८.   मौरी प्रवर्द्धन नीतिहरु

८.   मौरी प्रवर्द्धन नीतिहरु

उल्लेखित नीतिहरु संबोधन गर्न देहाय देहाय बमोजिम मौरी प्रवर्द्धन नीति र कार्यनीति निर्माण गरिएको छ :

उद्देश्य ७.१ सँग सम्बन्धित  नीति र कार्यनीति

     ८.१ प्रजातिगत व्यवस्थापन

८.१.१ एपिस मेलिफेरा प्रजातीय छनोट गर्दै तराई, भित्री मधेश तथा सम्भाव्य पहाडी क्षेत्रमा र  एपिस सेराना सेरेनाको संरक्षण र प्रजातीय सुधार गरी उच्च पहाडी तथा पर्वतीय क्षेत्रमा बिस्तार गरिने छ ।

८.१.२ चरनको उपलब्धता यातायातको सुविधा तथा भारवहन क्षमता (Carrying capacity) का आधारमा एपिस मेलिफेरा वा एपिस सेरानालाई सबै ठाउँ (तराई, पहाड, उच्च क्षेत्र) का चरनमा पूर्ण सदुपयोग हुने गरी स्थानान्तरण गरी अधिकतम उत्पादन लिईनेछ ।

८.१.३ उच्च पर्वतीय क्षेत्रमा पाइने एपिस सेरेना सेराना उपजाति (Sub-species) को संवर्द्धन प्रवर्द्धन गर्न तिनीहरुको प्रजनन केन्द्र स्थापना गरी अन्य क्षेत्रहरुमा प्रसारण गरिने छ।

८.१.४ उच्च पहाडी क्षेत्रमा क्रमश एपिस लेवोरियोसा, तराई र भित्री मधेशमा एपिस डोर्साटा र कछाड र भित्री मधेश क्षेत्रमा एपिस फ्लोरिया जस्ता स्थानीय जंगली मौरीहरुको संरक्षण र संवर्द्धन गरी परसेचित बाली तथा वन्य वनस्पतिहरुको जैविक विविधता वृद्धि गर्ने ।

८.१.५ नेपालमा उत्पादन तथा विकास गर्न नसकिएका नयाँ प्रजातीका गोला, रानु तथा प्याकेज मौरी आयात गर्नु अघि प्राविधिक, आर्थिक तथा पारिस्थितिक प्रभाव र परिणामहरुको अध्ययन र विश्लेषण गरिने छ ।

      ८.२ मौरी चरन सुदृढिकरण र व्यवस्थापन

८.२.१ मौरी चरन क्षेत्रको सर्वेक्षण गरि पात्रो बनाई त्यसको आधारमा चरन क्षेत्रको (कृषि तथा वन) भौगोलिक नक्सा तयार गर्ने तथा चरन क्षेत्र तोकिने छ ।

८.२.२ चरन क्षेत्रको भारवहन क्षमताका आधारमा चरन उपलब्ध गराउन आचारसंहिता लागु गरिने छ ।

८.२.३ कृषि-वन खेती, वन वृक्षारोपन, पार्क र राष्ट्रिय प्राकृतिक संरक्षण क्षेत्रहरुमा गरिने वृक्षारोपण कार्यक्रमहरुमा कम्तिमा २५ प्रतिशत मौरी चरन वनस्पति समावेश गर्ने व्यवस्था मिलाइने छ ।

८.२.४ मौरी चरन मौरीपालनको आधार भएकोले सबै मौरीपालकहरुले आफ्नो सेरोफेरोमा उत्कृष्ट मौरी चरन हुने वनस्पति लगाउन प्रोत्साहन गरिने छ ।

८.२.५ मौरी आकर्षण हुने बोट विरुवाहरुको फूल फुल्न लागेका तथा फुलिरहेको अवस्थामा छँटनी कटानी नगर्नको लागि सम्बद्ध सरकारी गैर-सरकारी एंव स्थानीय सामुदायिक संस्थाहरुमा चेतना अभिवृद्धि गराइने छ ।

