१. पृष्ठभूमि

१. पृष्ठभूमि

नेपालको अन्तरिम संविधान, २०६३ ले आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । यसै अनुरुप, नेपाल सरकारले सबै नागरिकलाई केही स्वास्थ्य सेवा निःशुल्क उपलव्ध गराउनुका साथै लक्षित वर्गका लागि थप सेवाको व्यवस्था गरेको छ । स्वास्थ्य सेवामा क्रमशः पहुँच बढेको भए पनि सबैलाई समेट्न भने सकिएको छैन र स्वास्थ्योपचारका समयमा घरपरिवारले नै ठूलो मात्रामा खर्च गर्नुपरेको छ । यसरी व्यक्तिले गर्ने खर्च मूलतः औषधि किन्नमा हुने गर्छ । साथै, सरकारको स्वास्थ्य क्षेत्रमा हुने लगानीको विद्यमान व्यवस्थाले स्वास्थ्य सेवा प्रदायकहरूको उत्पादकत्व, गुणस्तर र दक्षता बढाउन उत्प्रेरित गर्न सकेको छैन ।  सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराउन, स्वास्थ्य सेवा उपयोगका क्रममा अनियोजितरूपमा भइरहेको व्यक्तिगत खर्चलाई ब्यवस्थित गर्दै उपलब्ध स्रोतको प्रभावकारी, दक्ष तथा जिम्मेवार व्यवस्थापनका लागि राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । त्रिवर्षीय योजना  (२०१०/११—२०१२/१३) अनुसार राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनको लागि नेपाल सरकारले यो ‘राष्ट्रिय स्वास्थ्य बीमा नीति, २०७१’तयार गरेको हो ।

 

दोस्रो स्वास्थ्य क्षेत्र कार्यक्रम (२०१०—२०१५) अनुरुप राष्ट्रिय स्वास्थ्य बीमा नीतिले न्यूनतम सुविधाबाट   वञ्चित समूहका सदस्यको स्वास्थ्य सेवामा प्रभावकारी पहुँच बढाउने उद्देश्य हासिल गर्न सहयोग पुर्याउनेछ । स्वास्थ्य क्षेत्र सुधारको महत्वपूर्ण कार्यसूचीको रुपमा यस नीतिले  स्वास्थ्य सेवा प्रणालीको सुदृढीकरणबाट जनताको स्वास्थ्य अवस्थामा सुधार गर्ने उद्देश्य  लिएको छ । यो नीति नेपाल सरकारको राष्ट्रिय सामाजिक संरक्षण प्रणाली अनुरूप रहेको छ ।यस अतिरिक्त, तर्जुमा हुँदै गरेको ‘स्वास्थ्य वित्त रणनीतिले नेपालका विभिन्न लगानी संयन्त्रबीचमा अन्तर्सम्बन्धको मार्गनिर्देश गर्नेछ ।