२. विगतका प्रयासहरू

२. विगतका प्रयासहरू

नेपालमा करिव ३०० वर्ष पूर्व सिंहदरवार वैद्यखाना र सन् १९४७ मा वीर अस्पतालको स्थापना भई आयुर्वेदिक तथा आधुनिक चिकित्सा पद्धति मार्फत सीमित व्यक्तिको पहुंचमा स्वास्थ्य सेवाहरू उपलब्ध भए तापनि आम नागरिकहरू धामी झाँक्री, झारफुके, गुभाजु आदिको सहारामा बाँच्नु पर्ने वाध्यता थियो ।

 

वि.सं. २०१३ देखि मुलुकमा विकासका आवधिक योजनाहरू तर्जूमा गरी कार्यान्वयन गर्ने प्रक्रिया शुरु भएपछि स्वास्थ्य क्षेत्रमा पनि योजनाबद्ध रूपमा विकासको क्रम शुरु भयो । यसैक्रममा वि.सं. २०३२  सालमा १५ वर्षे पहिलो दीर्घकालीन स्वास्थ्य योजना र वि.सं. २०५४ मा २० वर्षे दोस्रो दीर्घकालीन स्वास्थ्य योजना लागू गरियो ।

विफर उन्मूलन, औलो नियन्त्रण, क्षयरोग नियन्त्रण, पोलियो उन्मूलन, हात्तीपाइले रोग निवारण, कुष्ठरोग निवारण,  लगायत बालबालिकालाई नियमित रूपले भिटामिन ‘ए’ खुवाउने जस्ता महत्वपूर्ण कार्यक्रममा आम नागरिकहरूको सक्रिय तथा उल्लेखनीय सहभागिता रहँदै आएको छ । वि.सं. २०४५ देखि नेपालमा सञ्चालित महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम संसारमा नै नमुना कार्यक्रमको रूपमा लिइन्छ । यसै बीचमा औलो, कुष्ठरोग, क्षयरोग, बिफर र परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाहरू लागत प्रभावकारिता र कार्यान्वयन सहजताका दृष्टिकोणले एकीकृत गर्दै लग्ने नीति अपनाई वि.सं. २०४७ सम्ममा यी सबै सेवाहरूलाई एकीकरण गरियो ।

 

राष्ट्रिय स्वास्थ्य नीति, २०४८ ले स्वास्थ्य क्षेत्रमा निजी लगानीलाई पनि प्रवर्द्वन गरेपछि मुलुकमा चिकित्सा विज्ञान अध्ययन संस्थान लगायत निजी स्वास्थ्य संस्थाहरू व्यापक रूपमा  खोलिए । स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको सहभागिता मुख्य रूपले उपचारात्मक सेवा र औषधी उपकरण उत्पादनको क्षेत्रमा  भए तापनि शहर केन्द्रित छ । यस बीचमा सरकारी, गैरसरकारी र दातृ निकायको लगानीलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम-१ (२०६०-२०६५) र नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम-२ (२०६६-२०७१) तर्जूमा गरी कार्यान्वयनमा ल्याइएको छ ।