८.२.६ कृषि क्षेत्रको बालीहरुको चरनमा मौरी चराउन रोकतोक गर्न नहुने, बाली पूर्ण रुपमा फूल फुलेको बेला विषादी प्रयोगलाई निरुत्साहित गर्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिने छ । यस्तो बेलामा विषादिको प्रयोग गर्नु पर्ने भएमा प्राविधिकहरुको अनिवार्य रुपमा सिफारिस लिनु पर्ने व्यवस्था गरिने छ ।

८.२.७ च्युरी, मौवा लगायत मौरी मैत्री वनस्पति हुर्काउने व्यक्ति/संस्था लाई अनुदान दिने व्यवस्था गरिने छ ।

८.२.८ भारवहन क्षमता र आचार संहिताको आधारमा वन क्षेत्र (सामुदायिक वन, निजी वन र राष्ट्रिय निकुञ्ज) हरुमा सहज रुपमा मौरीपालन गर्नमा सहयोग पुर्याइ दिगो विकासको पहल गरिने छ ।

      ८.३ मौरी स्थानान्तरण व्यवस्थापन

८.३.१ मौरी स्थानान्तरणलाई मौरीपालन विकास कार्यालय, जिल्ला कृषि विकास कार्यालय, स्थानीय मौरीपालक कृषक समूह र उद्यमीहरु र अन्य सरोकारवालाको संयुक्त समितिबाट चरन पात्रोको आधारमा संयोजन गराइने छ ।

८.३.२  मौरीपालक सञ्जाल, संघ, सहकारी तथा व्यावसायिक मौरीपालकहरुलाई नै नयाँ चरन स्थलको खोजी गर्न उत्प्रेरित गरी सम्भाव्य क्षेत्रमा नेपालको कुनै पनि क्षेत्रमा चराउन लान पाउने व्यवस्था गरिने छ ।

८.३.३ पहाडी भेकको चिउरी लगायत प्रशस्त चरन भएका क्षेत्रमा स्थानान्तरण पहुँच विकास गर्न सम्बद्ध निकायहरुमा पहल गरिने    छ ।

८.३.४ स्थानान्तरणकै क्रममा रहेका मौरीलाई एम्बुलेन्स जस्तै अत्यावश्यक सेवा सरह विना रोकतोक लैजान सक्ने व्यवस्था गराइने छ ।

८.४ मौरी रोगव्याधी व्यवस्थापन

८.४.१   रोग संक्रमित मौरी तथा मौरीजन्य उपकरणहरुको आयात एंव आन्तरिक वसार पसार गर्न रोक लगाइने छ ।

८.४.२   मौरीको गोलामा प्रतिबन्धित प्रतिजैविक, गन्धक र सुर्तीजन्य पदार्थ साथै अवशेष रहने जोखिम भएका रसायनको प्रयोग निषेध गरिने    छ ।

८.४.३   प्रमुख उत्पादन क्षेत्रका मौरीपालकहरुको सरल पहुँचभित्र मौरी रोग पहिचान, परीक्षण तथा निदान सुविधा विकास गरिने छ ।

८.४.४   रोगको रोकथाम तथा नियन्त्रणमा प्रतिजैविकी न्यूनतम प्रयोग गराउने र प्रतिजैविक प्रयोग गरेको ६ हप्तासम्म मह काढ्न नहुने सचेतना विकास गरिने छ ।

८.४.५   मौरीका रोगव्याध व्यवस्थापनमा प्रयोग हुने कम जोखिमी ‍औषधिको आयातमा भन्सार महशुल छुट गरिने छ।

८.४.६   मह परिक्षण प्रयोगशालालाई अन्तराष्ट्रिय मापदण्ड अनुसार प्रवर्द्धन र व्यवस्थापन गरिने छ ।

      ८.५   मह शिकार व्यवस्थापन एंव बासस्थानको संरक्षण

८.५.१   मह शिकारीहरुलाई व्यवस्थित गरी एपी टुरीजमको विकास गर्दै अन्य प्राकृतिक मौरीहरुको बासस्थानको समेत संरक्षण गरिने छ ।

