सार संक्षेप

सार संक्षेप

क.    अपाङ्गका भएका व्यक्तिहरुको हक अधिकारका लागि पारित अन्तर्राष्ट्रिय, क्षेत्रीय सन्धि, घोषणा मुलुकले प्रतिवद्धता अनुरुप अनुसरण, सम्पादन गर्नु पर्ने राष्ट्रिय दायित्व हुन्छ । नेपालले अपाङ्गताको क्षेत्रमा पारित सन्धि, महासन्धिमामा हस्ताक्षर गरेको भएपनि अपाङ्गको हक अधिकारको स्थापना र विकासमा अपेक्षित उपलब्धी हनु नसकिरहेको अवस्था विद्यमान छ । यसै सन्दर्भलाई दृष्टिगत गरी अपाङ्गता भएका व्यक्तिहरुका लागि शिक्षा, स्वास्थ्य, तालिम, रोजगार, पुनस्र्थापना लगायत सार्वजनिक स्थल, सेवा र संचारमा पहुँच स्थापित गरिनु आवश्यक रहेको छ । अपाङ्गप्रति विभेदपूर्ण जनिने कानूनमा संशोधन गरी यस्ता समुदायको हक अधिकारको संरक्षण गर्दै सम्मानपूर्ण सामाजिक पुनस्थार्पना गरिनु आवश्यक भएको छ । यसै परिप्रेक्ष्यमा अपाङ्ग सम्वन्धी राष्ट्रिय नीति तथा कार्ययोजना – २०६३ तयार गरिएको हो ।

ख.    निर्देशक समितले सिफारिश गरेका कार्यनीति, रणनीति एवं कार्ययोजना सम्वन्धी मुख्य मुख्य वुंदाहरु सहितको सार संक्षेप देहाय बमोजिम रहेकाछन् :

(१)   अपाङ्गको हक अधिकार र सुरक्षाको प्रत्याभूति गर्न मौजुदा “अपाङ्ग सेवा राष्ट्रिय समन्वय समिति” को भूमिकालाई प्रभावकारी बनाइने छ । समन्वय समितिलाई स्वायत्त, अधिकार सम्पन्न तुल्याउन समितिको सदस्यता अपाङ्गहरु, यिनका संस्थाहरुको उपयुक्त संख्यामा प्रतिनिधित्व गराइने छ । समितिलाई सुदृढ बनाई यसको परामर्श, समन्वय र अनुगमन, मूल्याङ्कनको भूमिकालाई प्रभावकारी तुल्याईने छ ।

अपाङ्गको मानव अधिकार, आधारभूत सेवा र कार्यक्रम लगायत नीतिगत सरोकारका विषयका लागि राष्ट्रिय अपाङ्ग आयोग गठन गर्ने दीर्घकालीन सोचँ रहेको छ । सरकारी, गैरसरकारी संस्था लगायत अपाङ्गहरुका लागि संचालित सम्पूर्ण कार्यक्रमको अनुगमन र मूल्याङ्कन अपाङ्ग सेवा राष्ट्रिय समन्वय समितिबाट समेत गरिनेछ ।

(२)   अन्तरराष्ट्रिय मान्यता र अभ्यास अनुसार अपाङ्गताको परिभाषा र वर्गीकरण पुनरावलोकन गरिने छ । अपाङ्गहरुप्रति विभेद जनिने ऐन, नियमलाई समसामयिक र अपाङ्गता अनुकूल हुने गरी संशोधन गरिने छ ।

(३)   राष्ट्रियस्तरमा अपाङ्गता सम्वन्धी विषयको सूचना आदान प्रदान तथा अनुसन्धान गर्न एक केन्द्र स्थापना गरी अपाङ्गता विषयमा व्यवस्थित सूचना प्रणालीको विकास लगायत सूचनामा उनीहरुको सहज पहुंच स्थापित गर्ने संयन्त्रको विकास गरिने छ । अपाङ्गहरुको आवधिक तथ्याङ्क संकलन गरिनेछ ।

(४)   परिवार र समुदायमा अपाङ्ग प्रति सकारात्मक धारणा अभिबृद्धिका लागि समन्वयात्मक ढंगले सरकारी, गैर सरकारी र निजी क्षेत्र समेतको सहयोगमा राष्ट्रिय अभियानकै रुपमा जनचेतनामूलक लक्षित कार्यक्रम संचालन गरिने छ । कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि अपाङ्गहरुका स्वयंसेवी संस्थाको सुदृढीकरण एवं संस्थागत विकास गरिने छ ।

