परिच्छेद-३ वस्तु वा सेवाको बजारसँग सम्बद्ध पक्षको दायित्व

परिच्छेद-३ वस्तु वा सेवाको बजारसँग सम्बद्ध पक्षको दायित्व

  1. उत्पादकको दायित्वः (१) उत्पादकले वस्तु वा सेवा उत्पादन गर्दा प्रचलित कानून बमोजिम पूरा गर्नु पर्ने दायित्वको अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछः–

(क)   गुणस्तरीय वस्तु वा सेवा उत्पादन गर्ने,

(ख)   वस्तुको लेबल निर्धारण गर्ने,

(ग)   लेबलमा दफा ६ बमोजिमका कुरा उल्लेख गर्ने,

(घ)   त्रुटिपूर्ण उत्पादन नगर्ने,

(ङ)   आफूले उत्पादन गरेको वस्तु त्रुटिपूर्ण उत्पादन भई त्यस्तो वस्तु बजारमा रहेको कुरा जानकारीमा आएमा त्यस्तो वस्तु सङ्कलन गरी नष्ट गर्ने,

(च)   वस्तु वा सेवाको उत्पादनका कारण उपभोक्तालाई कुनै किसिमको क्षति भएमा सोको मनासिब क्षतिपूर्ति दिने,

(छ)   वस्तु वा सेवाको गलत वा भ्रामक विज्ञापन वा प्रचार प्रसार नगर्ने,

(ज)   दुई वा दुईभन्दा बढी पदार्थको समिश्रणबाट बनेको वा उत्पादित वस्तुमा रहेका त्यस्ता पदार्थको मात्रा, तत्व वा प्रतिशतको उपभोक्तालाई जानकारी दिनु पर्ने,

(झ)   कानून बमोजिम तोकिएका अन्य शर्त पूरा गर्ने।

(२) उपदफा (१) बमोजिमको दायित्व पूरा नगरेको वा कुनै वस्तुको उत्पादन, निर्माण, प्रशोधन, डिजाइन, सूत्र, तयारी, पैठारी, प्याकिङ्ग, लेबलिङ्गको क्रममा भएको कुनै त्रुटि, कमि कमजोरी (डिफेक्ट) को कारण त्यस्तो वस्तु वा सेवा उपभोग गर्दा कसैको जिउ, ज्यान, सम्पत्तिमा हानि, नोक्सानी भएमा त्यस्तो हानि, नोक्सानी बापत त्यस्तो वस्तु वा सेवाको उत्पादक जिम्मेवार हुनेछ र त्यस बापत क्षतिपूर्ति दिने दायित्व निजको हुनेछ।

तर,

(क)   जुन वस्तु वा सेवाको उपभोगको कारण हानि, नोक्सानी पुगेको हो त्यस्तो वस्तुको वास्तविक उत्पादक हुनु पर्ने,

(ख)   जुन वस्तु वा सेवाको उपभोग वा प्रयोगबाट त्यस्तो हानि, नोक्सानी पुगेको भनिएको हो सोही वस्तु वा सेवाको उपभोग वा प्रयोगबाट हानि, नोक्सानी पुगेको प्रत्यक्ष कारण पुष्टि भएको हुनु पर्ने।

  1. पैठारीकर्ताको दायित्वः (१) पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानून बमोजिम पूरा गर्नु पर्ने दायित्वको अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछः–

(क)   परल मूल्यभन्दा बढी वा फरक नपर्ने गरी पैठारी गर्नु पर्ने,

(ख)   सम्बन्धित निकाय वा अधिकारीले माग गरेको बखत पैठारी गरिएको वस्तु सम्बन्धी वस्तुको विवरण उपलब्ध गराउने,

(ग)   प्रचलित कानून बमोजिम पैठारी गर्न नपाइने वस्तु  पैठारी नगर्ने,

(घ)   तोकिए बमोजिमका अन्य दायित्व पूरा गर्ने।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै वस्तुको गुणस्तर वा प्रकृति बमोजिम अन्यथा व्यवस्था भएकोमा बाहेक पैठारी भएको मितिबाट छ महिनापछि उपभोग गर्न नहुने वा नसकिने वा त्यस्तो अवधि समाप्त भएपछि उपभोग गर्न नमिल्ने वस्तु पैठारी गर्न पाइने छैन।