८.५.२   ठूलाठूला पूर्वाधार विकासको क्रममा गरिने वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनमा मौरीको बासस्थान आश्रयस्थल र तिनको स्थानान्तर समेत सम्बोधन गर्नुपर्ने व्यवस्था गरिने छ ।

८.५.३   मह शिकारी वर्गलाई मह शिकारको परम्परागत विधिलाई सांस्कृतिक महत्वको रुपमा जगेर्ना गर्ने र सुरक्षित र व्यवस्थित तरिकाले मह काढ्ने विधि अपनाउन विशेष तवरले प्रशिक्षित र प्रोत्साहन गरिने   छ ।

८.५.४  जंगली मौरीहरुको संरक्षणका कार्यक्रमहरु सरोकारवाला निकायहरुसँगको सहकार्यमा सञ्चालन गरिने छ ।

      ८.६   मह उत्पादन तथा बजार व्यवस्थापन

८.६.१   मह उत्पादन, विकासमा असल मौरीपालन अभ्यास (Good Beekeeping Practices) अवलम्बन गर्न प्रोत्साहन गरिने छ ।

८.६.२   प्रमुख उत्पादन क्षेत्रको सरल पहुँचभित्र सरकारी, सहकारी, निजी क्षेत्र र मह संकलकहरुलाई कम से कम महको प्रारम्भिक भौतिक अवस्था र चिसान परीक्षण गर्ने सुविधा उपलब्ध गराउन सहयोग पुर्याईने छ ।

८.६.३   मह उत्पादन, संकलन, प्रशोधन, वसार पसार एंव भण्डारण गर्ने उद्यमीहरुले प्रत्येक चरनमा स्रोत सुचक विवरणहरु सुरक्षित राख्ने र खाद्य मापदण्ड अनुसारका औजार, उपकरण, भाँडा, वर्तनको प्रयोग गरी गुणस्तर कायम गर्न प्रोत्साहन गरिने छ ।

८.६.४   विभिन्न प्रकारका महको उत्पादन तथा बजारीकरणको लागि बजारको सम्भाव्यता अध्ययन गरी बजारलाई सुनिश्चित र सुदृढिकरण गरिने   छ ।

८.६.५   परम्परागत उत्पादनका अतिरिक्त पर्याप्त पूर्वाधार सम्पन्न मौरीपालक कृषक, सञ्जाल, समुह तथा उद्यमी व्यवसायीहरुलाई मौरी मैन, चोप (Propolis), कुट, शाहीखुराक (Royal Jelly) विशेष प्रकारको मह उत्पादन चाका, क्रीष्टल, एकल स्रोतको मह आदि विशिष्ट सामाग्री उत्पादनका लागि प्रोत्साहित गर्न तालिमका अवसरहरु प्रदान गरिने  छ । नेपालमा उत्पादित मह र मौरीजन्य उपजहरुको विविधिकरणको विषयमा प्रचार प्रसारको व्यवस्था गरिने छ ।

८.६.६   महको भौगोलिक र वनस्पतिक श्रोत मौरीको प्रजाती र मह काढेको विधिका आधारमा महलाई लेवलिङ्ग गर्न प्रोत्साहन गरिने छ ।

८.६.७   मह संकलन, भण्डारण तथा प्रशोधन स्थल र विक्री प्रवर्द्धनका लागि भौतिक पूर्वाधार विकासमा निजी क्षेत्रसँग सहकार्य गरिने छ ।

८.६.८   महको आन्तरिक खपत प्रवर्द्धन गर्न आयुर्वेदिक उद्योग, राशन व्यवस्था गर्ने ठूला सरकारी निकाय, अस्पताल, विद्यालय, होटेलसँग कारोबार गर्ने मह उत्पादक तथा व्यवसायीहरुलाई विशेष सहयोग गरिने  छ ।

