परिच्छेद – ३ बजेट निर्माण, निकासा, खर्च, रकमान्तर तथा नियन्त्रण

परिच्छेद – ३ बजेट निर्माण, निकासा, खर्च, रकमान्तर तथा नियन्त्रण

५. बजेट तथा कार्यक्रम तर्जुमा गर्नेः (१) आगामी आर्थिक वर्षमा गर्नुपर्ने सरकारी काम काज तथा विकास कार्यक्रमको निमित्त तोकिए बमोजिम बजेट तयार गर्ने गराउने उत्तरदायित्व अर्थ मन्त्रालयको हुनेछ ।
(२) उपदफा (१) बमोजिम बजेट तथा कार्यक्रम तर्जुमा एवं प्रगति समिक्षा गर्नको लागि अर्थ मन्त्रालयले माग गरेको आवधिक कार्य विवरण, आय–व्ययको अनुमान तथा संविधानको संविधानको धारा ११९ को उपधारा (२) बमोजिम आफ्नो कार्यालय र मातहतका कार्यालयलाई
छुट्याइएको बजेट निकासा, खर्च र लक्ष्य अनुसार भएको प्रगति विवरण अर्थ मन्त्रालयमा पेश गर्ने उत्तरदायित्व सम्बन्धित लेखा उत्तरदायी अधिकृतको हुनेछ ।
(३) मित्रराष्ट्र र अन्तरराष्ट्रिय संघ संस्थाबाट अनुदान र ऋण स्वरूप नेपाल सरकारलाई प्राप्त हुने नगदी वा जिन्सी सहायतालाई बजेटमा समावेश गर्नु गराउनु पर्नेछ । यस बाहेक अन्य प्रकारका सहायताको छुट्टै विवरण बजेट साथ संसदमा पेश गर्नुपर्नेछ ।
(४) उपदफा (३) बमोजिमको सहायता लिनु अघि त्यस्तो सहायता, योजना तथा वार्षिक कार्यक्रमले निर्धारण गरेको प्राथमिकता, नीति तथा कार्यक्रम अनुरूप छ, छैन सो सम्बन्धमा सामान्यतया राष्ट्रिय योजना आयोगको परामर्श लिई अर्थ मन्त्रालयको स्वीकृति लिने र सोको
विवरण तयार गरी अर्थ मन्त्रालयमा पेश गर्ने कर्तव्य लेखा उत्तरदायी अधिकृतको हुनेछ ।
(५) गैर सरकारी संस्था र स्थानीय निकायहरूलाई प्राप्त हुने वैदेशिक ऋण, अनुदान र सहयोग सम्बन्धी विवरण सम्बन्धित मन्त्रालयले अर्थ मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ । यसरी प्राप्त हुन आएको विवरण अर्थ मन्त्रालयले संसद समक्ष पेश गर्नु पर्नेछ ।
(६) बजेट तथा कार्यक्रम तर्जुमा गर्दा अपनाउनु पर्ने अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।
६. बजेट निकासाः (१) पेश्की खर्च ऐन वा विनियोजन ऐन जारी भएपछि स्वीकृत बजेट विवरण अनुसार अर्थ मन्त्रालयले दिएको अख्तियारीको आधारमा महालेखा नियन्त्रक कार्यालयको आदेश बमोजिम संचित कोषबाट सम्बन्धित कार्यालयको नाममा बैंक मार्फत रकम निकासा दिइनेछ ।
(२) अर्थ मन्त्रालयबाट कार्यालयगत बजेट विवरण र खर्च गर्ने अख्तियारी प्राप्त हुनासाथ सम्बन्धित मन्त्रालयले विभागीय प्रमुखलाई र विभागीय प्रमुखले मातहतका कार्यालय प्रमुखलाई खर्च गर्ने अख्तियारी दिनु पर्नेछ ।
तर विभाग नभएका कार्यालयहरूको हकमा मन्त्रालयले कार्यालय प्रमुखलाई अख्तियारी दिन सक्नेछ ।
(३) उपदफा (१) बमोजिम कार्यालयको नाममा रकम निकासा भएपछि महालेखा नियन्त्रक कार्यालयले तोकिदिए बमोजिमका अधिकारीहरूको संयुक्त दस्तखतबाट कार्यालयको नाममा बैंक खाता संचालन गर्नु पर्नेछ ।
(४) स्वीकृत विनियोजन रकम कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निकासा प्राप्त गरी अख्तियारी र स्वीकृत बजेटभित्र रहेर प्रचलित कानुन बमोजिम खर्च गर्ने, लेखा राखी वा राख्न लगाई लेखा पेश गर्ने, लेखापरीक्षण गराउने, बेरुजु फछ्र्यौट गर्ने सम्पूर्ण उत्तरदायित्व सम्बन्धित कार्यालय प्रमुखको हुनेछ ।
(५) पेश्की खर्च ऐन तथा विनियोजन ऐन बमोजिम सरकारी रकम निकासा दिने तथा कोष संचालन गर्ने गराउने सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।

७. खर्च गर्ने कार्यविधिः सरकारी काम काज तथा आयोजना सञ्चालन गर्दा धरौटी, दस्तुर, सेवा शुल्क लिने, पेश्की दिने तथा फछ्र्यौट गर्ने, सरकारी नगदी तथा जिन्सी सम्पत्तिको संरक्षण गर्ने,लिलाम बिक्री गर्ने, मिन्हा दिने सम्बन्धी आर्थिक प्रशासन तथा अन्य विविध व्यवस्था र तत्सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।
८. रकमान्तरः (१)विनियोजन ऐनमा तोकिएको कुनै शीर्षकमा रकम नपुग भएमा सो नपुग भएको रकम सोही ऐनमा तोकिएको कुनै एक वा एक भन्दा बढी शीर्षकमा बचत हुने भएमा विनियोजन ऐनमा तोकिएको सीमाभित्र रही एक शीर्षकबाट अर्को शीर्षकमा अर्थ मन्त्रालयले
रकमान्तर गर्न सक्नेछ ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक उपशीर्षकहरूको रकमान्तर सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
९. बजेट रोक्का वा नियन्त्रण गर्न सक्नेः दफा ६ मा जुनसुकै कुरा लेखिएको भए तापनि देशको आर्थिक स्थिति र सञ्चित कोषमा जम्मा रहेको रकमलाई विचार गरी अर्थ मन्त्रालयले सञ्चित कोष माथि व्ययभार हुने रकम बाहेक विनियोजित रकममा आवश्यकता अनुसार पूर्ण
वा आंशिक रूपमा रोक्का वा नियन्त्रण गर्न सक्नेछ ।