(५)   हाल मुलुकमा सरकारी, गैर सरकारी र निजी क्षेत्रमा अपाङ्ग व्यक्तिको न्यून रोजगारीको विद्यमान स्थितिमा सुधार ल्याउन सरकारी निकाय र गैर सरकारी संघ संस्थाहरुमा अपाङ्गहरुका निमित्त तालिम र रोजगारको सुनिश्चि गर्न सकारात्मक विभेदको नीति लिईने छ । रोजगारीको लागि सरकारी गैर सरकारी तथा निजी क्षेत्र लगायतका हरेक क्षेत्रमा ५ प्रतिशत र तालिमको लागि दश प्रतिशत कोटा आरक्षणका गरिने कानूनी व्यवस्था प्रभावकारी बनाइने छ । अपाङ्गहरुको व्यावसायिक प्रवद्र्धनका निमित्त व्यावसायिक एवं सीपमूलक तालीम लगायत सहज लघुऋणको प्रवाह गरी उद्यमशीलता एवं स्वावलम्विपनाका लागि कार्य गरिनेछ ।

(६)   अपाङ्गको पहुंचलाई सुगम र सरल तुल्याउन सावर्ज निक महत्वका भौतिक (ठूला भवन, चलचित्र हल, बैंक , विद्यालय, अस्पताल, कार्यालय, सडकपेटी ट्राफिक चिन्ह, बस आदि) निर्माणकोलागि नक्सांकन गर्दा, स्वीकृति दिदां अपाङ्गहरुको सहज पहूँच/अपाङ्ग मैत्री (Disabled Friendly) हुने किसिमले निर्माण मापदण्ड नीति अवलम्बन गरिने छ ।

(७)   अपाङ्गता भएका व्यक्ति र सहयोगीलाई सार्वजनिक यातायात साधनहरुमा हाल भैरहेको भाडा निःशुल्क, छुट र स्थान सुरक्षाको नीतिलाई कार्यान्वयन गरिने छ ।

(८)   अपाङ्गका प्रकृति अनुरुप सरकारी र निजी क्षेत्रका संचार माध्यम (रेडियो, टेलिभिजन, छापा र इन्टरनेट) वाट अपाङ्गलाई सूचना दिने लगायत जनचेतना अभिवृद्धि गर्न अपाङ्गता सम्वन्धी विषयमा जनचेतनामूलक कार्यक्रम संचालन गरिने छ । दृष्टिविहिन र वहिराहरुको संचारका लागि सांकेतिक भाषा एवं ब्रेललिपीको विकास गर्दै यसलाई कानूनी मान्यता प्रदान गरिने छ ।

(९)   अपाङ्ग वालवालिकाहरुका लागि सुलभ र अपाङ्गता अनुकुल हुने गरी शिक्षा प्रदान गरिने छ । अपाङ्गलाई पूर्व प्राथमिक तहदेखि उच्च तह सम्म गुणस्तरयुक्त निःशुल्क शिक्षा प्रदान गर्ने लिइने छ । यस्ता बालबालिकाहरुका लागि प्रत्येक जिल्लामा क्रमशः आवाशिय सुविधा सहितको माध्यमिक विद्यालय एकृकित, समाहित वा विशेष) पूर्वाधार तयार गरिने छ । पाठ्यपुस्तकहरुलाई पुनरावलोकन गरी अपाङ्गता भएका व्यक्तिहरु प्रति सकारात्मक धारणा विकास गराउने किसिमका विषयवस्तुलाई समावेश गरिने छ ।

(१०) अपाङ्ग व्यक्तिको शारीरिक, मानसिक, बौद्धिक र सामाजिक विकासको लागि खेलकूद, सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरु संचालन गरिने छ । अपाङ्गताको विषयका निमित्त आवश्यक सबै प्रकारको जनशक्ति विकास गरिने छ ।

(११) अपाङ्गपन हुने कारणबारे जनचेतना जगाउने, अपाङ्गपन न्यूनीकरणका वा हुनै नदिन उपाय गरिने छ । अपाङ्गपनको पूर्व पहिचान गर्न र अपाङ्गहरु समेतको सहभागितामा विशेष कार्यक्रम संचालन गरिने छ । विभिन्न प्रकारका खोपहरु, भिटामि-ए, आइरन चक्की र आयोडिनयुक्त नून सर्वसुलभ तरिकाले वितरण गर्ने कार्यक्रम निरन्तर रुपमा संचालन गरिने छ ।

(१२)  आपाङ्गको स्वास्थ्योपचारको अधिकार सुनिश्चित गर्न वर्तमान ऐन नियममा संशोधन गरी सबै सरकारी अस्पताल एवं स्वास्थ्य केन्द्रमा निःशुल्क आधारभूत स्वस्थ्योपचारको व्यवस्था गरिने छ । केन्द्रीय, क्षेत्रीय र जिल्लास्तरका अस्पतालमा अपाङ्गलाई छुट्टै शैयाको व्यवस्था गरी सेवा प्रदान गरिने छ । निःशुल्क उपचार र स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य नीति, कार्यक्रम तयारी एवं बजेट सम्बन्धि विशेष व्यवस्था गरिने छ । नीजि एवं संस्थागत स्वास्थ्य केन्द्र, नर्सिङ्ग होममा अपाङ्ग व्यक्तिहरुका लागि सहुलियतमा स्वास्थोपचार प्रवन्ध गर्न गराउनका लागि नितीगत व्यवस्था लगायत उपयुक्त श्रोत साधनको प्रवन्ध गरिनेछ ।

