१.   पृष्ठभूमी

१.   पृष्ठभूमी

आदिमकाल देखि नेपालमा स्थानीय एपिस फ्लोरिया, एपिस डोर्साटा, एपिस लेबोरियोसा, एपिस सेराना जातका मह उत्पादक मौरीहरुको बासस्थान रहि आएको छ । मौरी प्रकृतिको अनुपम वरदान हो । यसले प्रकृति दोहन गरी सुपाच्य खाद्यवस्तुको रुपमा मौरीजन्य वस्तु उत्पादन गर्दछ । मौरीबाट मानिसहरुले मह, कुट, शाहीखुराक, प्रपोलिस, मौरी विष प्राप्त गर्न सकिन्छ । मौरी सुसभ्य सामाजिक जीवनशैलीको एक अनुकरणीय प्रतिक बनेको छ । मौरीले परागसेचन सेवाबाट खेतीबालीको उत्पादकत्व र जैविक विविधताको प्रवर्द्धनमा पनि अहम भूमिका निभाउँछ । केही दशक यता विदेशबाट ल्याइएको यूरोपेली मौरी एपिस मेलिफेराको व्यावसायिक पालन गरिदै आएको छ । यहाँ जैविक विविधताको सुनिश्चितताको लागि तथा परासेचित बालीहरुमा उत्पादकत्व वृद्धि गराउन मौरीको योगदान अपरिहार्य रहेतापनि परागसेचनको लागि अति महत्वपूर्ण मानिएको स्थानीय जंगली मौरीहरुको घट्दो संख्या र घरपाला एपिस सेरानाको र एपिस मेलिफेराको कमजोर गोला व्यवस्थापनका कारण दिनानुदिन पर्यावरणीय सेवा (परागसेचन) र मह उत्पादन दुवैमा नकारात्मक प्रभाव पर्न थालेको छ । यसको लागि नीतिगत व्यवस्था गरि मह उत्पादनमा वृद्धि र पर्यावरणीय सेवामा अभिवृद्धि गर्न मौरीको विकास तथा प्रवर्द्धन गर्नु आजको आवश्यकता रहिआएको छ । यसै अनुरुप मौरीपालन व्यवसायलाई दिशानिर्देश गर्न राष्ट्रिय कृषि नीति २०६१, कृषि व्यवसाय प्रवर्द्धन नीति २०६८, कृषि जैविक विविधता नीति २०७० र कृषि विकास रणनीति २०७२ लाई समेत आधार बनाई मौरी प्रवर्द्धन नीति २०७३ लागु भएको छ ।