भाग ७ – संविधान सभा

भाग ७ – संविधान सभा

६३. संविधान सभाको गठनः (१) नेपाली जनता आफैंले नयाँ संविधानको निर्माण गर्न यस संविधानको अधीनमा रही एक संविधान सभाको गठन हुनेछ ।

(२) यो संविधान प्रारम्भ भए पछि संविधान सभाको सदस्यको निर्वाचन नेपाल सरकारले तोकेको मितिमा हुनेछ ।

(३) संविधान सभामा समान जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा र मधेशमा जनसंख्या प्रतिशतको आधारमा कानूनमा व्यवस्था भए बमोजिम मिश्रित निर्वाचन प्रणाली अनुरुप देहाय बमोजिम निर्वाचित र मनोनयन हुने देहायका संख्याका सदस्यहरु
रहनेछन्ः–

(क) प्रशासकीय जिल्लालाई निर्वाचन जिल्ला कायम गरी संविधान सभाको निर्वाचन हुनुभन्दा अघिको राष्ट्रिय जनगणनाबाट निश्चित भएको जनसख्ंयाको आधारमा त्यस्ता जिल्ला र सदस्य संख्याबीचको अनुपात यथासम्भव समान हुने गरी धारा १५४क. बमोजिम व्यवस्था भएको निर्वाचन क्षेत्र निर्धारण आयोगबाट निर्धारण भएबमोजिम दुईसयचालीस निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एकजनाका दरले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार निर्वाचितसदस्य,

(ख) सम्पूर्ण मुलुकलाई एक निर्वाचन क्षेत्र मानी राजनैतिक दललाई मत दिनेसमानुपातिक निर्वाचन प्रणाली अनुसार निर्वाचित हुने तीन सय पैत्तीस सदस्य,

(ग) राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका विशिष्ट व्यक्तिहरू र खण्ड (क) र (ख) बमोजिमको निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका आदिबासी जनजातिमध्येबाट सहमतिका आधारमा मन्त्रिपरिषद्बाट मनोनयन हुने छब्बीस जना सदस्य ।

(३क) उपधारा (३) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो खण्ड बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा संवत् २०५६ सालमा तत्काल कायम रहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदाका बखत प्रचलित कानून बमोजिम कायम रहेका प्रशासकीय जिल्लाहरुका निर्वाचन क्षेत्रको संख्यालाई यथावत् राखी हिमाली र पहाडी क्षेत्रमा जनसंख्यावृद्धिको आधारमा निर्वाचन क्षेत्र वृद्धि गरिनेछ र त्यसरी निर्वाचन क्षेत्र निर्धारण गर्दा मधेशको जनसंख्याको प्रतिशतको आधारमा निर्वाचन क्षेत्रको संख्या कम भएका मधेशका प्रशासकीय जिल्लाको निर्वाचन क्षेत्र वृद्धि गरिनेछ ।

(४) उपधारा (३) को खण्ड (क) बमोजिम राजनैतिक दलहरूले उम्मेदवार चयन गर्दा समावेशी सिद्धान्तलाई ध्यान दिनु पर्नेछ र खण्ड (ख) बमोजिम राजनैतिक दलहरूले उम्मेदवारहरूको सूचिकृत गर्दा महिला, दलित, उत्पीडित जाति।आदिवासी जनजाति, पिछडिएकोक्षेत्र, मधेशी लगायत अन्य वर्ग समेतको कानूनमा व्यवस्था भए बमोजिम समानुपातिक प्रतिनिधित्व गराउनु पर्नेछ ।

(५) उपधारा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि महिलाको हकमा उपधारा (३) कोखण्ड (ख) बमोजिम समानुपातिक प्रतिनिधित्वमा हुने सङ्ख्यामा सो उपधाराको खण्ड (क) अनुसार दिइने उम्मेदवारीको संख्या जोडेर कुल संख्यामा न्यूनतम एक तिहाई उम्मेदवारी दिनु पर्नेछ ।

(६) संविधान सभाका सदस्यहरूको निर्वाचन कानूनमा व्यवस्था भए बमोजिम गोप्य मतदानद्वारा हुनेछ ।

(७) संविधान सभाको निर्वाचनको प्रयोजनको लागि संवत् २०६३ साल मङ्सिर मसान्तसम्म अठार वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई कानूनमा व्यवस्था भएबमोजिम मतदान गर्ने अधिकार हुनेछ ।

