परिच्छेद-३ प्रदूषण नियन्त्रण

परिच्छेद-३ प्रदूषण नियन्त्रण

१४.    प्रदूषण नियन्त्रण सम्बन्धी व्यवस्थाः (१) मन्त्रालयले विभागको सिफारिसमा प्रदूषण नियन्त्रण गर्न सघाउ पुर्‍याउने वैकल्पिक पदार्थ, इन्धन, औजार, यन्त्र वा उपकरणको प्रयोगका लागि आवश्यक व्यवस्था मिलाउन सक्नेछ ।

(२) स्थानीय तहले प्रदूषणको प्रकृति अनुसार कुहिने, पुनःप्रयोग र पुनर्उत्पादन (रिसाइकल) गर्न सकिने फोहर वर्गीकरण गरी उचित व्यवस्थापन गर्नु पर्नेछ ।

(३) कुनै व्यक्ति, संस्था वा उद्योगले ऐन वा यस नियमावलीमा तोकिएको शर्त वा मापदण्ड विपरीत फोहरमैला निष्कासन नगर्न सूचना वा निर्देशन गर्दा समेत फोहरमैला निष्कासन गरेको कारणले जनस्वास्थ्य तथा वातावरणमा प्रतिकूल प्रभाव पर्न गएमा सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहले आफ्नै खर्चमा त्यस्तो फोहरमैला हटार्इ सो फोहर हटाउँदा लागेको खर्चमा पचास प्रतिशत रकम थप गरी त्यस्तो फोहरमैला निष्कासन गर्ने व्यक्ति, संस्था वा उद्योगसँग प्रचलित कानून बमोजिम असुल उपर गर्नु     पर्नेछ ।

(४) हिमालय वा उच्च पहाडी क्षेत्रमा हुने प्रदूषण रोक्न तथा फोहरमैला हटाउनको लागि मन्त्रालयले पर्वतारोहण वा पथ प्रदर्शक सम्बन्धी तालिम वा अनुभव प्राप्त व्यक्तिलार्इ पर्वतीय वातावरण संरक्षकको रुपमा सेवा करारमा लिर्इ काममा लगाउन सक्नेछ ।

१५.    जोखिमपूर्ण पदार्थ निर्यात सम्बन्धी व्यवस्था: (१) ऐनको दफा १६ को उपदफा (३) बमोजिम नेपालबाट जोखिमपूर्ण पदार्थ निर्यातका लागि निर्यातकर्ताले मन्त्रालयबाट अनुमति लिनु पर्नेछ र सोको लागि निजले त्यस्तो पदार्थ आयात गर्ने मुलुकको सरोकारवाला निकायको सहमति समेत पेश गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम नेपालबाट जोखिमपूर्ण पदार्थको निर्यात गर्दा जोखिमपूर्ण फोहरको सीमापार ओसारपसार, नियन्त्रण र विसर्जन सम्बन्धी बासेल महासन्धिमा उल्लिखित व्यवस्थाको पालना गर्नु पर्नेछ ।

१६.   जोखिमपूर्ण पदार्थको व्यवस्थापनः (१) मन्त्रालयले विभागको सिफारिसमा जोखिमपूर्ण पदार्थको सूचीकरण गर्नेछ ।

(२) जोखिमपूर्ण पदार्थको आयात, सङ्‍कलन, भण्डारण, प्रशोधन, बिक्री वितरण, विसर्जन वा ओसारपसार गर्न चाहने व्यक्ति वा संस्थाले अनुसूची-१६ बमोजिमको ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम कुनै निवेदन प्राप्त भएकोमा विभागले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्दा त्यस्तो व्यक्ति वा संस्थालार्इ अनुमति दिन उपयुक्त हुने देखेमा आवश्यक शर्त तोकी अनुसूची-१७ बमोजिमको ढाँचामा अनुमतिपत्र प्रदान गर्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिमको अनुमतिपत्रको म्याद पाँच वर्षको हुनेछ । अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले त्यस्तो अनुमतिपत्र नवीकरणको लागि विभाग समक्ष निवेदन दिन सक्नेछ ।

(५) उपनियम (४) बमोजिम नवीकरणको लागि निवेदन दिँदा म्याद समाप्त हुने मिति भन्दा कम्तीमा तीस दिन अगावै दिई सक्नु पर्नेछ ।

(६) उपनियम (५) बमोजिम कुनै निवेदन प्राप्त भएकोमा विभागले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्दा व्यहोरा मनासिब लागेमा थप दुर्इ वर्षको लागि अनुमतिपत्र नवीकरण गर्न सक्नेछ ।

