भूमिका

भूमिका

१. संयुक्त राष्ट्रसंघले सन् १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणा गरे पश्चात सुस्त्मनःस्थितिका भएका व्यक्तिहरु लागि सन् १९७१ मा र अपाङ्गका भएका व्यक्तिहरुका लागि सन् १९७५ मा मानव अधिकारको प्रत्याभूति हुने दस्तावेजको घोषणा गरको पाइन्छ । नेपालमा वि.सं. २०२१ देखि दृष्टिविहिनहरुका लागि, २०२३ देखि सुस्त श्रवणका लागि र २०२६ देखि शारीरिक अपाङ्गका लागि शिक्षाको थालनी भएको पाइन्छ । वि.सं. २०३० मा विशेष शिक्षाको विकास एवं विस्तार गर्ने उद्देश्यले विशेष शिक्षा परिषद्को गठन भए पश्चात अपाङ्गहरुको शिक्षाको विकासका निमित्त कार्य प्रारम्भ भई यसैताका तत्कालिन सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को पनि गठन लगायत अपाङ्ग तथा निसहाय व्यक्तिहरुको उत्थान तथा विकासको क्षेत्रमा विभिन्न कार्यहरुको थालनी भएको हो ।

२. सन १९८१ मा अन्तराष्ट्रिय अपाङ्ग वर्ष मनाउने क्रममा सर्वप्रथम नेपालमा अपाङ्गको नमूना सर्वेक्षण पनि भयो । यसबाट कुल जनसंख्याको ३ प्रतिशतमा अपाङ्गता रहेको तथ्यांक प्रकासमा आयो । राष्ट्रसंघले अपाङ्गहरुको विकासका लागि कार्य गर्न सन् १९८२ मा अपाङ्ग सम्वन्धी विश्व कार्य योजना (The World Program of Action Concerning Disabled Persons)  र विश्व अपाङ्ग दशक (१९८३-१९९२) मनाउन विभिन्न कार्यक्रमहरु सिफारिस गर्यो । सन् १९८९ को बाल अधिकार सम्वन्धी महासन्धिले अपाङ्गता भएका बालबालिकाको अधिकार, सन् १९९० को जोमटिएन र सन् २००२ को डाकार घोषणाले “सबैका लागि शिक्षा” घोषणापत्र जारी गरेर अपाङ्ग बालबालिका समेतको शिक्षाको अवसरलाई सुनिश्चित गरेको छ ।

३. नेपाल अधिराज्यको संविधान २०४७ को निर्देशक सिद्धान्तमा अपाङ्गको हक हित तथा संरक्षणको प्रत्याभूति गरेको छ भने अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ र नियमावली, २०५१ ले अपाङ्गको विकास र हित संरक्षणको निमित्त विभिन्न प्रावधानहरुको व्यवस्था गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुका निमित्त अवसर समानीकरण सम्वन्धी संयुक्त राष्ट्र संघीय प्रामाणिक नियम १९९३ र एशिया तथा प्रशान्त क्षेत्रका अपाङ्गहरुको दशक १९९३-२००२ ले मुलकमा अपाङ्ग व्यक्तिका निमित्त निरन्तर कार्य गर्न ध्यानाकर्षण गरेको छ । एशिया तथा प्रशान्त क्षेत्रका अपाङ्गहरुको विस्तारित दशक (२००३-२०१२), विवाको सहश्राब्दी कार्य योजना समेतका आधारमा मुलुकमा समयबद्ध राष्ट्रिय नीति तथा कार्ययोजना तयार गरी कार्यान्यवयन गर्नु आवश्यक भएको हुँदा विभिन्न मन्त्रालय र सम्वद्ध निकाय, नागरिक समाज, अपाङ्ग व्यक्ति र यिनका संस्थाहरुको राय, सुझाब समेटी प्रस्तुत अपाङ्ग सम्वन्धी राष्ट्रिय नीति तथा कार्ययोजना २०६३ तयार गरिएको हो ।