(७क) उपधारा (३) बमोजिम निर्वाचित वा मनोनित सदस्यको स्थान कुनै कारणले रिक्तभएमा त्यस्तो स्थान जुन प्रक्रियाद्वारा निर्वाचित वा मनोनीत भएको हो सोही प्रक्रियाद्वारा प्रचलित कानून बमोजिम पूर्ति गरिनेछ ।

(७ख) उपधारा (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपधारा (३) को खण्ड (क)बमोजिम निर्वाचित सदस्यको स्थान कुनै कारणले रिक्त भई उपधारा (७क) बमोजिम निर्वाचनद्वारा पूर्ति गर्नुपर्दा त्यसरी निर्वाचन गरिने सालभन्दा तत्काल अघिल्लो सालको चैत्र मसान्तसम्म अठार वर्ष उमेरपूरा भएको प्रत्येक नेपाली नागरिकलाई कानूनमा व्यवस्था भए बमोजिम मतदान गर्ने अधिकार हुनेछ ।

(८) यस धारामा लेखिएको कुराहरूको अधीनमा रही संविधान सभाको निर्वाचन र सोसम्बन्धी अन्य कुरा कानूनमा व्यवस्था भए बमोजिम हुनेछ ।

६४. संविधान सभाको कार्यकालः संविधान सभाले प्रस्ताव पारित गरी अगावै विघटन गरेकोमा बाहेक संविधान सभाको कार्यकाल संविधान सभाको पहिलो बैठक बसेको मितिले चार वर्षको हुनेछ । तर मुलुकमा संकटकालीन स्थितिको घोषणा भएको कारणले संविधान निर्माण गर्ने काम पूरा हुन नसकेमा संविधान सभाले प्रस्ताव पारित गरी संविधान सभाको कार्यकाल थप छ महिनासम्म बढाउन सक्नेछ ।

६५. सदस्यको योग्यताः संविधान सभाको सदस्य हुनका लागि कुनै पनि व्यक्तिले देहायका योग्यता पूरा गरेको हुनु पर्नेछः

क) नेपाली नागरिक,

(ख) कम्तीमा पच्चीस वर्ष उमेर पूरा गरेको,

(ग) नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको,

(ग१) कुनै कानूनले अयोग्य नभएको,

(घ) कुनै लाभको पद धारण नगरेको ।

स्पष्टीकरणः खण्ड (घ) को प्रयोजनका लागि “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वाराखपूर्ति गरिने राजनैतिक पद बाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा अन्य कुनै आर्थिक सुविधा पाउने अन्य कुनै पदलाई जनाउनेछ ।

६६.सदस्यको अयोग्यता सम्बन्धी प्रश्नको निर्णयः संविधान सभाका कुनै सदस्य धारा ६५ बमोजिम अयोग्य छ वा हुन गएको छ भन्ने प्रश्न उठेमा त्यसको अन्तिम निर्णय संविधान सभा अदालतले गर्नेछ ।

६७. सदस्यको स्थानको रिक्तताः संविधान सभाका सदस्यको स्थान देहायको अवस्थामा रिक्त भएको मानिनेछः

(क) निजले लिखित राजीनामा दिएमा,

(ख) धारा ६५ बमोजिम निजको योग्यता नभएमा वा नरहेमा,

(ग) सभालाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा,

(घ) जुन राजनैतिक दलको सदस्य भई निर्वाचित भएको हो सोही दलले कानूनमा व्यवस्था भए बमोजिम निजले दल त्याग गरेको वा दलको सदस्यता कायम नरहेको कुरा सूचित गरेमा,

(ङ) निजको मृत्यु भएमा ।

स्पष्टीकरणः खण्ड (घ) को व्यवस्था संविधान सभाका अध्यक्ष वा उपाध्यक्षको हकमा लागू हुनेछैन ।

६८. सदस्यको शपथः संविधान सभाका प्रत्येक सदस्यले संविधान सभा वा यसको कुनै समितिमा पहिलो पटक भाग लिनु अघि कानूनमा व्यवस्था भए बमोजिम शपथ लिनु पर्नेछ ।

६९.संविधान सभाको बैठकः (१) संविधान सभाका सदस्यहरूको अन्तिम निर्वाचन परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको एक्काइस दिनभित्र प्रधानमन्त्रीले आव्हान गरे बमोजिम संविधान सभाको पहिलो बैठक बस्नेछ र त्यसपछिका बैठक संविधान सभाको अध्यक्षता गर्ने व्यक्तिले तोकेको मिति र स्थानमा बस्नेछ ।

