मातहतमा रहेका कार्यालय सम्झनु पर्छ ।
(च) “सचिव” भन्नाले मन्त्रालयको सचिव सम्झनु पर्छ र सो शब्दले संवैधानिक अंग तथा निकायको हकमा त्यस्तो संवैधानिक अंग तथा निकायको सचिव वा प्रशासकीय प्रमुख र केन्द्रीय स्तरको सचिवालय तथा आयेगको हकमा त्यस्तो सचिवालय तथा आयोगको सचिव समेतलाई जनाउँछ ।
(छ) “कार्यालय प्रमुख” भन्नाले संवैधानिक अंग तथा निकायको सम्बन्धमा त्यस्तो संवैधानिक अंग तथा निकायका प्रमुख, मन्त्रालयको सम्बन्धमा सचिव, विभागको सम्बन्धमा विभागीय प्रमुख, योजनाको सम्बन्धमा योजना प्रमुख र कार्यालयको सम्बन्धमा सोही कार्यालयका प्रमुख सम्झनु पर्छ ।
(ज) “एक तह माथिको अधिकारी” भन्नाले कार्यालयको प्रमुखको हकमा सम्बन्धित विभागीय प्रमुख, विभागीय प्रमुखको हकमा सम्बन्धित मन्त्रालय, सचिवालय तथा आयोगको सचिव, सचिवको हकमा सम्बन्धित विभागीय मन्त्री वा राज्यमन्त्री र संवैधानिक अंग तथा निकायको सचिव वा प्रशासकीय प्रमुखको हकमा सम्बन्धित संवैधानिक अंग तथा निकायको प्रमुख सम्झनु पर्छ ।
(झ) “महालेखा नियन्त्रक कार्यालय” भन्नाले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही संचित कोष र आर्थिक प्रशासनको संचालन तथा नियन्त्रण गर्न आन्तरिक लेखापरीक्षण गर्ने, निर्देशन दिने तथा नेपाल सरकारको केन्द्रीय आय–व्यय लेखा तयार पार्ने कार्यालय सम्झनु पर्छ ।

(ञ) “विनियोजन” भन्नाले पेश्की खर्च ऐन र विनियोजन ऐनद्वारा निर्दिष्ट सेवा र कार्यहरूको लागि विभिन्न शीर्षकमा विभिन्न कार्यालयलाई खर्च गर्न विनियोजन भएको रकम सम्झनु पर्छ र सो शब्दले पूरक विनियोजन ऐन र उधारो खर्च ऐन बमोजिम विनियोजन रकम समेतलाई जनाउँछ ।
(ट) “लेखा उत्तरदायी अधिकृत” भन्नाले आफ्नो र मातहत कार्यालयको आर्थिक प्रशासन संचालन गर्ने, वार्षिक बजेट तयार गर्ने र सो बजेट निकासा प्राप्त गरी खर्च गर्ने अधिकार सुम्पने, बजेटको लेखा राख्ने र राख्न लगाउने, लेखा विवरण तयार गर्ने गराउने, विनियोजन, राजस्व, धरौटी र जिन्सी समेतको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने, बेरुजु नियमित गर्ने गराउने, असुल उपर गर्ने गराउने वा मिन्हा गर्ने गराउने कर्तव्य भएको सचिवलाई सम्झनु पर्छ ।
(ठ) “जिम्मेवार व्यक्ति” भन्नाले लेखा उत्तरदायी अधिकृतबाट अख्तियारी दिए बमोजिमको कार्य संचालन गर्ने, जिम्मा लिने, खर्च गर्ने, लेखा राख्ने, आन्तरिक वा अन्तिम लेखापरीक्षण गराई बेरुजु फछ्र्यौट गर्ने गराउने, सरकारी नगदी जिन्सी असुल उपर गर्ने गराउने तथा दाखिला गर्ने कर्तव्य भएको व्यक्ति सम्झनु पर्छ र सो शब्दले सरकारी कामको लागि सरकारी नगदी वा जिन्सी लिई वा नलिई सो काम फछ्र्याउने जिम्मा लिने गैर सरकारी व्यक्ति समेतलाई जनाउँछ ।
