परिच्छेद–१ प्रारम्भिक

परिच्छेद–१ प्रारम्भिक

  • संक्षिप्त नाम र प्रारम्भः यस ऐनको नाम (१) “अपराध पीडित संरक्षण ऐन, २०७५” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

  • परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क)   “अदालत” भन्नाले कसूरको कारबाही र किनारा गर्न प्रचलित कानून बमोजिम अधिकार प्राप्त अदालत सम्झनु पर्छ र सो शब्दले कुनै खास किसिमको कसूरको कारबाही र किनारा गर्न कानून बमोजिम अधिकार प्राप्त अन्य न्यायिक निकाय वा अधिकारीलाई समेत जनाउनेछ ।

(ख)   “कसूर” भन्नाले पीडितको मृत्यु भएको वा पीडितले क्षति व्यहोर्नु परेको प्रचलित कानून बमोजिम सरकार वादी हुने फौजदारी कसूर सम्झनु पर्छ ।

(ग)   “कसूरदार” भन्नाले कसूरमा अदालतबाट कसूरदार ठहर भएको व्यक्ति सम्झनु  पर्छ ।

(घ)   “कोष” भन्नाले प्रचलित कानून बमोजिम स्थापना भएको पीडित राहत कोष सम्झनु पर्छ ।

(ङ)   “तोकिएको वा तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

(च)   “द्वितीयस्तरको पीडित” भन्नाले प्रथमस्तरको पीडितको विरुद्धमा भइरहेको वा भएको कसूरमा संलग्न नभएको तर त्यस्तो कसूरको प्रत्यक्षदर्शी साक्षी भएको कारणले क्षति बेहोर्नु परेको व्यक्ति सम्झनु पर्छ र सो शब्दले कसूरमा संलग्न नरहेको तर कसूरको बारेमा जानकारी भएको वा प्रत्यक्षदर्शी साक्षी भएको कारणबाट क्षति व्यहोर्नु परेको प्रथमस्तरको पीडित नाबालिगको संरक्षक र प्रथमस्तरको पीडितको विरुद्धमा भएको कसूरका सम्बन्धमा थाहा पाएको कारणले क्षति बेहोर्नु परेको देहायको व्यक्तिलाई समेत जनाउनेछ :-

(१)   प्रथम स्तरको पीडितको  संरक्षक,

(२)   प्रथम स्तरको पीडित नाबालिग भएमा, र

(३)   त्यस्तो क्षति बेहोर्नु परेको व्यक्ति त्यस्तो कसूरमा संलग्न
नरहेमा ।

(छ)   “नाबालिग” भन्नाले अठार वर्ष उमेर नपुगेको व्यक्ति सम्झनु पर्छ ।

(ज)   “प्रथमस्तरको पीडित” भन्नाले पीडकको उमेर, मानसिक अस्वस्थता, कुटनीतिक उन्मुक्ति वा पदीय आधारले प्राप्त उन्मुक्तिको परिणाम स्वरुप फौजदारी दायित्व बेहोर्नु नपर्ने वा पीडकको पहिचान नखुलेको वा पीडक विरुद्ध अभियोग नलागेको वा कसूरसँग सम्बन्धित मुद्दा फिर्ता भएको वा कसूरदारलाई भएको सजाय माफी भएको वा कसूरदार ठहर नभएको वा पीडितसँग पीडकको जे जस्तो पारिवारिक सम्बन्ध भए पनि पीडित विरुद्ध वारदात भएकोमा कसूरको प्रत्यक्ष परिणाम स्वरुप मृत्यु भएको वा क्षति पुगेको व्यक्ति सम्झनु पर्छ र सो शब्दले कसूरमा संलग्न नरही देहायको कुनै अवस्थामा मृत्यु भएको वा क्षति पुगेको व्यक्तिलाई समेत जनाउनेछ :-

(१)   कसूर गरिरहेको व्यक्तिलाई कसूर गर्नबाट रोक्ने कार्य गर्दा,

(२)   कुनै व्यक्तिको विरुद्धमा कसूर भइरहेको अवस्थामा त्यस्तो व्यक्तिलाई कसूरबाट बचाउने उद्देश्यले मनासिब सहयोग र उद्धार गर्ने कार्य गर्दा,

(३)   कसूर गरिरहेको वा गरेको व्यक्तिलाई पक्राउ गर्न खोज्दा वा शंकास्पद व्यक्ति, अभियुक्त वा कसूरदारलाई पक्राउ गर्ने सिलसिलामा अधिकार प्राप्त अधिकारीलाई सहयोग पुर्‍याउँदा ।

(झ)   “पारिवारिक पीडित” भन्नाले कसूरको प्रत्यक्ष परिणाम स्वरुप मृत्यु भएको प्रथम स्तरको पीडित विरुद्धको कसूरमा संलग्न नरहेको मृतक पीडितको सगोलको आमा, बाबु, पति, पत्नी वा पीडितमा आश्रित एकासगोलको परिवारको अन्य सदस्य सम्झनु पर्छ ।

