१.    पृष्ठभूमि

१.    पृष्ठभूमि

१.१.   भू-धरातलको झण्डै ४० प्रतिशत भू-भागमा फैलिएको वन क्षेत्र नेपालको सबैभन्दा ठूलो प्राकृतिक सम्पदा हो । वन क्षेत्र कृषि, उर्जा, स्वच्छ पानी र औद्योगिक कच्चा पदार्थको स्रोत हो । जैविक विविधताको प्रचूर भण्डार वन क्षेत्र नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो । वन क्षेत्र बहुसंख्यक जनताको आय आर्जन र जीविकाको प्रमुख स्रोत हो । करिब ७० प्रतिशत इन्धन, झण्डै ४० प्रतिशत पशु आहारा र अन्य वातावरणीय सेवा वन क्षेत्रबाट उपलव्ध हुँदै आएको छ । वन क्षेत्रको गतिविधिबाट वर्षेनी प्रशस्त मात्रामा राजस्व प्राप्त भइरहेको छ ।

१.२.     नेपालको समुदायमा आधारित वन, संरक्षित क्षेत्र, भू-परिधि स्तरको वन  व्यवस्थापनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका छन् । झण्डै १८   हजार सामुदायिक समूहद्वारा व्यवस्थित १७ लाख हेक्टर वनबाट २२ लाख घरधुरी      लाभान्वित छन् । करिब ७ हजार वटा कबुलियती वन समूहबाट ४२ हजार हेक्टर   वनमार्फत गरिबीको रेखामुनी रहेका ७५ हजार घरधुरीको जीविकोपार्जनमा सहयोग  पुगेको छ । तराईको ५४ हजार हेक्टर साझेदारी वनबाट ६ लाख घरधुरी लाभान्वित  छन् । जैविक विविधता संरक्षणको लागि ३४ हजार वर्ग किलोमिटर क्षेत्र छुट्याइएको  छ । मध्यवर्ती क्षेत्रको व्यवस्थापनबाट करिब ६ लाख २७ हजार स्थानीय बासिन्दा लाभान्वित छन् ।

१.३.     नवीकरणीय वन स्रोतको दिगो व्यवस्थापनको लागि वन सम्बर्द्धन प्रणालीलाई कार्यान्वयन गरिएको छ । बाघ,गैंडा, हात्ती, अर्ना, हिउँ चितुवा जस्ता दुर्लभ वन्यजन्तुको संख्या बढाउने कार्यक्रम संचालित छन् । सिमसारको संरक्षणमा जोड दिइएको छ । करिब २ हजार उप-जलाधारमा संरक्षणको कार्य भईरहेको छ । वातावरण संरक्षण क्षेत्र घोषित चुरेमा संरक्षणका बहुपक्षीय गतिविधि अगाडि बढाइएको छ । संरक्षण अभियान अगाडि बढाउन २०७१/८० लाई ‘वन दशक’ घोषणा गरिएको छ । जडीबुटी र अन्य गैरकाष्ठ वन पैदावारको संरक्षण, उत्पादन र प्रशोधनमा जोड दिइएको छ । वनस्पतिको पहिचान र आनुवंशिक स्रोत संरक्षणको कार्य भइरहेको छ । वातावरणीय सेवा शुल्क आरम्भ भएको छ । पहाडी भू-भागमा जलवायु अनुकूलनका गतिविधिहरु सञ्चालित छन् । कार्वन व्यापारमा नेपाल संलग्न हुने अवस्था सिर्जना भएको छ ।