परिच्छेद-१ प्रारम्भिक

परिच्छेद-१ प्रारम्भिक

१.    संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५” रहेको छ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

२.    परिभाषाः  विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क)   “अनिवार्य शिक्षा” भन्नाले नेपाल सरकारद्वारा तोकिएको उमेर समूहका बालबालिकाहरूलाई विद्यालय वा अन्य वैकल्पिक शैक्षिक संस्थामा भर्ना भई नियमित अध्ययन गर्ने र आधारभूत तहको अध्ययन पूरा गर्ने बाध्यकारी व्यवस्थालाई सम्झनु पर्छ।

(ख)   “अभिभावक” भन्नाले बालबालिकाको बाबु, आमा वा विद्यालयमा अभिभावकको रूपमा नाम दर्ता भएको व्यक्ति सम्झनु पर्छ र सो शब्दले निजको संरक्षक वा माथवरलाई समेत जनाउँछ।

(ग)   “आर्थिक रूपले विपन्न” भन्नाले तोकिएको सीमाभन्दा कम वार्षिक आय भएको अवस्था सम्झनु पर्छ।

(घ)   “आधारभूत शिक्षा” भन्नाले कक्षा एकदेखि कक्षा आठसम्मको विद्यालय शिक्षा सम्झनु पर्छ।

(ङ)   “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।

(च)   “निजी लगानीका विद्यालय” भन्नाले निजी लगानीमा स्थापना वा सञ्चालन भएको विद्यालय सम्झनु पर्छ र सो शब्दले यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेको संस्थागत विद्यालयलाई समेत जनाउँछ।

(छ)   “निःशुल्क शिक्षा” भन्नाले विद्यालय वा शैक्षिक संस्थाले विद्यार्थी वा अभिभावकबाट कुनै पनि शीर्षकमा कुनै पनि शुल्क असूल नगरी दिइने शिक्षालाई सम्झनु पर्छ।

(ज)   “प्रधानाध्यापक” भन्नाले विद्यालयको नेतृत्व बहन गरी व्यवस्थापकीय तथा प्रशासनिक जिम्मेवारी निर्वाह गर्ने विद्यालयको प्रमुख कार्यकारी पदाधिकारीलाई सम्झनु पर्छ र सो शब्दले विद्यालय वा शिक्षण संस्थाको व्यवस्थापनको प्रमुख जिम्मेवारी भएको प्रधानाचार्य वा कार्यकारी अधिकार प्रयोग गर्ने अन्य व्यक्तिलाई समेत जनाउँछ।

(झ)   “प्रारम्भिक बालविकास तथा शिक्षा” भन्नाले चार वर्ष उमेर पूरा भएका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एक वर्ष अवधिको बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित बाल विकास तथा शिक्षा सम्झनु पर्छ।

(ञ)   “माध्यमिक शिक्षा” भन्नाले कक्षा नौदेखि कक्षा बाह्रसम्म वा सो सरहको शिक्षा सम्झनु पर्छ।

(ट)   “मातृभाषी शिक्षा” भन्नाले नेपालमा बोलिने नेपाली समुदायको कुनै मातृभाषाका माध्यमबाट दिइने शिक्षा सम्झनु पर्छ र सो शब्दले मातृभाषामा आधारित बहुभाषिक शिक्षालाई समेत जनाउँछ।

(ठ)   “विद्यालय” भन्नाले प्रचलित कानून बमोजिम स्थापना भई सञ्चालन भएको सार्वजनिक वा निजी लगानीका विद्यालय सम्झनु पर्छ र सो शब्दले यो ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानून बमोजिम कायम रहेका सामुदायिक वा संस्थागत विद्यालयलाई समेत जनाउँछ।

(ड)   “विद्यार्थी” भन्नाले विद्यालयमा भर्ना भई अध्ययन गरिरहेका व्यक्तिलाई सम्झनु पर्छ र सो शब्दले अनौपचारिक, खुला, वैकल्पिक लगायतका कार्यक्रममा शिक्षा हासिल गरिरहेका व्यक्तिलाई समेत जनाउँछ।

(ढ)   “विशेष शिक्षा” भन्नाले दृष्टिविहीन, बहिरा, अटिजम, बौद्धिक अपाङ्गता, सुस्त श्रवण, वा अति अशक्त शारीरिक अपाङ्गता भएका वा यस्तै प्रकृतिका अवस्थाका बालबालिकालाई छुट्टै समूहमा राखी विशेष प्रकार र निश्चित माध्यमबाट दिइने शिक्षा सम्झनु पर्छ।

(ण)   “शिक्षक” भन्नाले विद्यालयको अध्यापक सम्झनु पर्छ र सो शब्दले प्रधानाध्यापकलाई समेत जनाउँछ।

(त)   “शिक्षण संस्था” भन्नाले विद्यालय वा उच्च शिक्षा प्रदायक संस्थालाई सम्झनु पर्छ र सो शब्दले अनौपचारिक, वैकल्पिक वा खुला शिक्षा प्रदान गर्ने संस्थालाई समेत जनाउँछ।

(थ)   “सार्वजनिक विद्यालय” भन्नाले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको लगानी वा अनुदानमा सञ्चालित विद्यालय सम्झनु पर्छ र सो शब्दले प्रचलित कानून बमोजिम सामुदायिक विद्यालयको रूपमा सञ्चालित विद्यालय समेत जनाउँछ।

(द)   “सार्वजनिक शैक्षिक गुठी विद्यालय” भन्नाले मुनाफा नकमाउने उद्देश्यले सार्वजनिक शैक्षिक गुठी अन्तर्गत स्थापना वा सञ्चालन भएका कल्याणकारी विद्यालयलाई सम्झनु पर्छ।