१.  पृष्ठभूमि

 १.  पृष्ठभूमि

१.१   संस्कृतिको अर्थ

विवेकशील मानव जातिले आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी निर्माण वा रचना गरेका यावत सिर्जना अनुरूपको जीवनशैली नै मानव संस्कृति हो । मानवले निर्माण वा रचना गरेका सिर्जनाहरू भौतिक र अभौतिक गरी दुई किसिमका हुन्छन् । दुवै किसिमका सिर्जनाहरूलाई संस्कृतिका रूपमा सम्बोधन गर्ने गरिन्छ ।

कुनै दर्शन वा चिन्तनका अनुयायीहरूले सो दर्शन वा चिन्तन अनुरूप सिर्जना तथा अवलम्वन गरेका कुराहरूलाई ततत्त् दर्शन एवं चिन्तन नै संस्कृतिको रूपमा उल्लेख गर्ने प्रचलन      छ । उदाहरणको रूपमा हिन्दू संस्कृति, बौद्ध संस्कृति, ईस्लाम संस्कृति आदि।

कुनै भौगोलिक क्षेत्रमा बसोबास गर्ने मानव समूदाय वा समूदायहरूले सिर्जना तथा अवलम्वन गरेका संस्कृतिलाई त्यसै क्षेत्रको नामबाट सम्बोधन गर्ने गरिएको पाइन्छ । उदाहरण स्वरूप पृथ्वीको पश्चिमी भागमा बसोबास गर्ने मानव समूदाय वा समूदायहरूको संस्कृतिलाई पश्चिमा वा पाश्चात्य संस्कृति भनिन्छ भने पृथ्वीको पूर्वी भू÷भागमा बसोबास गर्ने मानव समूदाय वा समूदायहरूको संस्कृतिलाई पूर्वीय संस्कृति भन्ने प्रचलन छ । त्यसैगरी नेपालको कर्णाली प्रदेशमा बसोबास गर्ने मानव समूदायहरूको संस्कृतिलाई कर्णाली संस्कृति, डोटी प्रदेशका बासिन्दाको संस्कृतिलाई डोटेली संस्कृति, मिथिला क्षेत्रको संस्कृतिलाई मिथिला संस्कृति, भन्ने प्रचलन पनि रहिआएको छ । त्यसैगरी कुनै देश वा राज्यको राजनीतिक सीमानाभित्र बसोबास गर्ने मानव समूदाय वा समूदायहरूको संस्कृति वा संस्कृतिहरूलाई तत्तत् देशको नामबाट पनि सम्बोधन गर्नेगरिन्छ जस्तै नेपाली संस्कृति, भारतीय संस्कृति, चिनियाँ संस्कृति, फ्रान्सेली संस्कृति आदि ।

जाति वा समूदायविशेषका मानिसहरूको संस्कृतिलाई तत्तत् जाति वा समूदायको संस्कृतिको रूपमा चिनिन्छ । उदाहरणको रूपमा नेवार संस्कृति, गुरूङ्ग संस्कृति, खस संस्कृति, चेपाङ्ग संस्कृति, थारू संस्कृति, धिमाल संस्कृति, रार्इ  संस्कृति, लिम्बू संस्कृति आदि ।

मानव संस्कृतिको विकासक्रमको विभिन्न कालखण्डमा मानिसले सिर्जना र अवलम्वन गरेका संस्कृतिहरूलाई तत्तत् युग एवं कालखण्डका आधारमा सम्बोधन गर्ने प्रचलन पनि रहिआएको छ । पाषाण औजारहरू निर्माण र प्रयोग गर्ने गरेको युगको संस्कृतिलाई पाषाणयुगीय संस्कृति भनिन्छ । ऐतिहासिक युगको विभिन्न कालखण्डका आधारमा पनि सांस्कृतिक वर्गीकरण गर्ने प्रचलन छ । नेपालको सन्दर्भमा किराँतकालीन संस्कृति, लिच्छविकालीन संस्कृति, मल्लकालीन संस्कृति, प्राचीन संस्कृति, मध्यकालीन संस्कृति, अवार्चीन संस्कृति भन्ने प्रचलनलाई उदाहरणका रूपमा लिन सकिन्छ ।

१.२   नेपालमा मानव बसोबास र सांस्कृतिक विकासको इतिहास

आजभन्दा दुई अढाई लाख वर्ष अघिको प्रारम्भिक मानवसमूदायले नै नेपालमा सर्वप्रथम बसोबास गरेको थियो भन्ने करुा दाङ्ग उपत्यकामा प्राप्त पूर्वपाषाण औजारहरूले प्रमाणित गरेका छन् । आधुनिक मानवसमूदायले पनि आजभन्दा ८/९ हजार वर्ष पहिले त्यसै क्षेत्रमा बसोबास गरेको कुरा दाङ्गदेउखुरी उपत्यकाबाट प्राप्त मध्यपाषाण औजारहरूले पुष्टि गरेका छन् ।

कपिलवस्तु क्षेत्रमा भएका पुरातात्विक उत्खनन्बाट प्राप्त विभिन्न सामग्रीहरू र कैलालीबाट प्राप्त तामाको मानवाकृतिबाट यस क्षेत्रमा ईशापूर्व प्रथम सहस्राब्दीको प्रारम्भिक चरणतिरै मानव बसोबासहरू रहेका थिए भन्ने पुष्टी हुन्छ । त्यसैगरी मुस्ताङ्गका कतिपय गुफाहरूमा ईशापूर्व आठौं शताब्दीतिरै मानवजातिले बसोबास गरेको पाइएको छ ।

