परिच्छेद-६ राष्ट्रिय सम्पदाको संरक्षण तथा वातावरण संरक्षण क्षेत्र

परिच्छेद-६ राष्ट्रिय सम्पदाको संरक्षण तथा वातावरण संरक्षण क्षेत्र

३२.    राष्ट्रिय सम्पदाको अभिलेख तथा संरक्षणः (१) ऐनको दफा २९ को प्रयोजनको लागि सम्बन्धित सरोकारवाला निकायले राष्ट्रिय सम्पदा सम्बन्धी अभिलेखमा समावेश गर्ने वस्तु, स्थल, वनस्पति, जीवजन्तु र वातावरणीय अवस्थाको विवरण सर्वसाधारणको जानकारीको लागि राष्ट्रियस्तरको कुनै दैनिक पत्रिकामा र आफ्नो वेब साइटमा प्रकाशन गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम प्रकाशित विवरणमा उल्लेख भएका वस्तु, स्थल, वनस्पति, जीवजन्तु र वातावरणीय अवस्थाको सम्बन्धमा कसैको कुनै राय प्रतिक्रिया भएमा त्यस्तो विवरण प्रकाशन भएको मितिले तीस दिनभित्र सम्बन्धित सरोकारवाला निकाय समक्ष राय प्रतिक्रिया दिन सक्नेछ ।

(३) उपनियम (२) बमोजिम राय प्रतिक्रिया प्राप्त भएकोमा सो समेतलाई विचार गरी सम्बन्धित सरोकारवाला निकायले राष्ट्रिय सम्पदा सम्बन्धी अभिलेख तयार गर्नु पर्नेछ।

(४) उपनियम (३) बमोजिमको अभिलेखमा समावेश भएका वस्तु वा स्थलको पहिचानको लागि त्यस्तो वस्तु वा स्थलमा आवश्यकता अनुसार चिन्ह वा सिमाना        राखिनेछ ।

(५) उपनियम (४) बमोजिम राखिएको चिन्ह वा सिमाना सम्बन्धी विवरण र सोसँग सम्बन्धित नक्सा सम्बन्धित सरोकारवाला निकायले अद्यावधिक रूपमा राखी सोको जानकारी विभागलाई समेत दिनु पर्नेछ ।

(६) सम्बन्धित सरोकारवाला निकायले अभिलेखमा समावेश भएका राष्ट्रिय सम्पदाको संरक्षण र व्यवस्थापनको लागि आवश्यक कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्नु पर्नेछ।

(७) सम्बन्धित सरोकारवाला निकायले राष्ट्रिय सम्पदाको नियमित अनुगमन गरी सोको वार्षिक प्रतिवेदन तयार गरी विभाग र मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ ।

३३.    हानि नोक्सानी गर्न नहुनेः (१) नियम ३२ बमोजिमको सम्पदा सम्बन्धी अभिलेखमा समावेश भएका वा राष्ट्रिय सम्पदा भित्रका वस्तु, स्थल, वनस्पति, जीवजन्तु वा वातावरणीय अवस्थाका सम्बन्धमा सम्बन्धित सरोकारवाला निकायको स्वीकृति बिना कसैले पनि देहायका कुनै काम गर्नु वा गराउनु हुँदैनः-

(क)   कुनै वस्तु, वनस्पति वा जीवजन्तु हटाउन, फेरबदल गर्न वा त्यसलाई नोक्सान पुग्ने कुनै काम गर्न,

(ख)    कुनै वस्तु, वनस्पति वा जीवजन्तु कसैलाई बेचबिखन वा हस्तान्तरण गर्न,

(ग)    अभिलेखमा समावेश भएका कुनै जीवजन्तुलाई नोक्सान पु¥ofउने किसिमका अन्य जीवजन्तु राष्ट्रिय सम्पदा संरक्षण क्षेत्रमा प्रवेश गराउन,

(घ)    कुनै वस्तु, स्थल, वनस्पति वा जीवजन्तु बिग्रने वा नासिने गरी अन्य कुनै काम गर्न ।

(२) कसैले उपनियम (१) विपरीत कुनै काम गरे वा गराएको थाहा हुन आएमा जोसुकैले सम्बन्धित सरोकारवाला निकायमा उजुरी दिन सक्नेछ ।