 ८.७ प्रोत्साहन र अनुदान

८.७.१   तुलनात्मक लाभका आधारमा मौरीपालनको विकास र विस्तारमा सघनता र तिव्रता ल्याउन विद्यमान अनुदानको स्तर वृद्धि गरिने छ ।

८.७.२   रानी उत्पादन, बैकिङ्ग र आपूर्ति गर्न र व्यवसाय स्थापना गर्न चाहने क्षमतावान उत्साहि उद्यमीहरुलाई रानी व्यवस्थापन सामाग्री आयात गर्न र व्यवसाय स्थापना गर्न विशेष अनुदान सहित प्रोत्साहित गरिने छ ।

८.७.३   निजी क्षेत्रका मौरीपालन सम्बन्धी सञ्जाल, सहकारी, समुह तथा उद्यमीहरुलाई मह संकलन, भण्डारण, मह प्रशोधन एकाइ, प्राथमिक रोग निदान सुविधाको विकास एंव एपिस सेराना, एपिस सेरेना सेरेना र एपिस मेलिफेराको गोला छनौट तथा नश्ल सुधारका लागि विशेष तवरले प्रोत्साहित अनुदानको व्यवस्था गरिनेछ ।

८.७.४   मौरीजन्य व्यवसाय जस्तै घार र उपकरण निर्माण, आधारचाका निर्माण, मह वा मौरी उपजको संकलन, प्रशोधन आदिमा निश्चित प्रतिशत वा तोकिएको रकम अनुदान दिने व्यवस्था गरिने छ ।

८.७.५   मौरीपालन व्यवसायको मूल्य श्रृङ्खलाको आधारमा व्यवसायीहरुको अभिलेख अध्यावधिक गरी छुट्टा छुट्टै तहमा अनुदान दिने व्यवस्था गरिने छ । एकै व्यक्ति वा समुहले दोहोरो अनुदान लिने परिपाटीको अन्त्य गर्नका लागि कुनै पनि गैर सरकारी स्वदेशी वा विदेशी संघ संस्थाहरुले पनि कुनै स्थान विशेषका व्यवसायिहरुलाई अनुदान दिने खालका कार्यक्रमहरु सञ्चालन गर्न चाहेमा नेपाल सरकारको मौरीपालन सम्बन्धी काम गर्ने सरकारी निकायको स्वीकृति र समन्वय गरेर मात्र अनुदान दिने व्‍यवस्थालाई कडाईका साथ लागु गरिने    छ ।

८.७.६   मौरीपालक कृषकहरुबाट विभिन्न कृषि बालीहरुमा परागसेचनबाट पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सो बापतको अनुदान दिने व्यवस्था मिलाइने छ ।

८.७.७   प्रतिफलमा आधारित अनुदान प्रणालीको विकास गरिने छ ।

 ८.८ मौरीपालनमा कर्जा

८.८.१   कृषि विकास बैंक, वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाहरु मार्फत मौरीपालनमा लगानी गर्न व्यवस्था गरिने छ ।

८.८.२   महिला, दलित एंव पिछडिएका समुदायलाई समुह जमानी तथा धितोमा ऋण प्रदान गर्न पहल गरिने छ ।

८.८.३   प्रमुख उत्पादन क्षेत्रहरु (Growth Centers) मा मौरी पालक कृषक, कृषि सञ्जाल र निजी मह कारोबारी, एंव श्रोतकेन्द्रहरुलाई अन्तरिम मह भण्डारण सञ्चालन गर्न सस्तो सरल ऋण सुविधा प्रदान गरिने   छ ।

      ८.९   बीमा नीति प्रवर्द्धन

मौरीपालन व्यवसाय र मह कारोवार एंव स्थानान्तरण र वसार पसारमा रहेका मौरी तथा मह  समेतमा जोखिमहरुबाट जोगाउन कम्पनीबाट बीमा नीति विकास, विस्तार र अवलम्बन गरिने छ ।

      ८.१० करछुट नीति

८.१०.१ व्यावसायिक मौरीपालनका लागि कर छुटका व्यवस्थाहरु कर सम्बन्धित कानुनमा उल्लेख भए बमोजिम हुनेछ ।