(७) यस नियम बमोजिम अनुमति लिई जोखिमपूर्ण पदार्थको आयात, सङ्‍कलन, भण्डारण, प्रशोधन, बिक्री वितरण, विसर्जन वा ओसारपसार गर्ने व्यक्ति वा संस्थाले अनुसूची-१८ बमोजिमको ढाँचामा विवरण तयार गरी प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीस दिनभित्र विभाग समक्ष पेश गर्नु पर्नेछ ।

(८) यस नियम बमोजिम अनुमति प्राप्त व्यक्ति वा संस्थाले अनुमतिपत्र प्राप्त गर्दाका बखत तोकिएका शर्तको पालना नगरेको वा जोखिमपूर्ण पदार्थको व्यवस्थापन नगरेको पाइएमा विभागले त्यस्तो व्यक्ति वा संस्थालाई तत्काल त्यस्तो शर्तको पालना गर्न वा त्यस्तो जोखिमपूर्ण पदार्थ व्यवस्थापन गर्न आदेश दिनु पर्नेछ ।

(९) उपनियम (८) बमोजिम दिइएको आदेशको पालना नगर्ने व्यक्ति वा संस्थालाई ऐन बमोजिम कारबाहीका लागि विभागले सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।

१७.    प्रयोगशाला सञ्‍‍चालन तथा व्यवस्थापनः (१) ऐनको दफा १८ को प्रयोजनको लागि वायु, जल, जमिन, प्रकाश वा ध्वनि प्रदूषण नियन्त्रण सम्बन्धी जाँच तथा परीक्षण गर्न विभागमा केन्द्रीयस्तरको प्रयोगशाला स्थापना गरिनेछ ।

(२) उपनियम (१) बमोजिमको प्रयोगशाला वा ऐनको दफा १८ को उपदफा (१) बमोजिम तोकिएको प्रयोगशालाले वातावरणको संरक्षण तथा प्रदूषण नियन्त्रण सम्बन्धमा विभाग वा अन्य निकायबाट परीक्षण गर्न अनुरोध गरिएका वस्तुलाई प्राथमिकता दिई परीक्षण गर्नु पर्नेछ ।

(३)  विशेष किसिमको प्रदूषण फैलिएको कारणबाट वातावरणमा प्रतिकूल प्रभाव पर्न गएको देखिएमा विभागले तोकिदिएको अवधिभित्र उपनियम (१) बमोजिमको प्रयोगशाला वा ऐनको दफा १८ को उपदफा (१) बमोजिम तोकिएको प्रयोगशालाले त्यस्तो प्रदूषण सम्बन्धमा जाँच गरी विभाग समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।

(४) कुनै प्रदूषणको सम्बन्धमा नेपालभित्र जाँच गर्ने प्रविधि नरहेको अवस्थामा मन्त्रालयको अनुमति लिई विभागले विदेशस्थित प्रयोगशालाबाट त्यस्तो प्रदूषणको जाँच गराउने व्यवस्था मिलाउन सक्नेछ ।

१८.    अर्को प्रयोगशालाबाट जाँच गराउन सकिनेः विभाग वा अन्य निकायले एउटा प्रयोगशालाबाट जाँच भएको प्रदूषणको नमूना आवश्यकता अनुसार अर्को प्रयोगशालाबाट वा विदेशस्थित मान्यता प्राप्त प्रयोगशालाबाट समेत परीक्षण गराउन सक्नेछ ।

१९.    परीक्षणको नतिजा प्रकाशन गर्न सक्नेः विभागले यस नियमावली बमोजिम प्रयोगशालाबाट जाँच गराएको प्रदूषणको नमूना परीक्षणको नतिजा प्रकाशन गर्न सक्नेछ ।

२०.    प्रयोगशालाको सूची अद्यावधिक राख्‍नु पर्नेः विभागले सरकारी, निजी वा गैरसरकारी क्षेत्रमा स्थापना भएका प्रयोगशालाको गुणस्तरको प्राविधिक परीक्षण गरी सोको विवरण अद्यावधिक रूपमा राख्नु पर्नेछ ।

२१.    नमूना सङ्‍कलन, परीक्षण तथा विश्‍‍लेषण: (१) विभाग वा सम्बन्धित सरोकारवाला निकायले कुनै उद्योग, कलकारखाना, यन्त्र, सवारी साधन जस्ता यान्त्रिक उपकरणबाट उत्सर्जन वा निष्कासन हुने प्रदूषण तथा फोहरमैलाको स्थिति यकिन गर्नु पर्नेछ ।