(ड) “बैंक” भन्नाले नेपाल राष्ट्र बैंक सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारले तोकिदिएको अन्य वाणिज्य बैंक समेतलाई जनाउँछ ।
(ढ) “कारोबार” भन्नाले सरकारी चल, अचल, नगदी तथा जिन्सी धनमाल जिम्मा लिई प्रचलित कानुन बमोजिम निर्धारित काममा खर्च वा दाखिला सम्बन्धी सम्पूर्ण काम सम्झनु पर्छ ।
(ण) “लेखा” भन्नाले कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित कानुन बमोजिम राखिने अभिलेख, खाता, किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजात समेतलाई सम्झनु पर्छ ।
(त) “आन्तरिक लेखापरीक्षण” भन्नाले महालेखा नियन्त्रक कार्यालयबाट हुने लेखापरीक्षण सम्झनु पर्छ ।
(थ) “अन्तिम लेखापरीक्षण” भन्नाले महालेखा परीक्षकको विभागबाट हुने लेखापरीक्षण सम्झनु पर्छ ।

(द) “बेरुजु” भन्नाले प्रचलित कानुन बमोजिम पुर्‍याउनु पर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औंल्याइएको वा ठहर्‍याइएको कारोबार सम्झनु पर्छ ।
(ध) “असुल उपर गर्नु पर्ने रकम” भन्नाले प्रचलित कानुन बमोजिम भुक्तानी दिन नहुने रकम भुक्तानी दिएको वा बढी हुने गरी भुक्तानी दिएको वा घटी रकम असुल गरेको कारणबाट असुल उपर गर्नु पर्ने भनी लेखापरीक्षण हुँदा ठहर्‍याइएको बेरुजु रकम सम्झनु पर्छ र सो
शब्दले हिनामिना वा मस्यौट गरेको रकम तथा नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने अन्य कुनै रकम कलम समेतलाई जनाउँछ ।
(न) “संपरीक्षण” भन्नाले आन्तरिक वा अन्तिम लेखापरीक्षण प्रतिवेदनमा औंल्याइएको बेरुजुको सम्बन्धमा पेश हुन आएका स्पष्टीकरण वा प्रतिक्रिया साथ संलग्न प्रमाण तथा कागजातको परीक्षण वा अनुगमनको कार्य सम्झनु पर्छ र सो शब्दले व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिबाट प्राप्त सुझाव वा निर्देशनका आधारमा गरिने परीक्षण वा अनुगमन कार्य समेतलाई जनाउँछ ।
(प) “आर्थिक विवरण” भन्नाले कुनै निश्चित अवधिमा भएको आर्थिक कारोबारको समष्टिगत स्थिति दर्शाउने उद्देश्यले शीर्षक समेत खुल्ने गरी तयार गरिएको विवरण सम्झनु पर्छ र सो शब्दले कारोबारको स्थिति दर्शाउने गरी शीर्षकको आधारमा बनाइएको बजेट
अनुमान, निकासा, खर्च, लागत, आम्दानी, दाखिला र बाँकी रकम खुलाइएको आय–व्यय विवरण समेतलाई जनाउँछ ।
(फ) “केन्द्रीय तहसिल कार्यालय” भन्नाले दफा २९ को प्रयोजनको लागि नेपाल सरकारले स्थापना गरेको केन्द्रीय तहसिल कार्यालयलाई सम्झनु पर्छ ।
(ब) “सार्वजनिक जवाफदेहीको पद” भन्नाले पारिश्रमिक ठेकिएको वा नठेकिएको जे भए तापनि कुनै रूपमा नियुक्त हुने वा निर्वाचित हुने वा मनोनयन हुने कानुनी मान्यता प्राप्त सार्वजनिक काम, कर्तव्य र अधिकार भएको पद सम्झनु पर्छ ।
(म) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेका नियमहरूमा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।