(२) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संविधान सभाका कम्तीमा एकचौथाई सदस्यले संविधान सभाको बैठक बोलाउन आवश्यक छ भनी कारण सहित संविधान सभाका अध्यक्ष समक्ष निवेदन गरेमा अध्यक्षले पन्ध्र दिनभित्र संविधान सभाको बैठक बोलाउनु पर्नेछ ।

७०. संविधानको विधेयक पारित गर्ने विधिः (१) संविधान सभाले संविधानको विधेयक पारित गर्नु अघिसो विधेयकको प्रस्तावना र धाराहरु संविधान सभामा निर्णयार्थ प्रस्तुत गरी पारित गर्नु पर्नेछ ।

(२) उपधारा (१) बमोजिम संविधानको प्रस्तावना र धाराहरु पारित गर्दा संविधान सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई सदस्यहरुको उपस्थित भएको बैठकको दुई तिहाई बहुमतबाट पारित गर्नु पर्नेछ ।

(३) उपधारा (२) बमोजिम संविधानको प्रस्तावना सहित सम्पूर्ण धाराहरु पारित भएपछि संविधानको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव संविधान सभामा पेश गरिनेछ ।

(४) उपधारा (३) बमोजिम संविधानको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव संविधान सभाको मत विभाजनद्वारा निश्चित गरिनेछ ।

(५) उपधारा (३) बमोजिम पेश भएको संविधानको विधेयक संविधान सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमतबाट पारित भएमा त्यस्तो विधेयक पारित भएको मानिनेछ ।

७१. संविधान सभाका अध्यक्ष र उपाध्यक्षः

(१) संविधान सभाले संविधान निर्माण सम्बन्धी आफ्नो कार्यप्रारम्भ गर्नु अघि आफ्ना सदस्यहरूमध्येबाट राजनीतिक सहमतिका आधारमा एकजना अध्यक्ष र एकजना उपाध्यक्षको निर्वाचन गर्नेछ ।

(१क) उपधारा (१) बमोजिमको सहमति कायम हुन नसकेमा संविधान सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत प्राप्त गर्ने संविधान सभाको सदस्य संविधानसभाको अध्यक्ष वा उपाध्यक्ष पदमा निर्वाचित भएको मानिनेछ ।

(२) उपधारा (१) वा उपधारा (१क) बमोजिम निर्वाचन गर्दा अध्यक्ष र उपाध्यक्ष संविधान सभामा प्रतिनिधित्व गर्ने अलग–अलग राजनैतिक दलबाट प्रतिनिधित्व गर्ने सदस्य हुनुपर्नेछ ।

(३) उपधारा (१) बमोजिम अध्यक्ष र उपाध्यक्षको निर्वाचन सम्पन्न नभए सम्म उमेरका हिसाबले संविधान सभाको सबैभन्दा जेष्ठ सदस्यले संविधान सभाको अध्यक्षता गर्नेछ ।

(४) अध्यक्ष वा उपाध्यक्षले यस संविधान बमोजिम आफ्नो कार्य सम्पादन गर्दा कुनै पनि राजनैतिक दलको पक्ष वा विपक्षमा नरही तटस्थ व्यक्तिको हैसियतले गर्नेछ ।

७२. अध्यक्ष र उपाध्यक्षको स्थान रिक्तताः (१) देहायको अवस्थामा अध्यक्ष र उपाध्यक्षको पद रिक्त हुनेछः–

(क) निजले लिखित राजीनामा दिएमा,

(ख) संविधान सभामा निजको सदस्यता नरहेमा,

(ग) निजले पद अनुकूलको आचरण गरेको छैन भन्ने प्रस्ताव संविधान सभाका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई सदस्यको बहुमतबाट पारित भएमा, वा

(घ) निजको मृत्यु भएमा ।

(२) संविधान सभाको अध्यक्षले पद अनुकूलको आचरण गरेको छैन भन्ने प्रस्ताव उपर छलफल हुने बैठकको अध्यक्षता उपाध्यक्ष वा अन्य कुनै सदस्यले गर्नेछ र सो प्रस्तावको छलफलमा अध्यक्षले भाग लिन र मत दिन पाउनेछ ।