(३) उपनियम (२) बमोजिम कुनै उजुरी परेमा वा सम्बन्धित सरोकारवाला निकाय आफैंले जाँचबुझ गर्दा राष्ट्रिय सम्पदा सम्बन्धी अभिलेखमा समावेश भएका वस्तु, स्थल, वनस्पति, जीवजन्तु वा वातावरणीय अवस्थाको हानि, नोक्सानी भएको देखिएमा सम्बन्धित सरोकारवाला निकायले त्यस्तो कार्य यथाशीघ्र रोक्न लगार्इ प्रचलित कानून बमोजिम अधिकारप्राप्त निकाय समक्ष कारबाहीको लागि पठाउनु पर्नेछ ।

३४.    वातावरण संरक्षण क्षेत्र, खुला वा हरियाली क्षेत्रमा निषेधित कार्य : (१) ऐनको दफा ३० बमोजिम कायम गरिएको वा तोकिएको वातावरण संरक्षण क्षेत्र वा खुला वा हरियाली क्षेत्रभित्र नेपाल सरकारले देहायका कुनै काम गर्न वा गराउन नपाउने गरी रोक लगाउन सक्नेछः-

(क) प्राकृतिक सम्पदा वा सौन्दर्यपरक स्थितिलाई बिगार्न, नास्न, भत्काउन, हटाउन, छेक्न वा अरु कुनै किसिमले हानि नोक्सानी पुर्‍याउन,

(ख)    ऐतिहासिक वा साँस्कृतिक महत्वका स्थल बिगार्न, फेर्न, नास्न, हटाउन, भत्काउन वा त्यस्ता स्थलमा कुनै पोष्टर वा त्यस्तै अन्य कागजात वा चित्र टाँस्न वा अरु कुनै प्रकारले हानि हुने काम गर्न,

(ग)    कुनै नदी, खोला नाला, झरना, खहरे, पोखरी, कुण्ड, ताल वा पानीको स्रोतमा विद्युतीय धार (करेन्ट) वा वनस्पतिजन्य वा अन्य कुनै किसिमको हानिकारक रासायनिक पदार्थ प्रयोग गर्न,

(घ)    कुनै पनि किसिमको घरपालुवा जनावरबाट जननकृति (जेनेटिक मेकअप) मा परिवर्तन गर्न,

(ङ)    खानी खन्न वा कुनै खनिज पदार्थ, ढुङ्गा, माटो, गिट्टी, बालुवा वा अन्य पदार्थ हटाउन,

(च)    होटल, लज, सार्वजनिक यातायात, स्वास्थ्य चौकी, विद्यालय, कुटी वा अन्य यस्तै किसिमका सेवा सञ्‍‍चालन गर्न,

(छ)    वातावरण संरक्षण क्षेत्रमा लगाइएको तारबार, चिन्ह, सङ्केत वा अन्य कुनै चीज वस्तुलाई हानि नोक्सानी पुर्‍याउन,

(ज)  जैविक विविधतालाई प्रतिकूल असर पार्ने किसिमको कुनै कार्य गर्न,

(झ) कुनै पनि वनस्पति काट्न, ढाल्न, हटाउन, फेर्न, उखेल्न तथा वनस्पतिलाई हानि नोक्सानि पुर्‍याउने कार्य गर्न ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएका भए तापनि वातावरण संरक्षण क्षेत्रको व्यवस्थापन तथा विकासको लागि त्यस्तो क्षेत्र भित्र सम्बन्धित सरोकारवाला निकायले स्वीकृति प्रदान गरे बमोजिमका कार्य सञ्‍‍चालन गर्न सकिनेछ ।

३५.    वातावरण संरक्षण कोष सञ्‍चालक समितिको गठन : (१) कोषको व्यवस्थापन, सञ्‍‍चालन र रेखदेख गर्नको लागि देहाय बमोजिमको वातावरण संरक्षण कोष सञ्‍चालक समिति       रहनेछ :-

(क) सचिव, मन्त्रालय -अध्यक्ष
(ख) सहसचिव, अर्थ मन्त्रालय -सदस्य
(ग) सहसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय -सदस्य
(घ) सहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय -सदस्य
(ङ) सहसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन

