परिच्छेद – ४ गुणस्तर प्रमाणीकरण तथा लेबल स्वीकृत गर्ने सम्बन्धी व्यवस्था

परिच्छेद – ४ गुणस्तर प्रमाणीकरण तथा लेबल स्वीकृत गर्ने सम्बन्धी व्यवस्था

१५. गुणस्तर : (१) आयोडिनयुक्त नून उत्पादन, पैठारी, आपूर्ति र बिक्री वितरण गर्दाको अवस्थामा आयोडिनयुक्त नूनमा हुनुपर्ने गुणस्तर समितिबाट निर्धारण गरिएको वा सिफारिस गरे बमोजिमको हुनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम समितिबाट निर्धारित वा सिफारिस गरिएको आयोडिनयुक्त नूनको गुणस्तर नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।
(३) नेपाल………. मा उत्पादन भएको वा पैठारी गरिएको आयोडिनयुक्त नूनको गुणस्तर उपदफा (१) मा उल्लेख भए बमोजिमको गुणस्तर अनुरुप भए नभएको सम्बन्धमा परीक्षण गर्ने अधिकार केन्द्रीय खाद्य अनुसन्धानशालालाई हुनेछ ।
(४) उपदफा (१) बमोजिम निर्धारित गुणस्तर कायम रहने अन्तिम मिति पुगेको आयोडिनयुक्त नून बजारमा आपूर्ति गर्न वा बिक्री वितरण गर्नु गराउनु हुँदैन ।
(५) आयोडिनयुक्त नूनको गुणमा ह्रास, मिसावट र दूषित हुन नदिन उत्पादक, पैठारीकर्ता, आपूर्तिकर्ता तथा वितरकले प्याकेजि· तथा ढुवानी गर्दा अपनाउनु पर्ने तरिका तोकिए बमोजिम हुनेछ ।

१६. गुणस्तर प्रमाणीकरण : (१) उत्पादक, पैठारीकर्ता वा वितरकले नेपाल अधिराज्यमा डिलर मार्फत आयोडिनयुक्त नून बिक्री वितरण गर्नु अघि केन्द्रीय खाद्य अनुसन्धानशालाबाट जाँच गराई गुणस्तर प्रमाणीकरण गराउनु पर्नेछ ।

(२) यो ऐन प्रारम्भ हुनु भन्दा अघि उत्पादन वा पैठारी गरी बिक्रीमा ल्याइसकेको आयोडिनयुक्त नून यो ऐन प्रारम्भ भएको मितिले छ महिनाभित्र उत्पादक वा आपूर्तिकर्ता वा वितरकले केन्द्रीय खाद्य अनुसन्धानशालाबाट जाँच गराई गुणस्तर प्रमाणीकरण लिनु पर्नेछ ।
(३) उपदफा (१) र (२) को प्रयोजनको लागि उत्पादक, पैठारीकर्ता वा वितरकले तोकिएको ढाँचामा तोकिए बमोजिमको दस्तुर र आयोडिनयुक्त नूनको नमूना सहित केन्द्रीय खाद्य अनुसन्धानशालामा दरखास्त दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम दरखास्त साथ नमूना प्राप्त भएपछि केन्द्रीय खाद्य अनुसन्धानशालाले दफा १५ बमोजिम निर्धारित गुणस्तर अनुरुप भए नभएको परीक्षण गरी निर्धारित गुणस्तर अनुरुप भएको पाइएमा त्यस्तो उत्पादनको गुणस्तर प्रमाणीकरण गरिदिनु पर्नेछ ।

१७. लेबल स्वीकृत गर्ने : (१)नेपाल………. मा उत्पादित वा पैठारी गरिएको आयोडिनयुक्त नून बिक्री वितरण गर्नु अघि उत्पादक वा पैठारीकर्ता वा वितरकले त्यस्तो नूनको लेबल स्वीकृतिको लागि तोकिए बमोजिमको ढाँचामा तोकिए बमोजिमको दस्तुर सहित समिति समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) यो ऐन प्रारम्भ हुनु भन्दा अघि नेपाल………….. भित्र उत्पादन वा पैठारी भईसकेको आयोडिनयुक्त नूनको उत्पादक वा पैठारीकर्ता वा वितरकले यो ऐन प्रारम्भ भएको मितिले छ महिनाभित्र समितिबाट लेबल स्वीकृत गराउनु पर्नेछ ।
(३) उत्पादक, पैठारीकर्ता वा वितरकले लेबल तयार गर्दा आयोडिनयुक्त नूनको उपयोगी प्रयोगको सम्बन्धमा आवश्यक जानकारी दिने र प्रोत्साहन दिने किसिमले तयार गर्नु पर्नेछ ।
(४) लेबलमा स्पष्ट तथा सजिलैसंग बुझ्न सकिने देहाय बमोजिमको जानकारी तथा सन्देश नमेटिने गरी नेपाली तथा आवश्यकता अनुसार अंग्रेजी भाषामा छापिएको हुनु पर्नेछ :–
(क) समितिबाट स्वीकृत भए बमोजिको लोगो,
(ख) उत्पादक र प्याकि· गर्ने व्यक्ति वा संस्थाको पूरा नाम र ठेगाना,
(ग) प्याकेज गरेको आयोडिनयुक्त नूनको खास तौल,
(घ) प्याकेज गरेको साल र महीना,
(ङ) आयोडिनको मात्रा (पि.पि.एम.मा),
(च) आयोडिनयुक्त नूनमा मिश्रित आयोडिन नासिन, उड्न र हराउन नदिन अपनाउनु पर्ने उपाय र प्रविधि,
(छ) आयोडिनयुक्त नूनमा रहेको गुणस्तर कायम रहने अन्तिम मिति,
(ज) तोकिए बमोजिमका अन्य विवरण ।

१८. निरीक्षकको नियुक्ति तथा काम, कर्तव्य र अधिकार : (१) उत्पादक, पैठारीकर्ता, आपूर्तिकर्ता तथा वितरकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित व्यवस्थाको पालन गरे नगरेको सम्बन्धमा जाँचबुझ तथा निरीक्षण गर्न मन्त्रालयले समितिको सिफारिसमा आवश्यक संख्यामा निरीक्षकहरु नियुक्त गर्न वा नेपाल सरकारको सेवामा बहाल रहेका कर्मचारीहरुलाई सम्बन्धित निकायको स्वीकृति लिई निरीक्षक भई काम गर्न तोक्न सक्नेछ ।
(२) निरीक्षकको लागि चाहिने योग्यता तोकिए बमोजिम हुनेछ ।
(३) उत्पादक, पैठारीकर्ता, आपूर्तिकर्ता तथा वितरकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित व्यवस्थाहरुको पालन गरे नगरेको सम्बन्धमा निरीक्षकले तोकिए बमोजिम निरीक्षण तथा जाँचबुझ गरी त्यसको प्रतिवेदन समितिमा पेश गर्नु पर्नेछ ।
(४) उपदफा (३) मा लेखिए देखि बाहेक निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।