ईशाको प्रारम्भिक शताब्दीतिर नेपाल उपत्यकामा किराँतहरू पछि लिच्छवीहरूले शासन आफ्नो हातमा लिए । लिच्छवीकालीन नेपाल पूर्व कोशी प्रदेश र पश्चिममा कर्णाली प्रश्रवणक्षेत्रसम्म फैलिएको थियो ।

ईशापूर्व दोश्रो सहस्राब्दीको मध्येतिर कपिलवस्तुमा शाक्यहरूको र सोही सहस्राब्दीको अन्त्यतिर जनकपुरमा विदेह जनकको तथा ईशापूर्व प्रथम सहस्राब्दीको प्रारम्भतिर काठमाडौं उपत्यकामा गोपाल, महिषपाल, किराँतहरूको राज्य विकास भईसकेको कुराहरूको उल्लेख पौराणिक साहित्यहरूमा पाइन्छ । ईशाको पहिलो शताब्दीको आसपासतिर झापा, मोरङ्ग र सुनसरीतिर पनि मानव बसोबास रहेका करुा किचकवध, भेडियारीको उत्खनन र बराहक्षेत्रका प्राचीन अवशेषहरूबाट ज्ञात हुन्छ ।

आठौं शताब्दीतिर तिव्वतका कतिपय मानिसहरू नेपालमा शरण लिन आईपुगे । उनीहरूमध्ये केही नेपालको मध्यपहाडी भू–भागमा आएर बसोबास गर्न थाले । ईशाको नवौं शताब्दीतिर पश्चिमको कर्णाली क्षेत्रमा शक्तिशाली खसराज्यको स्थापना भयो । एघारौं शताब्दीतिर सिमरौनगढमा कर्णाटकहरूको शक्तिशाली राज्य स्थापना भयो । बाह्रौं तेह्रौं शताब्दीतिर वर्तमान नेपालका धेरैजसो भ–ूभागमा मानव बसोबास भइसकेको देखिन्छ । यसै समयतिर भारतको नालन्दा, विक्रमशिला आदि विहारहरूमा भएको मुस्लिम आक्रमणका कारण ती ठाउँहरूबाट पनि थुप्रै मानिसहरू आफ्ना सांस्कृतिक सम्पदाहरू सहित नेपालमा शरण लिन आईपुगे । चौधौ शताब्दीतिर मुस्लिम आक्रमणका कारण सिमरौनगढका कर्णाटकवंशी राजपरिवार र उनका थुप्रै समर्थकहरू नेपाल उपत्यका र आसपास क्षेत्रमा प्रवेश गरे । यस प्रकार विभिन्न समयमा विभिन्न ठाउँका विभिन्नसमूदायका मानिसहरू नेपालमा आई बसोबास गर्न थालेको देखिन्छ ।

पन्ध्रौं शताब्दीतिर जुम्लाको शक्तिशाली खस साम्राज्य विखण्डन भएर हिमालपारिको भू–भाग तिव्वतमा र महाकाली पारिका भू–भाग भारतको कुमाउ गढवालमा गाभियो भने बाँकी भू–भागमा वाइसे राज्यहरूको उदय भयो । गण्डकी क्षेत्रमा पनि विभिन्न चौविसे राज्यहरूको उदय भयो भने चौविसे राज्यहरूमध्ये पाल्पाको सेन राज्य निकै ठूलो र शक्तिशाली         थियो । यो पनि टुक्रिएर मकवानपुरमा अर्को सेन राज्य स्थापना भयो । काठमाडौं उपत्यका र त्यस उत्तरका केही भू–भाग बाहेक त्रिशूली पूर्वका सबै भू–भाग मकवानपुर अन्तर्गत कायम भए । सत्रौं शताब्दीतिर यो मकवानपुर राज्य चौदण्डी र विजयपुर राज्यहरूमा विभाजित भयो । नेपाल उपत्यका लगायत सबै बाईसे, चौबिसे र सेन राज्यहरूलाई एकीकरण गरेर अठारौं शताब्दीमा आधुनिक नेपालको निर्माण भयो ।

मानव आवादीको यो लामो सिलसिला पार गर्दै आजको विन्दूमा आईपुग्दा हामी १०३ भन्दा बढी विभिन्न जाति र ९२ भन्दा बढी भाषा–भाषीहरू नेपाली पहिचानमा बसोबास गरिरहेका छौं । हामी सबै जातजाति र समूदायहरूको आ–आफ्नै इतिहास र संस्कृति रहिआएको छ ।

१.३  नेपाली राष्ट्रिय संस्कृतिको परिभाषा

माथि मानवसंस्कृति र त्यसका विभिन्न नामाकरणहरू (१.१) का साथै नेपालमा मानव बसोबासको संक्षिप्त इतिहास (१.२) प्रस्तुत गरियो । जसका आधारमा नेपाली राष्ट्रिय संस्कृतिको परिभाषा निम्नानुसार गर्नु उपयुक्त हुने देखिन्छ ।

वर्तमान नेपालको सीमाभित्र इतिहासको विभिन्न कालखण्डमा बसोबास गरेका विभिन्न मानवसमूदाय वा मानवसमूदायहरूले सिर्जना गरेर छाडेका र हाल बसोबास गरिरहेका हाम्रा विभिन्न जाति एवं समूदायका पूर्खाहरूलसिर्जना र अवलम्वन गरी हामीलाई जिम्मा लाएर गएका भौतिक अभौतिक सम्पदाहरू र त्यस अनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति हो ।