मन्त्रालय

 

-सदस्य

(च) मन्त्रालयले मनोनयन गरेको कुनै प्रदेशको वातावरण सम्बन्धी विषय हेर्ने मन्त्रालयको सचिव (एक जना)  

-सदस्य

 (छ  महानिर्देशक, वातावरण विभाग -सदस्य
(ज) वातावरण सम्बन्धी विज्ञहरु मध्येबाट मन्त्रालयले मनोनयन गरेको कम्तीमा एक जना महिला       सहित दुर्इ जना  

 

-सदस्य

(झ)  सहसचिव (सम्बन्धित विषय हेर्ने महाशाखा), मन्त्रालय -सदस्य-सचिव

(२) उपनियम (१) को खण्ड (च) बमोजिमको सदस्यको मनोनयन गर्दा प्रत्येक प्रदेशको वातावरण सम्बन्धी विषय हेर्ने मन्त्रालयका सचिवबाट आलोपालो हुने गरी गर्नु पर्नेछ ।

(३) उपनियम (१) को खण्ड (च) वा (ज) बमोजिम मनोनयन हुने सदस्यको पदावधि एक वर्षको हुनेछ ।

(४) उपनियम (१) को खण्ड (ज) बमोजिम तोकिएको सदस्यको कार्यसम्पादन सन्तोषजनक नभएमा मन्त्रालयले निजलार्इ जुनसुकै बखत पदबाट हटाउन सक्नेछ ।

तर त्यसरी हटाउनु अघि निजलार्इ आफ्नो सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।

(५) सञ्‍चालक समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।

३६.    सचिवालय र प्रशासनिक खर्चसम्बन्धी व्यवस्थाः (१) सञ्‍चालक समितिको सचिवालयको काम मन्त्रालयले गर्नेछ ।

(२) सञ्‍चालक समितिको सचिवालयको प्रशासनिक खर्चको लागि आवश्यक पर्ने रकम मन्त्रालयको बजेटबाट व्यवस्था गरिनेछ ।

३७.    कोषको सञ्चालनः (१) कोषलाई चक्रीय (रिभल्विङ्ग) कोषको रूपमा सञ्‍‍चालन  गरिनेछ ।

(२) कोषमा जम्मा भएको रकम सञ्‍चालक समितिले तोकेको कुनै “क” वर्गको वाणिज्य बैङ्कमा खाता खोली जम्मा गरिनेछ ।

(३) उपनियम (२) बमोजिमको खाताको सञ्‍‍चालन सञ्‍चालक समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

३८.    कोषको प्रयोगः कोषको रकम देहायका काममा सञ्‍चालक समितिले निर्णय गरे बमोजिम खर्च गरिनेछः-

(क)   वातावरणको संरक्षण, प्रदूषणको रोकथाम तथा नियन्त्रण र राष्ट्रिय सम्पदाको संरक्षण सम्बन्धमा विशिष्टिकृत योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने,

(ख)    वातावरण प्रदूषण अध्ययन तथा न्यूनीकरण सम्बन्धी प्रविधिको प्रयोग    गर्ने,

(ग)    वातावरणको संरक्षण, प्रदूषणको रोकथाम तथा नियन्त्रण र राष्ट्रिय सम्पदाको संरक्षण र त्यस्ता कार्यका लागि जनचेतना अभिवृद्धि गर्ने,

(घ)   वातावरणीय शिक्षा, तालीम, अध्ययन अनुसन्धान सम्बन्धी कार्य गर्ने,

(ङ)    वातावरणको संरक्षण, प्रदूषणको रोकथाम तथा नियन्त्रण र राष्ट्रिय सम्पदाको संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने ।

३९.    लेखा व्यवस्थाः कोषको आय-व्ययको लेखा प्रचलित कानून बमोजिम राखिनेछ ।

४०.    वार्षिक प्रतिवेदन सार्वजनिक गर्नु पर्नेः सञ्‍चालक समितिले वर्षभरी गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन तयार गरी प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीस दिन भित्र सार्वजनिक गर्नु पर्नेछ ।