      ८.११ मौरीपालन अनुसन्धानको व्यवस्था

८.११.१ मौरीपालनका विभिन्न पक्षहरुमा आवश्यक अनुसन्धानका लागि नेपाल कृषि अनुसन्धान परिषद, कृषि वन विश्वविद्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, कृषि विभाग र सम्बद्ध कार्यक्रमहरु तथा कार्यालयहरु, सम्बद्ध अन्य निकायलाई क्रियाशील तुल्याइने छ ।

८.११.२ कृषि वन विश्वविद्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, कृषि अनुसन्धान परिषद एंव गैर सरकारी संस्थाहरुमा स्वदेशी विदेशी विश्वविद्यालयहरुसँग सम्बन्धन गरी अनुसन्धान र शोध प्रबन्ध तयार गर्न सक्ने व्यवस्था गर्न जोड दिइने छ ।

८.११.३ मौरीपालन अनुसन्धानको निमिक्त प्रस्तावित सबै सरकारी, अर्ध सरकारी एंव गैर सरकारी संस्थाहरमा आवश्यक साधन र सुविधाको विकास गर्न जोड दिइने छ ।

     

 

८.१२       जनशक्ति विकास

८.१२.१ मौरी रोग, मौरी प्रजनन, मौरी व्यवस्थापन, मौरीपालन प्रसार तथा तालिम, उत्पादन विकास, बजार व्यवस्थापन आदि विभिन्न पक्षमा दक्ष जनशक्तिको विकास गरिने छ । यस कार्यमा मौरी पालक कृषकहरुलाई विशेष अवसरहरु उपलब्ध गराइने छ ।

८.१२.२ कृषि अनुसन्धान परिषद तथा कृषि वन र विश्वविद्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा दक्ष जनशक्तिको विकास गरिने छ ।

८.१२.३ गैर सरकारी क्षेत्र र निजी क्षेत्रका औद्योगिक प्रतिस्ठानहरुमा मौरीपालनको विभिन्न क्षेत्रमा स्तरीय सेवा प्रदान गर्ने दक्षता विकास गर्न प्रोत्साहन गरिने छ ।

८.१२.४ मौरीपालन स्रोतकेन्द्रहरुबाट सेवा विस्तार गर्न तालिमका अवसर प्रदान गरी दक्षता बढाइने छ ।

८.१२.५ कृषि विभाग, कृषि अनुसन्धान परिषद, कृषि तथा पशु विज्ञान विश्वविद्यालय, कृषि वन विश्वविद्यालयको क्षमता अभिवृद्धि गर्ने खालका तालिम तथा पाठ्यक्रमको विकास गरिने छ ।

८.१२.६ कृषि सम्बन्धी व्यावसायिक शिक्षण प्रशिक्षण प्रतिष्ठानहरुमा मौरीपालन विशेष पाठ्यक्रम निर्माण गरी समावेश गराउन सम्बद्ध निकायहरुसंग पहल गरिने छ ।

उद्देश्य ७.२ सँग सम्बन्धित नीति र कार्यनीति

      ८.१३ महको गुणस्तर निर्धारण, प्रमाणीकरण र विषादि अवशेष नियन्त्रण

८.१३.१ नेपाली प्राकृतिक महको प्राङ्गारिक विशेषताहरु परिभाषित र प्रमाणित गरी तिनको संरक्षण व्यवस्था गरिने छ ।

८.१३.२ महमा विषादि अवशेष, अन्तरपदार्थ (Inter material)  गह्रौ धातुहरु (Heavy metals), एन्टीवायोटीक्स आदीको नियन्त्रण जस्ता अवशेष अनुगमन योजना (Residue monitoring plan) सँग सम्बन्धित कार्यक्रमहरु विकास गरी कार्यान्वयन व्यवस्था गरिनेछ ।

८.१३.३ अवशेष परीक्षण र प्रमाणीकरणका लागि मान्यता प्राप्त प्रयोगशालाको सेवा लिन सम्बद्ध निकायहरुसँग समन्वय गरिने छ ।