७३. गणपूरक संख्याः यस भागमा अन्यथा लेखिएकोमा बाहेक संविधान सभाको बैठकमा सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाई सदस्य उपस्थित नभएसम्म संविधान सभाको गणपूरक संख्या पुगेको मानिने छैन र कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन ।

७४. सदस्यको स्थान रिक्त रहेको अवस्थामा संविधान सभाको कार्य सञ्चालनः (१) संविधान सभाको कुनै सदस्यको स्थान रिक्त रहे पनि संविधान सभाले आफनो कार्य सम्पादन गर्न सक्नेछ र अयोग्यताको कारण संविधान सभाको कुनै काम कारबाहीमा भाग लिन नपाउने कुनै व्यक्तिले भाग लिएको कुरा पछि पत्ता लाग्यो भने पनि भइसकेको काम कारबाही अमान्य हुने छैन ।

(२) संविधान सभाको सदस्य नरहेको भए पनि मन्त्री, राज्यमन्त्री, सहायकमन्त्रीले संविधान सभा वा त्यसको कुनै समितिको बैठकमा उपस्थित हुन सक्नेछ । तर निजलाई मतदान गर्ने अधिकार हुने छैन ।

७५. मतदानः यस भागमा अन्यथा व्यवस्था भएकोमा बाहेक संविधान सभाको निर्णयको लागि प्रस्तुत जुनसुकै प्रश्न वा प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुनेछ । अध्यक्षता गर्ने व्यक्तिलाई सामान्यतया मत दिने अधिकार हुने छैन ।तर मत बराबर भएमा निजले आफ्नो निर्णायक मत दिनेछ ।

७६. अनधिकृत उपस्थित भएमा वा मतदान गरेमा सजाय हुनेः धारा ६८ बमोजिम शपथ नलिई वा संविधान सभाको सदस्य हुनको लागि आवश्यक योग्यता पुगेको छैन भन्ने थाहा पाउँदा पाउँदै कुनै व्यक्ति संविधान सभा वा त्यसको कुनै समितिको बैठकमा उपस्थित भएमा वा निजले मतदान गरेमा निजलाई सो बैठकमा अध्यक्षता गर्ने व्यक्तिको आदेशले त्यसरी उपस्थित भएको वा मतदान गरेको प्रत्येक पटकका लागि पाँच हजार रूपैयाँ जरिवाना हुनेछ । यसरी भएको जरिवाना निजले चुक्ता नगरेमा सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।

७७. विशेषाधिकारः

(१) संविधान सभाको बैठकमा पूर्ण वाक स्वतन्त्रता रहनेछ र सो बैठकमा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्न, थुनामा राख्न वा निज उपर कुनै अदालतमा कारबाही चलाइने छैन ।

(२) संविधान सभाको प्रत्येक बैठकलाई आफ्नो आन्तरिक काम कारबाही नियमित गर्नेपूर्ण अधिकार रहनेछ र कुनै काम कारबाही नियमित वा अनियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित बैठकलाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन ।

(३) संविधान सभाको कुनै पनि काम कारबाहीलाई त्यसको असल नियतबारे शंका उठाई कुनै टीका टिप्पणी गरिने छैन र कुनै सदस्यले बोलेको कुनै कुराको सम्बन्धमा जानी–जानी गलत वा भ्रामक अर्थ लगाई कुनै प्रकारको प्रकाशन तथा प्रसारण गरिने छैन ।

(४) संविधान सभाबाट दिएको अधिकार अन्तर्गत कुनै लिखत, प्रतिवेदन, मतदान वा कारबाही प्रकाशित गरेको विषयलाई लिएर कुनै व्यक्ति उपर अदालतमा कारबाही चलाइने छैन ।

स्पष्टीकरणः उपधारा (१), (२), (३) र (४) को प्रयोजनका लागि “संविधान सभाको बैठक” भन्नाले संविधान सभा र त्यसको कुनै समितिको बैठक समेतलाई जनाउनेछ ।

(५) संविधान सभाको कुनै पनि सदस्यलाई संविधान सभाको कार्यकाल भर पक्राउ गरिनेछैन । तर कुनै फौज्दारी अभियोगमा कुनै सदस्यलाई कानून बमोजिम पक्राउ गर्न यसउपधाराले वाधा पुर्‍याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना संविधान सभाको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ ।