४. अपाङ्ग व्यक्तिहरुले प्रजातन्त्रको पुर्नवहाली पश्चात् संघ संस्था खोल्ने र संगठित हुने पर्याप्त अवसर पाए । यसै क्रममा मुलुकमा अपाङ्गहरुका कैयन संघ संस्था खुली कार्यरत छन् । जिल्ला देखि केन्द्रसम्म खुलेका अपाङ्गका संघ संस्थाको प्रतिनिधित्व गर्न, उनीहरुको हक हितका लागि समन्वयात्मक रुपमा संगठित भइ अधिवाचन लगायत नेतृत्व गर्ने उद्देश्यले छाता संस्थाको रुपमा राष्ट्रिय अपाङ्ग महासंघ, नेपाल वि.सं. २०५० मा स्थापित भइ कार्यरत छ । मुलुकमा रहेका अपाङ्ग व्यक्तिहरुका लागि अधिकारमुखी राष्ट्रिय नीति तथा कार्यक्रम तय गरी यस्ता समुदायहरुलाई विकासको मूलधारमा समावेश गर्न गराउन सरकारद्वारा राष्ट्रिय कार्यक्रमहरुको पनि थालनी भयो, तथापी अपाङ्ग व्यक्तिहरुको सहज एवं सम्मानपूर्ण जीवनयापनको आवश्यकता पूरा हुन नसकेको अवस्था विद्यमान छ । यी विषयहरुलाई मध्यनजर राखी अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक समावेशीकरण, आर्थिक एवं सामाजिक सशक्तिकरणका निमित्त प्रस्तुत राष्ट्रिय नीति तथा कार्ययोजनाको तर्जुमा गरिएको हो । कार्य समितिले नेतृत्व तहमा अपाङ्गहरु, अभिभावकहरु, समाजसेवीहरु सरकारी निकाय तथा गैर सरकारी (अपाङ्गसंग सम्वन्धित) संस्थाहरु, विशेषज्ञहरुको सहभागितामा पटक पटक संचालित छलफल, गोष्ठिबाट प्राप्त पृष्ठपोषणलाई महत्वपूर्ण सुझाव र मार्ग दर्शनको रुपमा ग्रहण गरेको छ ।

५. कार्ययोजनाले तोकेको सत्रवटा प्राथमिकताका विषय क्षेत्र प्रत्येकमा पृष्ठभूमी, वर्तमान अवस्था, मुद्दाहरु, उद्देश्य, नीति, रणनीति क्रियाकलापहरुको कार्यान्वयन गर्ने जिम्मेवारी निकाय संस्था, समन्वय, कार्यान्वयन अवधि, अनुगमन सूचक आदि उल्लेख छन् । राष्ट्रिय नीति तथा कार्ययोजनाले अपाङ्गता भएका व्यक्तिहरुका लागि समावेशी, अवरोधमुक्त र अधिकारमा आधारित समाजको स्थापना गर्दै राष्ट्रिय विकासको मूल धारमा समाहित गर्ने दीर्घकालीन लक्ष्य लिएको छ । यस अनुरुपका कार्यहरु निरन्तर एवं समन्वयात्मक रुपमा कार्यान्वयन हुँदा अपाङ्गता भएका व्यक्तिहरुको जीवन निश्चय नै सहज र सम्मानित हुने विश्वास लिएको  छ ।

६. कार्ययोजना निर्माण गर्ने क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष स्व. मुनिश्वर पाण्डे, वर्तमान अध्यक्ष श्री वीरेन्द्रराज पोखरले , श्री माधवप्रसाद अर्याल र श्री राजेन्द्र कार्कीले पुर्याउनुभएको योगदान, राष्ट्रिय नीति तथा कार्ययोजना तर्जुमा प्रक्रियामा संलग्न भई महत्वपूर्ण योगदान पुर्याउने निर्देशक समिति, कार्य समिति र विषयगत समूह लगायत सम्पूर्ण निकाय, संस्था तथा महानुभावहरुलाई समिति धन्यवाद ज्ञापन गर्दछु ।

 

अध्यक्ष

अपाङ्ग सम्वन्धी राष्ट्रिय नीति तथा कार्य योजना, २०६३

तर्जुमा कार्य समिति