१. पृष्ठभूमी

१. पृष्ठभूमी

समाजको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका लागि गरिएको अनवरत प्रयत्नलाई थप बल पुर्याउन वौद्धिक सम्पत्तिको अवधारणा आएको हो । स्रष्टा र सिर्जना अनि ज्ञान, सीप र दक्षताको माध्यमबाट आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा पुगेको अतुलनीय योगदानको कदर गर्दै स्रस्टा र समाजबीच सन्तुलित प्रणाली विकास गर्न बौद्धिक सम्पत्ति अधिकारको आवश्यकता महशुस भएको हो । विश्वको आर्थिक तथा सामाजिक विकासमा वौद्धिक सम्पत्तिको भूमिका अतुलनीय रहिआएको छ । विज्ञान–प्रविधि, कला साहित्य संस्कृति, प्राकृतिक–जैविक विविधता जन्य श्रोेतसँग सम्बद्ध विकासमा समेत वौद्धिक सम्पत्ति अधिकारले महत्वपूर्ण योगदान पुर्याएको छ ।

नेपालमा पनि ज्ञान, सीप र दक्षताको प्रवद्र्धन गर्दै उद्योग व्यवसायमैत्री वातावरण सिर्जना, विदेशी लगानी अभिवृद्धि, रोजगारीका अवसरहरुको सिर्जना र प्रविधि हस्तान्तरणको माध्यमबाट आर्थिक, सामाजिक रुपान्तरण गर्नका लागि वौद्धिक सम्पत्तिको विकास, संरक्षण र कार्यान्वयन गर्न प्रभावकारी नीतिगत, कानूनी, संस्थागत र प्रक्रियागत व्यवस्था गर्नु अपरिहार्य हुदै गएको छ । राष्ट्रिय हित र स्रस्टाहरुको अधिकारलाई संरक्षण गर्दै द्विपक्षीय, क्षेत्रीय, बहुपक्षीय र अन्तराष्ट्रिय सन्धि सम्झौताको पालनाको लागि वौद्धिक सम्पत्ति सम्बन्धी नीत तथा कानुनहरु अद्यावधिक गर्नुपर्ने हुँदा नेपालले वौद्धिक सम्पत्तिको अवधारणालाइ संवैधानिक रुपमै अंगीकार गरेको छ । यसैअनुरुप वौद्धिक सम्पत्तिलाई राष्ट्रिय प्राथमिकतामा राखी मुलुकको समग्र विकास नीतिको अभिन्न अंगको रुपमा यो राष्ट्रिय वौद्धिक सम्पत्ति नीति तर्जुमा गरिएको छ ।