(६) यस धारामा उल्लेख भएका कुनै कुरा उल्लङ्घन भएमा संविधान सभाको विशेषाधिकार हनन हुने र संविधान सभाको विशेषाधिकारको हननलाई संविधान सभाको अवहेलना मानिनेछ । कुनै विशेषाधिकारको हनन भएको छ वा छैन भन्ने निर्णय गर्ने अधिकार सो सभालाई मात्र हुनेछ ।

(७) कसैले संविधान सभाको अवहेलना गरेमा सो सम्बन्धी बैठकको अध्यक्षता गन व्यक्तिले बैठकको निर्णयबाट सो व्यक्तिलाई सचेत गराउन, नसिहत दिन वा तीन महिनामा नबढ्ने गरी कैद गर्न वा दश हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ । त्यस्तो जरिवाना निजले चुक्ता नगरेमा सरकारी बाँकी सरह असुल उपर गरिनेछ । तर संविधान सभालाई सन्तोष हुने गरी निजले क्षमा याचना गरेमा संविधान सभाले क्षमा प्रदान गर्न वा तोकिसकेको सजायलाई माफी गर्न, घटाउन वा कार्यान्वयन नगराउन सक्नेछ ।

(८) यस संविधानमा उल्लेख गरिएदेखि बाहेक विशेषाधिकार सम्बन्धी अन्य कुराहरू कानूनद्वारा निर्धारण गरिए बमोजिम हुनेछन् ।

७८. कार्य सञ्चालन विधिः यस संविधानको अधीनमा रही संविधान सभाले आफ्नो कार्य सञ्चालन गर्न बैठकको सुव्यवस्था कायम राख्न र समितिहरूको गठन, काम कारबाही र अन्य कुरा नियमित गर्नको लागि नियमावली बनाउनेछ । त्यस्तो नियमावली नबनेसम्मको लागि संविधान सभाले आफ्नो कार्यविधि आफैं नियमित गर्नेछ ।

७९. समितिः संविधान सभामा कानूनद्वारा व्यवस्था भए बमोजिम आवश्यक संख्यामा समिति र उपसमितिहरू रहने छन् । आवश्यकता अनुसार विशेषज्ञहरूको सहयोग लिन सकिनेछ ।

८०. संविधान सभाको सचिवालयः (१) संविधान सभाको कामलाई व्यवस्थित गर्नका लागि एक सचिवालय रहनेछ । त्यस्तो सचिवालयको स्थापना र सो सम्बन्धी अन्य कुरा कानूनद्वारा निर्धारण भए बमोजिम हुनेछ ।

(२) संविधान सभाको काम कारबाही सञ्चालन गर्न आवश्यक हुने कर्मचारी नेपाल सरकारले उपलब्ध गराउनेछ ।

८१. पारिश्रमिकः संविधान सभाका अध्यक्ष, उपाध्यक्ष, सदस्य तथा समितिका सभापतिहरूको पारिश्रमिक र सुविधा कानूनद्वारा व्यवस्था भए बमोजिम हुनेछ र त्यसरी व्यवस्था नभएसम्म नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।

८२. संविधान सभाको विघटनः संविधान सभाले पारित गरेको संविधान प्रारम्भ भएको दिनदेखि संविधान सभाको काम समाप्त हुनेछ । तर संविधान सभाले पारित गरेको संविधान बमोजिमको व्यवस्थापिका–संसदको निर्वाचन नभएसम्मका लागि व्यवस्थापिका–संसदको काम कारबाही सो सभाले पारित गरेको संविधानमा उल्लेख भए बमोजिम हुनेछ ।

८३. व्यवस्थापिका–संसदको हैसियतमा काम गर्नेः (१) यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि संविधान सभा कायम रहेको अवधिभर सो सभाले व्यवस्थापिका–संसदको काम समेत गर्नेछ र नियमित विधायन सम्बन्धी आवश्यक कार्य सम्पादन गर्न संविधान सभाले छुट्टै समितिगठन गर्न सक्नेछ ।

(२) संविधान सभाका अध्यक्ष तथा उपाध्यक्ष व्यवस्थापिका–संसदका क्रमशः सभामुख र उप–सभामुख हुनेछन् ।

(३) संविधान सभाको सचिवालय र त्यसका कर्मचारीहरू व्यवस्थापिका–संसदको सचिवालय र कर्मचारी हुनेछन् ।

(४) संविधान सभाले व्यवस्थापिका–संसदको हैसियतमा कार्य सम्पादन गर्दा भाग ८ काव्यवस्थाहरू आवश्यक हेरफेर सहित संविधान सभालाई लागू हुनेछन् ।