(२) उपनियम (१) को प्रयोजनको लागि विभाग वा सम्बन्धित सरोकारवाला निकायले त्यस्तो उद्योग, कलकारखाना, यन्त्र, सवारी साधन जस्ता यान्त्रिक उपकरणबाट उत्सर्जन वा निष्कासन हुने प्रदूषण तथा फोहरमैलाको नमूना सङ्‍कलन गर्नु  पर्नेछ ।

(३) उपनियम (२) बमोजिम सङ्‍कलन गरिएको नमूना नियम १७ को उपनियम (१) बमोजिमको प्रयोगशाला वा ऐनको दफा १८ को उपदफा (१) बमोजिम तोकिएको प्रयोगशालाबाट परीक्षण गर्ने वा गराउने व्यवस्था विभाग वा सम्बन्धित सरोकारवाला निकायले मिलाउनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम नमूनाको परीक्षण भए पछि सोको विश्‍‍लेषण समेत गरी विभाग वा सम्बन्धित सरोकारवाला निकायले सोको नतिजा अद्यावधिक गर्नु पर्नेछ ।

२२.    प्रदूषण नियन्त्रण प्रमाणपत्र सम्बन्धी व्यवस्थाः (१) ऐनको दफा २० बमोजिम प्रदूषण नियन्त्रण प्रमाणपत्र प्राप्त गर्न चाहने उद्योगले सो उद्योगको विस्तृत कार्यप्रक्रिया, प्रदूषणका स्रोत तथा प्रदूषण नियन्त्रणका लागि अपनाइएका उपाय सम्बन्धी विवरण तयार गरी देहायको निकायमा निवेदन दिनु पर्नेछः-

(क)   वातावरणीय प्रभाव मूल्याङ्‍‍कन भएका उद्योग वा ऐनको दफा ३ को उपदफा (२) को खण्ड (क) बमोजिम संक्षिप्त वातावरणीय अध्ययन वा प्रारम्भिक वातावरणीय परीक्षण भएका उद्योगको हकमा मन्त्रालयमा,

(ख)   ऐनको दफा ३ को उपदफा (२) को खण्ड (ख) वा (ग) बमोजिम संक्षिप्त वातावरणीय अध्ययन वा प्रारम्भिक वातावरणीय परीक्षण भएका उद्योगको हकमा प्रदेश मन्त्रालयमा ।

(२) उपनियम (१) बमोजिम निवेदन दिँदा सो उद्योगबाट निष्कासन हुने फोहर पानी, धुवाँ, धुलो, ध्वनि वा प्रकाशको नेपाल सरकारले लागू गरेको मापदण्ड अनुसार परीक्षण गरी तयार गरिएको प्रतिवेदन समेत संलग्न गर्नु पर्नेछ ।

तर त्यस्तो प्रतिवेदन पछिल्लो तीन महिनाभित्र तयार पारिएको हुनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम कुनै निवेदन प्राप्त भएमा मन्त्रालय वा प्रदेश मन्त्रालयले सो उद्योगको स्थलगत अनुगमन गरी प्रदूषण नियन्त्रणको स्थिति यकिन गर्न एक टोली गठन गर्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिमको टोलीले आवश्यकता अनुसार उद्योगबाट निष्कासन भएको फोहर पानी, धुवाँ, धुलो, ध्वनि वा प्रकाशको मात्रा पुनः परीक्षण गर्न सक्नेछ ।

(५) उपनियम (३) बमोजिमको टोलीले त्यस्तो उद्योगको प्रदूषण नियन्त्रण सम्बन्धमा मन्त्रालय वा प्रदेश मन्त्रालयमा यकिन राय सहितको प्रतिवेदन पेश गर्नु पर्नेछ।

(६) उपनियम (५) बमोजिमको प्रतिवेदनको आधारमा मन्त्रालय वा प्रदेश मन्त्रालयले सो उद्योगलाई सशर्त वा निशर्त रुपमा तीन वर्षको लागि अनुसूची-१९ बमोजिमको ढाँचामा प्रदूषण नियन्त्रण प्रमाणपत्र प्रदान गर्न सक्नेछ ।

