१. पृष्ठभूमि

१. पृष्ठभूमि

 खुला एवं बजारोन्मुख वाणिज्य नीतिले स्रोत साधनको परिचालन, आर्थिक विकास र गरिबी निवारणमा सकारात्मक प्रभाव पार्छ भन्ने मान्यता बमोजिम नेपालले दुई दशक अघिदेखि यस्तो नीति अवलम्बन गर्दै आएको छ । वाणिज्य क्षेत्रलाई खुला र उदार आर्थिक नीतिको अवधारणा बमोजिम अघि बढाउने सिलसिलामा वि.सं. २०४९ मा वाणिज्य नीति जारी गरिएको थियो । उक्त नीतिले वाणिज्य क्षेत्रलाई प्रतिस्पर्धात्मक र गतिशील बनाउन तथा वाणिज्य क्षेत्रमा निजी क्षेत्रको भूमिकालाई बढाउन कोशेढुंगाको रूपमा कार्य गरेको      थियो । नेपालको बहुपक्षीय, क्षेत्रीय र द्विपक्षीय व्यापार प्रणालीसँगको आबद्धता र अन्य समसामयिक विषयहरूलाई अद्यावधिक गर्न वाणिज्य नीति, २०६५ कार्यान्वयनमा ल्याइएको थियो । हाम्रा छिमेकी मुलूक लगायत नेपालजस्ता अतिकम विकसित मुलूकले समेत अन्तराष्ट्रिय व्यापारबाट अर्थतन्त्रमा उल्लेखनीय प्रगति गरेको भएता पनि नेपालको व्यापार घाटा दिनानुदिन बढ्दै गइरहेको परिस्थितिमा विद्यमान बहुपक्षीय, क्षेत्रीय र द्विपक्षीय व्यापार प्रणालीबाट अधिकतम लाभ लिन समसामयिक विषयहरूलाई समावेश गरी वाणिज्य नीति, २०७२ जारी गरिएको छ ।