(३) कसैले लेबलमा उल्लेख गर्नुपर्ने कुरा उल्लेख नगरी वस्तु पैठारी गरेकोमा त्यस्तो वस्तुको प्रयोगबाट कसैलाई हानि, नोक्सानी हुन गएमा त्यस्तो हानि, नोक्सानी बापत पैठारीकर्ता जिम्मेवार हुनेछ र त्यस बापत क्षतिपूर्ति दिने दायित्व निजको हुनेछ।

  1. ढुवानीकर्ताको दायित्वः ढुवानीकर्ताले प्रचलित कानून बमोजिम पूरा गर्नुपर्ने अन्य दायित्वको अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछः–

(क)   ढुवानी गरिने वस्तुको प्रकृति अनुसार निर्धारित अवधिभित्र नै ढुवानी गर्नु पर्ने,

(ख)   ढुवानी गर्दा वस्तुको गुणस्तरमा ह्रास आउन नदिने,

(ग)   ढुवानी गर्दा तोकिए बमोजिम सुरक्षात्मक व्यवस्था तथा पालना गर्नु पर्ने शर्तहरू पूर्ण रूपमा पालन गर्ने,

(घ)   सम्बन्धित निकाय वा अधिकारीले माग गरेको बखत वस्तुको विवरण उपलब्ध गराउने,

(ङ)   तोकिए बमोजिमका अन्य दायित्व पूरा गर्ने।

  1. सञ्चयकर्ताको दायित्वः वस्तुको सञ्चय गर्ने सञ्चयकर्ताले प्रचलित कानून बमोजिम पूरा गर्नु पर्ने दायित्वको अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछः–

(क) वस्तु सञ्चय गर्दा त्यस्ता वस्तुको प्रकृति अनुसार सतर्कता अपनाउने,

(ख)   वस्तुको किसिम वा प्रकृति अनुसार गुणस्तरमा ह्रास नआउने गरी तोकिए बमोजिम सुरक्षात्मक उपाय अपनाई सञ्चय गर्ने र वस्तुको गुणस्तरमा ह्रास आउने खालको कुनै काम नगर्ने,

(ग)   उत्पादकले उल्लेख गरेका वस्तुको लेबल वा विवरण फेरबदल नगर्ने,

(घ)   सम्बन्धित निकाय वा अधिकारीले माग गरेको बखत वस्तुको सञ्चयसँग सम्बन्धित वस्तुको विवरण उपलब्ध गराउने,

(ङ)   तोकिएको सुरक्षात्मक उपाय अपनाउने,

(च)   तोकिए बमोजिमका अन्य दायित्व पूरा गर्ने।

  1. बिक्रेताको दायित्वः वस्तुको बिक्री गर्ने बिक्रेताले कानून बमोजिम पूरा गर्नु पर्ने अन्य दायित्वको अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछः–

(क)    विना भेदभाव उपभोक्तालाई वस्तुको बिक्री गर्ने,

(ख)   वस्तुको किसिम वा प्रकृति अनुसार गुणस्तरमा ह्रास नआउने गरी सुरक्षित रूपमा राख्ने र सुरक्षित रूपमा बिक्री गर्ने,

(ग)   सर्वसाधारणले स्पष्ट रूपमा देख्ने बुझ्ने गरी वस्तुको मूल्य सूची राख्ने,

(घ)   सम्बन्धित निकाय वा पदाधिकारीले माग गरेका बखत आफूसँग रहेको वस्तुको मौज्दात वा विवरण उपलब्ध गराउने,

(ङ)   वस्तुमा कुनै किसिमको ग्यारेन्टी वा वारेन्टीको व्यवस्था भएमा त्यस्तो व्यवस्थाको पालना गर्ने,

(च)   पहिले आउने उपभोक्तालाई पहिले वस्तु बिक्री गर्ने,

(छ)   उपभोग्य वस्तु बिक्री गरेपछि त्यसको बिल वा रसीद दिने,

(ज)     तोकिए बमोजिमका अन्य दायित्व पूरा गर्ने।

  1. सेवा प्रदायकको दायित्वः उपभोक्तालाई सेवा प्रदान गर्ने सेवा प्रदायकले कानून बमोजिम पूरा गर्नु पर्ने अन्य दायित्वको अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछः–