(७) उपनियम (६) बमोजिम प्रदूषण नियन्त्रण प्रमाणपत्र प्राप्त गरेका उद्योगले प्रत्येक छ महिनामा फोहर पानी, धुवाँ, धुलो, ध्वनि वा प्रकाशको मापन गरी प्रदूषण नियन्त्रण प्रमाणपत्र जारी गर्ने निकाय समक्ष परीक्षण प्रतिवेदन पेश गर्नु पर्नेछ ।

(८) उपनियम (७) बमोजिमको परीक्षण प्रतिवेदनमा फोहर पानी, धुवाँ, धुलो, ध्वनि वा प्रकाशको मात्रा निर्धारित मापदण्डभन्दा बढी पाइएमा सो उद्योगले तीन महिनाभित्र आवश्यक सुधार गरी मापदण्ड अनुकूल बनाउनु पर्नेछ र सोको परीक्षण प्रतिवेदन प्रदूषण नियन्त्रण प्रमाणपत्र जारी गर्ने निकाय समक्ष पेश गर्नु पर्नेछ ।

(९) उपनियम (७) वा (८) बमोजिमको परीक्षण प्रतिवेदन पेश नगरेमा वा उपनियम (८) बमोजिम तीन महिना पछि पनि फोहर पानी, धुवाँ, धुलो, ध्वनि वा प्रकाशको मात्रा निर्धारित मापदण्डभन्दा बढी पाइएमा वा कुनै पनि समय उद्योगले मापदण्डको उल्लङ्घन गरी वातावरणमा प्रतिकूल असर पारेको पाइएमा मन्त्रालय वा प्रदेश मन्त्रालयले सो उद्योगले प्राप्त गरेको प्रदूषण नियन्त्रण प्रमाणपत्र खारेज गर्नु पर्नेछ ।

(१०) एक पटक जारी भएको प्रदूषण नियन्त्रण प्रमाणपत्रको म्याद समाप्त भए पछि त्यस्तो उद्योगले पुन: यस नियम बमोजिमको प्रक्रिया पूरा गरी नयाँ प्रदूषण नियन्त्रण प्रमाणपत्र प्राप्त गर्न  सक्नेछ ।

(११) प्रदूषण नियन्त्रण प्रमाणपत्र प्राप्त गरेका उद्योगको विवरण मन्त्रालय वा प्रदेश मन्त्रालयले अद्यावधिक रूपमा राख्नु पर्नेछ ।

२३.    वातावरण निरीक्षकको काम, कर्तव्य र अधिकारः (१) ऐनको दफा २२ मा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त वातावरण निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क)    ऐनको दफा २२ को उपदफा (२) बमोजिम जाँचबुझको सिलसिलामा ऐन वा यस नियमावली विपरीत भए गरेको कुनै काम कारबाही तुरुन्त रोक्का गर्नु पर्ने भएमा सम्भव भएसम्म विभाग वा सम्बन्धित सरोकारवाला निकायको अनुमति लिई रोक्का गर्ने र त्यसरी अनुमति लिन सम्भव नभएमा त्यस्तो काम कारबाही रोक्का राखी सो कुराको जानकारी यथाशीघ्र विभाग वा सम्बन्धित सरोकारवाला निकायलाई दिने,

(ख)    निरीक्षण सम्पन्न गरी निरीक्षणबाट देखिएका कुराको विस्तृत विवरण सहितको जाँचबुझ प्रतिवेदन विभाग वा सम्बन्धित सरोकारवाला निकाय समक्ष पेश गर्ने ।

(२) उपनियम (१) को खण्ड (क) बमोजिम वातावरण निरीक्षकबाट कुनै काम कारबाही रोक्का राख्नु परेको वा राखेको जानकारी प्राप्त भएमा विभाग वा सम्बन्धित सरोकारवाला निकायले सो सम्बन्धमा तुरुन्त जाँचबुझ गर्न लगाई उपयुक्त आदेश दिनु  पर्नेछ ।

२४.    आवश्यक सहयोग गर्नु पर्नेः ऐन तथा यस नियमावलीमा उल्लिखित कार्य गर्ने क्रममा कसैले वातावरण निरीक्षकलाई बाधा विरोध गरेमा वा निजले निरीक्षण गर्न जाँदा बल प्रयोग गर्नु पर्ने भएमा निजले सम्बन्धित स्थानीय प्रशासनसँग सहयोग माग गर्न सक्नेछ र त्यस्तो सहयोग माग गरेकोमा सम्बन्धित स्थानीय प्रशासनले आवश्यक सहयोग उपलब्ध गराउनु पर्नेछ ।