परिच्छेद-१ प्रारम्भिक

परिच्छेद-१ प्रारम्भिक

  1. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “उपभोक्ता संरक्षण ऐन, २०७५” रहेको छ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

  1. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा, –

(क)   “अदालत” भन्नाले दफा ४१ बमोजिमको उपभोक्ता अदालत सम्झनु पर्दछ।

(ख)   “अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप” भन्नाले दफा १६ बमोजिमको कुनै क्रियाकलाप सम्झनु पर्छ।

(ग)   “उत्पादन” भन्नाले वस्तु बनाउने, तयार गर्ने, प्रशोधन गर्ने, परिणत गर्ने, सम्मिश्रण गर्ने, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गर्ने, एसेम्बलिङ्ग गर्ने वा लेबल लगाउने प्रक्रिया वा त्यस सम्बन्धमा अपनाइने कुनै वा सबै प्रक्रिया सम्झनु पर्छ।

(घ)   “उपभोक्ता” भन्नाले कुनै वस्तु वा सेवा उपभोग वा प्रयोग गर्ने व्यक्ति वा संस्था सम्झनु पर्छ।

(ङ)   “उपभोक्ता संस्था” भन्नाले उपभोक्ताको हक हित संरक्षण र सम्वर्द्धनको उद्देश्यले प्रचलित कानून बमोजिम स्थापना भएको संस्था सम्झनु पर्छ।

(च)   “केन्द्रीय अनुगमन समिति” भन्नाले दफा २५ बमोजिमको केन्द्रीय बजार अनुगमन समिति सम्झनु पर्छ।

(छ)   “गुणस्तरहीन वस्तु” भन्नाले देहायको कुनै अवस्था भएको वा रहेको उपभोग्य वस्तु सम्झनु पर्छः–

(१)  दफा ६ बमोजिम लगाइएको लेबलमा उल्लेख गरिएकोभन्दा कम गुणस्तर भएको वा त्यस्तो वस्तुमा हुनुपर्ने आवश्यक तत्व वा पदार्थको परिमाण घटाइएको वा अर्को कुनै पदार्थको मिसावट गरिएको,

(२)   मानव स्वास्थ्यलाई हानि हुने गरी सडेको, गलेको, फोहोरमैला, विषादी मिश्रण गरी तयार गरिएको वा स्वास्थ्यलाई हानि हुने कुनै रसायन, रङ वा सुगन्ध प्रयोग गरिएको,

(३)   वस्तुको केही वा सबै भाग कुनै रोगी वा रोगकारक पशु, पंक्षी वा हानिकारक वनस्पतिबाट बनाइएको,

(४)   तोकिएको मापदण्ड पूरा नगरी उत्पादन, ढुवानी, सञ्चय, भण्डारण वा बिक्री गरिएको,

(५)   उपभोग्य वस्तुको गुणस्तर तोकिएकोमा सोही बमोजिम र नतोकिएकोमा उत्पादकले उल्लेख गरे बमोजिमको गुणस्तर नभएको,

(६)   यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको न्यूनतमभन्दा कम गुणस्तर वा अधिकतम गुणस्तर तोकिएकोमा त्यस्तो गुणस्तरभन्दा बढी भएको।

(ज)   “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।

(झ)   “निरीक्षण अधिकृत” भन्नाले दफा ३२ बमोजिम नियुक्त वा तोकिएको निरीक्षण अधिकृत सम्झनु पर्छ।

(ञ)   “परिषद” भन्नाले दफा २२ को उपदफा (१) बमोजिम गठन हुने उपभोक्ता संरक्षण परिषद् सम्झनु पर्छ।

(ट)   “प्रयोगशाला” भन्नाले उपभोग्य वस्तुको शुद्धता, पूर्णता वा गुणस्तर परीक्षण गर्ने उद्देश्यले स्थापना भएको नेपाल सरकारबाट मान्यता प्राप्त निकाय सम्झनु पर्छ।

(ठ)   “मन्त्रालय” भन्नाले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्झनु पर्छ।

(ड)   “लेबल” भन्नाले वस्तु वा वस्तु राखिएको भाँडो वा त्यस्तो वस्तु वा वस्तुमा लेखिएको, छापिएको, लिथो गरिएको, चिह्न लगाइएको, इम्बोर्स गरिएको, समावेश गरिएको वा अन्य कुनै किसिमले देखाइएको ट्याग, चिह्न, तस्विर वा अन्य विवरणात्मक वस्तु सम्झनु पर्छ।

(ढ)   “वस्तु” भन्नाले उपभोक्ताले उपभोग वा प्रयोग गर्ने वस्तु वा वस्तुहरूको सम्मिश्रणबाट बनेको स्वास्थ्यलाई हानि, नोक्सानी वा कुनै किसिमको नकारात्मक प्रभाव (साइड इफेक्ट) नगर्ने पदार्थ सम्झनु पर्छ र सो शब्दले त्यस्तो वस्तुको निर्माणमा प्रयोग हुने कच्चा पदार्थ, रङ, सुगन्ध वा रसायनलाई समेत जनाउँछ।

(ण)   “वस्तुको मूल्य” भन्नाले उत्पादन गर्दा तोकिएको मूल्य, लेबल लगाइएको मूल्य, एम.आर.पी, आयात-प्रज्ञापन पत्रमा तोकिएको मूल्य वा उत्पादकले स्रोतमै तोकेको मूल्य सम्झनु पर्छ।

(त)   “बिक्रेता” भन्नाले वस्तु वा सेवा बिक्री वितरण गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्था सम्झनु पर्छ।

(थ)   “विभाग” भन्नाले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग सम्झनु पर्छ।

(द)   “सेवा” भन्नाले विद्युत, खानेपानी, टेलिफोन, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा परामर्श, यातायात,  ढल निकास, बैङ्किङ्ग वा त्यस्तै प्रकृतिका अन्य सेवा सम्झनु पर्छ र सो शब्दले कानूनी, चिकित्सा वा इञ्जिनियरिङ्ग सेवालाई समेत जनाउँछ।

(ध)   “त्रुटिपूर्ण उत्पादन” भन्नाले कुनै उत्पादन उपभोग गर्दा सामान्य मानिसले मनासिब तवरले अपेक्षा गर्ने न्यूनतम सुरक्षाका उपायहरू देहायको कुनै कारणबाट नभएको कुनै वस्तु वा सेवा सम्झनु पर्छः–

(१)   त्रुटिपूर्ण डिजाइन, निर्माण, प्रशोधन, मिश्रण वा जडान,

(२)   त्रुटिपूर्ण प्याकिङ्ग, संरक्षण वा भण्डारण,

(३)   त्रुटिपूर्ण प्रस्तुति,

(४)   उत्पादित वस्तु वा सेवाको प्रकृति अनुसार सम्भावित जोखिम वा खतरालाई नियन्त्रण गर्ने पर्याप्त उपाय वा पूर्वसावधानीको अभाव,

(५)   बौद्धिक सम्पत्तिको अधिकार प्राप्त उत्पादन कम्पनीले उत्पादन गरेकोभन्दा फरक वा चोरी वा नक्कल गरेको उत्पादन।