(क)    विना भेदभाव उपभोक्तालाई सेवा प्रदान गर्ने,

(ख)   सर्वसाधारणले स्पष्ट रूपमा बुझ्ने गरी सबैले देख्ने ठाँउमा आफूले प्रदान गर्ने सेवाको प्रकृति र सो सेवा प्राप्त गरे बापत उपभोक्ताले तिर्नु पर्ने मूल्यको सूची राख्ने,

(ग)   सम्बन्धित निकाय वा अधिकारीले माग गरेका बखत आफूले प्रदान गर्ने सेवासँग सम्बन्धित विवरण तथा कागजात उपलब्ध गराउने,

(घ)   पहिले आउने उपभोक्तालाई पहिले सेवा प्रदान गर्ने,

(ङ)   उपभोक्तालाई सेवा प्रदान गरे बापतको रकम लिएपछि त्यसको बिल वा रसीद दिने,

(च)   तोकिए बमोजिम अन्य दायित्व पूरा गर्ने।

  1. बजारको तह निर्धारण गर्ने: उपभोक्ता अधिकार संरक्षण गर्ने, बजारको नियम (मार्केट रुल) बमोजिम बजार व्यवस्थापन गर्ने तथा बजारलाई स्वच्छ तथा पारदर्शी बनाउने प्रयोजनका लागि तोकिएको वस्तु वा सेवा सम्बन्धित उत्पादक वा पैठारीकर्तादेखि अन्तिम उपभोक्तासम्म पुर्‍याउँदा संलग्न हुने बजारको तह तोकिए बमोजिम हुनेछ।
  2. वस्तु फिर्ता गर्न सकिनेः (१) कसैले बिक्रेताबाट खरिद गरेको कुनै वस्तु चित्त नबुझी फिर्ता गर्न चाहेमा सात दिनभित्र बिक्रेता समक्ष फिर्ता गर्न वा त्यस्तो वस्तुको सट्टा सोही मूल्य बराबरको त्यस्तै अर्को वस्तु वा आफूले त्यस्तो वस्तु खरिद गर्दा तिरेको रकम भुक्तानी लिन सक्नेछ।

(२) उपदफा (१) बमोजिम वस्तु फिर्ता गर्दा बिक्रेताले मूल्यमा कटौती गर्न वा अन्य कुनै किसिमको थप शुल्क लिन पाउने छैन।

(३) उपदफा (१) बमोजिम वस्तु फिर्ता गर्दा त्यस्तो वस्तु खरिद गर्दाका बखत बिक्रेताले दिएको बिल वा रसिद देखाउनु पर्नेछ।

(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा वस्तु फिर्ता गर्न वा सट्टा लिन सकिने छैनः–

(क)   खरिद भइसकेपछि खरिदकर्ताले त्यस्तो वस्तुको गुणस्तर वा परिमाणमा परिवर्तन गरेमा,

(ख)   निश्चित अवधिभित्र उपभोग गरी सक्नु पर्ने प्रकृतिका वस्तु भए त्यस्तो अवधि व्यतित भइसकेको वस्तु भएमा,

(ग)   दूध, फलफूल, तरकारी, माछा, मासु जस्ता तुरुन्त उपभोग नगरेमा सडी, गली जाने प्रकृतिका वस्तु भएमा,

(घ)   खरिद गरेको वस्तु प्रयोग गरिसकेको भएमा,

(ङ)   सिलबन्दी गरिएको वस्तु भए सिलबन्दी तोडिएको भएमा।

(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सिलबन्द गरेको वस्तु भए सिल नतोडिएको अवस्थामा त्यस्तो वस्तु पन्ध्र दिनभित्र फिर्ता गर्न वा त्यस्तो वस्तुको सट्टा सोही मूल्य बराबरको त्यस्तै अर्को वस्तु लिन सकिनेछ।

  1. बिल वा बिजक राख्नु पर्नेः (१) पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेताले बिक्री प्रयोजनको लागि खरिद गरेका वस्तु वा सेवाको उत्पादक वा खरिद बिल वा बिजक आफूसँग राख्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको बिल वा बिजक सम्बन्धित अधिकारीले मागेका बखत उपलब्ध गराउनु पर्नेछ।