(१३) अपाङ्गहरुको लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रमको विस्तार गरिनेछ । यस सम्बन्धी जनशक्तिको विकास एवं विस्तार गर्ने नीति लिइने छ । अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ र नियमावली २०५१ संशोधन गरी अपाङ्गहरुको सशक्तीकरणका लागि मेसिन, औजार एवं संरचना विकासका लागि सहुलियत दरमा ऋण उपलब्ध गराई प्राविधिक तथा व्यवसायिक तालिमको व्यवस्था गरिने छ । सशक्तिकरण (सामाजिक, आर्थिक र राजनैतिक) को उपयुक्त कार्यक्रम तय गरी प्रभावकारी कार्यान्वयन गरिने छ । अपाङ्गको सामाजिक सुरक्षा र आर्थिक सम्वद्धर्न का लागि राष्ट्रियस्तरमा एक अपाङ्ग संरक्षरण कोष स्थापना गरिनेछ ।

(१४) सहायक सामाग्री स्थानिय श्रोत साधनको उपयोग गरी निर्माण गरिने र यस विषयमा सुधार, अनुसंन्धान गर्न उपयुक्त संयन्त्रको विकास गरिने छ । अपाङ्गका लागि आबश्यक पर्ने सहायक साधन निःशुल्क उत्पादन र वितरण गर्ने व्यवस्था गरिने छ । सम्बन्ध अस्पतालहरुमा अर्थोपेडिक वर्कशप स्थापना गरिने छ । सहायक सामाग्री उत्पादन एवं वितरण गर्ने पाँच विकास क्षेत्रका यस्ता संस्थाहरुको सुढृदीकरणका लागि कार्यक्रम संचालन गरिने छ ।

(१५) अपाङ्गका स्वावलम्वी संस्थाहरुको संस्थागत विकास र सुदृढीकरण गरिने छ । केन्द्रदेखि स्थानीय तहसम्मका विकास योजना, कार्यक्रम कार्यान्वयन एवं अनुगमन मूल्यांकनमा स्वावलम्वी संस्थाहरुलाई सहभागी गराइने छ । स्वावलम्वी संस्थाहरुको क्षमता विकास हेतु कार्यक्रम संचालनका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, नागरिक समाजलाई परिचालन गरिनेछ ।

(१६) अपाङ्ग महिला र वालिकाको विकासका लागि विशेष कार्यक्रम संचालन गरिनेछ । अपाङ्ग महिला र बालिकाहरुलाई लैङ्गिक समताको मूल प्रवाहिकरणमा समाहित गर्ने गरी लक्षित कार्यक्रम संचालन गरिने छ ।

(१७) अपाङ्गपन निरोध, न्यूनीकरण, उपचार लगायत सशक्तिकरणका लागि अन्तर्राष्ट्रिय र क्षेत्रीय सहयोग विस्तार र संवर्धन गर्ने नीति लिईने छ । अन्तराष्ट्रिय संस्थाहरुका कार्यक्रममा आवश्यकतानुसार अपाङ्गहरुलाई पनि समावेश गरिने छ ।

(ग)   यी माथिका प्रावधानहरु अपाङ्ग व्यक्तिका मानव अधिकारको सुनिश्चिता, सामाजिक समावेशीकरण सम्मानपूर्ण पुनर्स्थापना र सेवाहरुको विस्तारका लागि आधारभूत तत्वका रुपमा लिइएको छ । यसकोसफल कार्यान्वयनबाट हाल विद्यमान अवस्थाकोसहज रुपमा समाधान हुने विश्वास गरिएको छ । मुलुकको नवौं र दशौं पञ्चवर्षीय योजनाले परिलक्षित गरेको “गरीवि निवारण” को लक्ष्य हासिल गर्नका लागि पनि अपाङ्गलाई शिक्षा, स्वास्थ्य, तालिम, रोजगार, पुनर्स्थापना, आधारभूत सेवा र अवसर उपलब्ध गराउन नितान्त आवश्यक छ । यसर्थ मुलुकले अपाङ्गताका क्षेत्रमा पारित अन्तर्राष्ट्रिय र क्षेत्रीय सन्धि र महासन्धि, अन्तर्राष्ट्रिय घोषणा, प्रतिवद्धता जनाए अनुरुपका कार्य गर्दै जान प्राथमिकता कायम गर्नु जरुरी ठानिएको छ । यसका लागि मुलुकको आवश्यकता र अनुकूलतालाई मध्यनजर राखी दीर्घकालिन योजना एवं अन्तर्राष्ट्रिय सहयोगको माध्यमबाट उचित निकास लिन सकिने विश्वास गर्न सकिन्छ ।