(ञ)   “पीडित” भन्नाले प्राकृतिक व्यक्तिको रुपमा रहेको प्रथम स्तरको पीडित, द्वितीय स्तरको पीडित र पारिवारिक पीडित सम्झनु पर्छ ।

(ट)   “पीडित संरक्षण सुझाव समिति” भन्नाले दफा ४४ बमोजिमको पीडित संरक्षण सुझाव समिति सम्झनु पर्छ ।

(ठ)   “संरक्षक” भन्नाले प्रचलित कानून बमोजिम कायम भएको वा नियुक्त भएको पीडितको संरक्षक सम्झनु पर्छ ।

(ड)   “क्षति” भन्नाले कसूरको प्रत्यक्ष परिणाम स्वरुप पीडितलाई पुगेको देहायको क्षति सम्झनु पर्छ :–

(१)   शारीरिक अङ्गभङ्ग,

(२)   जबरजस्ती करणीको कारण गर्भ रहेको,

(३)   पीडितको शारीरिक वा मानसिक स्वास्थ्य वा आयु माथि प्रतिकूल प्रभाव पार्ने  चिकित्सा विज्ञानद्वारा मान्यता प्राप्त सरुवा रोग लाग्नु,

(४)   चिकित्सकद्वारा पहिचान गरिएको मानसिक चिन्ता, मानसिक तनाव (इमोसनल ट्रमा) वा क्षति,

(५)   शारीरिक, बौद्धिक, यौन वा प्रजनन क्षमता नष्ट हुनु वा सो क्षमतामाथि गम्भीर क्षति हुनु,

(६)   जबरजस्ती करणीका कारण पीडितको सामाजिक, सांस्कृतिक वा पारिवारिक प्रतिष्ठामा परेको प्रतिकूल प्रभाव,

(७)   मनोवैज्ञानिक वा मनोचिकित्सकीय क्षति,

स्पष्टीकरणः यस उपखण्डको प्रयोजनको लागि “मनोवैज्ञानिक वा मनोचिकित्सकीय क्षति” भन्नाले चिकित्सकीय परीक्षणबाट पहिचान भएको, छोटो समयमा निको वा न्यून नहुने र पीडितको स्वास्थ्यमाथि प्रतिकूल असर पुर्‍याउने प्रभाव सम्झनु पर्छ ।

(८)   आर्थिक वा भौतिक क्षति,

(९)   पीडितको शारीरिक सौन्दर्य कुरुप हुनु ।

  • पीडित नमानिने : (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा कुनै व्यक्तिलाई क्षति पुगेमा वा निजको मृत्यु भएमा त्यसरी क्षति पुगेको वा मृत्यु भएको व्यक्ति वा निजको परिवारको सदस्यलाई यस ऐनको प्रयोजनको लागि पीडित मानिने छैन :-

(क)   प्रचलित कानून बमोजिम निजी रक्षा अन्तर्गत आफ्नो वा अरु कसैको जीउ, ज्यान, सम्पत्ति वा सतित्वको रक्षा गर्ने सिलसिलामा कुनै कार्य गर्दा,

(ख)   अधिकार प्राप्त अधिकारीको आदेश बमोजिम खटिएको वा तैनाथ रहेको सुरक्षाकर्मीले आफ्नो कर्तव्य पालनाको सिलसिलामा प्रचलित कानून बमोजिम कुनै कार्य गर्दा,

(ग)   प्रचलित कानून बमोजिम अनुसन्धान गर्ने अधिकार पाएको अनुसन्धान अधिकारीले आफ्नो अधिकार क्षेत्रभित्र रही अनुसन्धानको सिलसिलामा कुनै कार्य गर्दा,

(घ)   प्रचलित कानून बमोजिम आपराधिक दायित्व बहन गर्नु नपर्ने अवस्थामा भएको कुनै कार्य,

तर पीडकको उमेर, मानसिक अस्वस्थता, कुटनीतिक उन्मुक्ति वा पदीय आधारले प्राप्त उन्मुक्तिको परिणाम स्वरुप पीडकको आपराधिक दायित्व बहन गर्न नपर्ने भएमा पनि यस ऐनको प्रयोजनको लागि त्यस्तो व्यक्तिले कसूर गरेको मानिने र कसूरका कारण सम्बन्धित व्यक्तिलाई पीडित मानिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफामा लेखिएको अवस्थाबाट क्षति पुगेको वा मृत्यु भएको व्यक्तिलाई नेपाल सरकारबाट राहत प्रदान गर्न यस ऐनमा लेखिएको कुनै कुराले बाधा पर्ने छैन ।