११. संस्थागत व्यवस्था

११. संस्थागत व्यवस्था

११.१   बोर्ड अफ ट्रेड

११.१.१ व्यापार प्रवर्द्धनका लागि आवश्यक नीति तर्जुमा कार्यमा सहयोग पुर्याउन, व्यापार सहजीकरण गर्न एवं नीतिको अनुगमन र अन्तर– निकाय समन्वय गर्न निजी क्षेत्र समेतको सहभागितामा केन्द्रीयस्तरमा देहाय बमोजिमको बोर्ड अफ ट्रेड गठन गरिनेछ:

वाणिज्य  तथा आपूर्ति मन्त्री / राज्यमन्त्री अध्यक्ष
वाणिज्य  तथा आपूर्ति सहायक मन्त्री सदस्य
मुख्य सचिव, नेपाल सरकार सदस्य
सदस्य, राष्ट्रिय योजना आयोग (वाणिज्य क्षेत्र हेर्ने) सदस्य
गभर्नर, नेपाल राष्ट्र बैंक सदस्य
सचिव, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय (आर्थिक तथा पूर्वाधार हेर्ने) सदस्य
सचिव, अर्थ मन्त्रालय सदस्य
सचिव, उद्योग मन्त्रालय सदस्य
सचिव, कानून, न्याय, संविधान सभा तथा संसदीय मामिला मन्त्रालय सदस्य
सचिव, कृषि विकास मन्त्रालय सदस्य
सचिव, परराष्ट्र मन्त्रालय सदस्य
सचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालय सदस्य
महानिर्देशक, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग सदस्य
कार्यकारी निर्देशक, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र सदस्य
अध्यक्ष, नेपाल पारवहन तथा गोदाम व्यवस्था कं. लि. सदस्य
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ सदस्य
अध्यक्ष, नेपाल उद्योग परिसंघ सदस्य
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स सदस्य
अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ सदस्य
अध्यक्ष, सुनचाँदी रत्न तथा आभुषण महासंघ सदस्य
वाणिज्य वा अर्थशास्त्र विषयमा विशेषज्ञता हासिल गरेका राष्ट्रियस्तरका विश्वविद्यालयका प्राध्यापक वा सहप्राध्यापक मध्येबाट मनोनीत विज्ञ २ जना सदस्य
वाणिज्य तथा आपूर्ति मन्त्रीबाट मनोनीत अर्थ, वाणिज्य र आर्थिक कूटनीतिको क्षेत्रका  विज्ञमध्येबाट कम्तिमा २ जना महिला सहित ४ जना सदस्य
सह-सचिव, योजना तथा अन्तराष्ट्रिय व्यापार सहयोग महाशाखा,  वाणिज्य तथा आपूर्ति मन्त्रालय सदस्य–सचिव

 

११.१.२  उल्लिखित पदेन सदस्यहरू बाहेक वाणिज्य तथा आपूर्ति मन्त्री / राज्यमन्त्रीले आवश्यकतानुसार कुनै व्यक्ति वा विज्ञलाई बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ । नेपाल सरकारले बोर्डका सदस्यहरूमा आवश्यकतानुसार थपघट र हेरफेर गर्न सक्नेछ । बोर्डको बैठक कम्तिमा दुई महिनामा एक पटक बस्नेछ । बैठक सम्बन्धी कार्यविधि बोर्डले तय गरे बमोजिम हुनेछ ।

११.१.३ बोर्डको मुख्य काम वाणिज्य नीतिको कार्यान्वयनमा समन्वय गर्ने, परिमार्जनको लागि सरकारलाई सिफारिस गर्ने र कार्यान्वयनमा परेको बाधा–व्यवधान हटाउन सरकारलाई सुझाव दिने हुनेछ ।

११.१.४ बोर्डले आयात निर्यात व्यापारमा देखिएका बाधा–व्यवधानहरू हटाउन निर्णय गर्ने तथा व्यापार सहजीकरणका लागि आवश्यक अन्य कार्यहरू समेत  गर्नेछ ।

११.१.५ बोर्डको कामलाई थप प्रभावकारी बनाउन आवश्यकता अनुसार उप– समितिहरू गठन गर्न सकिनेछ ।

११.१.६  मनोनित सदस्यको पदावधि २ वर्षको हुनेछ ।

 

११.२   व्यापार प्रवर्द्धन प्रतिष्ठान 

निर्यातयोग्य वस्तु तथा सेवा र बजारको विकासका लागि प्रभावकारी भूमिका खेल्न सक्नेगरी मौजुदा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रलाई आवश्यक सांगठनिक संरचना र स्रोतसाधन सहितको व्यापार प्रवर्द्धन प्रतिष्ठान नामको स्वायत्त संस्थामा रूपान्तरण गरिनेछ । सेवा व्यापारको प्रवर्द्धनको लागि प्रतिष्ठान अन्तर्गत छुट्टै सेवा व्यापार सम्बन्धी संयन्त्र स्थापना गरिनेछ । व्यापार प्रवर्द्धन प्रतिष्ठानले निम्न कार्यहरू गर्नेछः-

 

११.२.१ व्यापार सम्बन्धी अध्ययन, अनुसन्धान, वस्तु विकास र निकासी प्रवर्द्धन सम्बन्धी कार्य गर्ने,

११.२.२ व्यापार प्रवर्द्धनका लागि आन्तरिक एवं बाह्य सूचना तथा जानकारी र व्यापार सम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण तथा सूचना सम्प्रेषण गर्ने मुख्य संयन्त्रको रूपमा काम गर्ने,

११.२.३ सामान्य ग्राह्यता पद्धति (Generalized System of Preference) र जि.एस.टि.पी (Global System of Trade Preference) सुविधाका सम्बन्धमा नियमित रूपमा अभिलेख राख्ने तथा व्यवसायीहरूलाई जानकारी गराउने ।

११.२.४ अन्तराष्ट्रिय व्यापारको प्रवृत्ति, वर्तमान अवस्था तथा भावी कार्यदिशा र नेपालले सो सन्दर्भमा लिनुपर्ने नीतिगत कदमहरूबारे विश्लेषणात्मक राय/सुझाव दिनसक्ने गरी अनुसन्धानमूलक संस्थाको रूपमा कार्य गर्ने,

११.२.५ बहुपक्षीय, क्षेत्रीय तथा द्विपक्षीय व्यापार सन्धि/सम्झौताहरूबाट उपलब्ध अवसर र उत्पन्न चुनौतीहरूको सम्बन्धमा सूचना सम्प्रेषण गर्ने,

११.२.६  निर्यात र आयातको व्यवस्थापन सम्बन्धी सम्पूर्ण कानुनी तथा प्रशासनिक प्रावधानहरू, भन्सार तथा गैरभन्सारजन्य प्रावधानहरू एवं अन्य सूचना र तथ्याङ्कहरू समावेश भएको ट्रेड पोर्टल को विकास र सञ्चालन गर्ने,

११.२.७ निर्यात प्रवर्द्धनका लागि आवश्यक पर्ने बजार सम्बन्धी सूचनाको सङ्कलन, प्रशोधन एवं वितरण गर्ने,

११.२.८ निर्यात र आयातलाई व्यवस्थित गर्नका लागि निर्यातकर्ता र आयातकर्तालाई सङ्केत नम्बर प्रदान गर्ने, ज्ञ

११.२.९ उल्लिखित कार्यका अतिरिक्त व्यापार मेला तथा प्रदर्शनीको आयोजना गर्ने एवं आयोजित मेला प्रदर्शनीमा सहभागिता सम्बन्धी कार्यमा समन्वय गर्ने ।