१. पृष्ठभूमि

१. पृष्ठभूमि

शिक्षामा समतामूलक पहुँच अभवृद्वि गर्ने, उच्च शिक्षालाई सिपसँग आबद्व गर्ने र प्राविधिक तथा वैज्ञानिक शिक्षाका अवसरहरु वृद्वि गर्दै लैजानु पर्ने सन्दर्भमा उच्च शिक्षालाई व्यवस्थित गर्दै लैजान सरकारका साथै निजी क्षेत्र, सहकारी, गुठी, स्थानीय निकाय एवम् समुदायलाई समेत उत्तरदायी बनाइ समग्र शैक्षिक प्रकृया तथा कार्यक्रमहरुलाई प्रभावकारी, सान्दर्भिक र गुणस्तरीय बनाउनु पर्ने आवश्यकता छ । उत्कृष्ट शैक्षिक गुणस्तर सुनिश्चित गर्नु हरेक उच्च शिक्षा प्रदायक संस्थाहरुको न्यूनतम दायित्वभित्र पर्दछ । शैक्षिक संस्थाहरु निश्चित मापदण्डमा गुणस्तरयुक्त शिक्षा प्रदान गर्ने उत्कृष्ट प्राज्ञिक थलो हुने स्थापित मान्यता स्वरुप गुणस्तर सुनिश्चितता एवम् प्रत्यायन (Quality Assurance and Accreditation—QAA) प्रणालीको थालनी भएको छ । यस प्रणालीलाई सुदृढ एवम् सबल बनाइ सबै उच्च शिक्षा प्रदायक संस्थाहरुलाई समेट्ने गरी प्रणालीगत विकास गर्ने कार्य अझै बाँक नै छ ।

 

उच्च शिक्षालाई गुणस्तरीय बनाइ समतामूलक पहुँच सुनिश्चित गर्न र आधुनिक ज्ञान, सिप, विज्ञान, कला एवम् प्रविधिमा दक्ष, प्रतिस्पर्धी जनशक्ति तयार गर्न यस तहको शिक्षाको समय सापेक्ष रुपमा विकास र विस्तार गर्नु आवश्यक छ । नेपाल विश्व व्यापार संगठनको सदस्य भएपछि विदेशी उच्च शिक्षा प्रदायक संस्थाहरु तथा तिनका सम्बन्धनमा उच्च शिक्षा संस्थाहरु खुल्ने क्रम बढेकाले यस तहको शैक्षिक व्यवस्थापन थप सुदृढ गर्नु पर्ने     देखिन्छ । हाल सञ्चालनमा रहेका र भविश्यमा खोलिने उच्च शिक्षा प्रदायक संस्थाहरुको विकास, व्यवस्थापन र नियमनका लागि उच्च शिक्षा नीति २०७२ तर्जुमा गरिएको छ ।