२. परिभाषा

२. परिभाषा

विषय वा प्रसङ्गले अर्काे अर्थ नलागेमा यस ऐनमा, –
(क) “अन्तःशुल्क लाग्ने वस्तु वा सेवा” भन्नाले यस ऐन वा अन्य प्रचलित कानून बमोजिम अन्तःशुल्क लाग्ने वस्तु वा सेवा सम्झनु पर्छ ।
(ख) “वस्तु” भन्नाले चल वा अचल दुवै किसिमको सम्पत्ति सम्झनु पर्छ ।
(ग) “सेवा” भन्नाले वस्तु बाहेकको जुनसुकै कुरा सम्झनु पर्छ ।
(घ) “प्रतिष्ठान” भन्नाले अन्तःशुल्क लाग्ने वस्तु उत्पादन, पैठारी, सञ्चय वा बिक्री वितरण गर्ने वा अन्तःशुल्क लाग्ने सेवा प्रदान गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापना भएका फर्म, कम्पनी वा संस्था सम्झनु पर्छ ।
(ङ) “इजाजतपत्र” भन्नाले दफा ९ बमोजिम दिइएको इजाजतपत्र सम्झनु पर्छ ।
(च) “अन्तःशुल्क अधिकृत” भन्नाले यस ऐनको प्रयोजनको निमित्त नेपाल सरकारले तोकेको अधिकृत सम्झनु पर्छ ।
(छ) “उत्पादन” भन्नाले अन्तःशुल्क लाग्ने वस्तु निर्माण गर्ने, बनाउने वा तयार गर्ने कार्य सम्झनु पर्छ ।
(ज) “उत्पादक” भन्नाले अन्तःशुल्क लाग्ने बस्तु उत्पादन गर्न इजाजतपत्र प्राप्त गरेको व्यक्ति, फर्म, कम्पनी वा संस्था सम्झनु पर्छ र सो शब्दले अन्तःशुल्क लाग्ने सेवा प्रदान गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्था समेतलाई जनाउँनेछ ।
(झ) “व्यक्ति” भन्नाले कुनै व्यक्ति, प्रतिष्ठान, सङ्घ, साझेदारी संस्था, सहकारी, संयुक्त व्यवसाय, गुठी वा कोषको सञ्चालक, प्रोप्राइटर र मुख्य भै काम गर्ने प्रतिनिधि वा एजेन्ट सम्झनु पर्छ र सो शब्दले नाफाको उद्देश्य लिई वा नलिई अन्तःशुल्क लाग्ने वस्तु वा सेवाको उत्पादन वा पैठारी गरी थोक वा खुद्रा वा जुनसुकै रुपमा बिक्री वितरण गर्ने निकाय वा त्यस्तो निकायको शाखा, उपशाखा वा त्यस्तै अन्य कारोबार गर्ने स्थान समेतलाई जनाउँनेछ ।
(ञ) “कारखाना मूल्य” भन्नाले अन्तःशुल्क लाग्ने वस्तुमा अन्तः शुल्क वा अन्य कुनै कर नजोडी त्यस्तो वस्तु उत्पादन वा उत्पादन र बिक्री वितरण गर्न लाग्ने खर्च र प्रतिष्ठानको नाफा मात्र जोडी निर्धारण भएको मूल्य सम्झनु पर्छ ।
(ट) “मूल्य” भन्नाले, – 
(१) उत्पादन गर्ने वस्तुको हकमा कारखाना मूल्य,
(२) सेवाको हकमा बीजक बमोजिमको मूल्य,
(३) पैठारी हुने वस्तुको हकमा दफा ७ को उपदफा (१) को खण्ड (ख) बमोजिम निर्धारण भएको मूल्य ।
(ठ) “पैठारी” भन्नाले अन्तःशुल्क लाग्ने वस्तु प्रचलित कानून बमोजिम विदेशबाट नेपाल …………… भित्र ल्याउने कार्य सम्झनु पर्छ ।
(ड) “बीजक” भन्नाले यस ऐन बमोजिम मूल्य उल्लेख गरी दिइने बिल, रसिद पूर्जी वा भरपाई सम्झनु पर्छ ।
(ढ) “विभाग” भन्नाले यस ऐनको प्रयोजनको निमित्त नेपाल सरकारले तोकेको विभाग सम्झनु पर्छ ।
(ण) “महानिर्देशक’ भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ ।
(त) “तोकिएको’ वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।