परिच्छेद– १ प्रारम्भिक

परिच्छेद– १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ ः (१) यस ऐनको नाम “खोप ऐन, २०७२” रहेको छ ।
(२) यो ऐन प्रमाणीकरण भएको एकानब्बेऔं दिनदेखि प्रारम्भ हुनेछ ।
२. परिभाषा ः विषय वा प्रसंगले अर्काे अर्थ नलागेमा यस ऐनमा,–
(क) “अनुमतिपत्र” भन्नाले खोप सेवा सञ्चालन गर्न दफा ११ वमोजिम दिइएको
अनुमतिपत्र सम्झनु पर्छ ।
(ख) “अनुसन्धान समिति” भन्नाले दफा १९ बमोजिमको अनपेच्छित घटना अनुसन्धान
समिति सम्झनु पर्छ ।
(ग) “कोष” भन्नाले दफा २१ बमोजिमको खोप कोष सम्झनु पर्छ ।
(घ) “खोप (भ्याक्सिन)” भन्नाले कुनै रोगको रोकथाम, नियन्त्रण, निवारण वा उन्मूलन
गर्न दिइने खोप सम्झनु पर्छ ।
(ङ) “खोप कार्ड” भन्नाले दफा १२ बमोजिम प्रदान गरिएको खोप कार्ड सम्झनु पर्छ ।
(च) “खोप कार्यक्रम” भन्नाले कुनै रोगको रोकथाम, नियन्त्रण, निवारण वा उन्मूलन
गर्नको लागि मन्त्रालयले नियमित वा अभियानको रुपमा सञ्चालन गर्ने राष्ट्रिय
खोप कार्यक्रम सम्झनु पर्छ र सो शब्दले खोपबाट बचाउन सकिने रोगको
निगरानी गर्ने कार्य समेतलाई जनाउँछ ।
(छ) “खोप दिने व्यक्ति” भन्नाले खोप दिने स्वास्थ्यकर्मी वा चिकित्सक सम्झनु पर्छ र
सो शब्दले खास प्रकारका खोप दिनको लागि मन्त्रालयले तोकेको अन्य व्यक्ति
समेतलाई जनाउँछ ।
(ज) “खोप सेवा” भन्नाले यस ऐन बमोजिम खोप प्रदान गर्ने कार्य सम्झनु पर्छ र सो
शब्दले खोप सेवा सञ्चालनको लागि खोप सामग्रीको व्यवस्थापन, आपूर्ति,
भण्डारण वा वितरण गर्ने काम समेतलाई जनाउँछ ।
(झ) “चिकित्सक” भन्नाले प्रचलित कानून बमोजिम चिकित्सकको रुपमा दर्ता भएको
व्यक्ति सम्झनुपर्छ ।
(ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा
तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(ट) “मन्त्रालय” भन्नाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्झनु पर्छ ।
(ठ) “समिति” भन्नाले दफा १५ बमोजिमको राष्ट्रिय खोप समिति सम्झनु पर्छ ।
(ड) “सल्लाहकार समिति” भन्नाले दफा १८ बमोजिमको राष्ट्रिय खोप सल्लाहकार
समिति सम्झनु पर्छ ।
(ढ) “विभाग” भन्नाले स्वास्थ्य सेवा विभाग सम्झनु पर्छ ।
(ण) “स्वास्थ्यकर्मी” भन्नाले प्रचलित कानून बमोजिम स्वास्थ्यकर्मीको रुपमा दर्ता
भएको व्यक्ति सम्झनु पर्छ ।