८.१३.४ मौरीपालक तथा मह कारोवारीहरुलाई अन्तराष्ट्रिय समुदाय र बजारका गुणस्तर मापदण्ड, असल मौरीपालन अभ्यास (Good Beekeeping Practices)  एंव शर्तहरुका सम्बन्धमा समुचित प्रशिक्षण दिइने    छ ।

८.१३.५ नेपाली महको वर्तमान स्तरमान (Standard) तयार गरी परागको आधारमा व्यावहारिक र यथार्थपरक बनाइने छ ।

      ८.१४ महको बजारीकरण व्यवस्थापन

८.१४.१ नेपाली महमा लाग्ने कर न्यूनिकरण र सरलीकरणका पहल गरिने  छ ।

८.१४.२ भन्सार महशुल वृद्धि गरी विदेशी मह आयातलाई व्यवस्थापन गरिने छ ।

८.१४.३ उत्पादकत्व वृद्धि, गुणस्तर र उत्पादन लागत कम गराइ नेपाली महको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा व्यापारिक प्रतिस्पर्धा बढाउने प्रयास गरिने छ ।

८.१४.४ राष्ट्रिय अन्तराष्ट्रिय मेला, प्रदर्शनीहरुमा नेपाली-हमाली मह, अर्गानिक मह, विशेष प्रकारका मह तथा गोलाको प्रदर्शन गराउनेतर्फ प्रोत्साहन गरिने छ ।

८.१४.५ नेपाली महको पहिचान हुने गरी गुणस्तर व्यवस्थापन ट्रेड मार्क तथा साझा लोगोको विकास गरिने छ ।

८.१४.६ जंगली मौरीको मह काढ्दा मौरी पर्यटन (Bee Tourism) को प्रवर्द्धन हुने खालका कार्यक्रमको निर्माण गरिने छ ।

      ८.१५ स्तरीयकरण, अनुगमन र नियमन

८.१५.१ मौरीपालनका विभिन्न स्तर र क्षमता परिभाषित गर्ने व्यवस्था मिलाइने छ ।

८.१५.२ प्राकृतिक र प्रशोधित महको परिभाषा र गुणस्तर (Standard) को समीक्षा र अवश्यकता अनुसार परिमार्जन गरिने छ ।

८.१५.३ यसरी निर्धारण गरिएका आधार तथ्याङ्कस्तर तथा मापदण्डहरु (Standard & Specifications) सरकारी निकाय लगायत अन्य सबै सम्बद्ध सरोकारहरु समक्ष प्रसार र अनुगमन गरिने छ । अनुगमन गर्दा गुणस्तरका मापदण्डहरु, अवलम्बन गरेका आधारहरु, अभिलेख र प्रयोगशाला परीक्षणलाई समेत ध्यानमा राखिनेछ ।

८.१५.४ मौरिघार, उपकरण निर्माण उद्योग र मौरीपालन श्रोतकेन्द्रहरुको र उत्पादित सामाग्री समेतको निश्चित मापदण्ड बनाई सो मापदण्ड अनुसारका श्रोतकेन्द्रहरुले जिल्ला कृषि विकास कार्यालय वा मौरीपालन शाखा कार्यालयहरुको सिफारिसमा व्यावसायिक कीट विकास निर्देशनालयमा दर्ता तथा नविकरण गराएर मात्र कारोबार गर्न पाउने व्यवस्था गरिने छ।

उद्देश्य ७.३ सँग सम्बन्धित नीति र कार्यनीति

      ८.१६ परागसेचनका लागि मौरी परिचालन तथा व्यवस्थापन

८.१६.१ कृषकहरुमा परागसेचनको महत्व र मौरीको उपादेयता बोध गराउन विशेष प्राथमिकता दिइने छ ।

८.१६.२ बालीनालीमा फूल फुलेको बेला कीटनाशक विषादि छर्नु बाली उत्पादक र मौरीपालक कृषक दुबैलाई हानिकारक हुन्छ भन्ने चेतनाको विकास गराउने खालका कार्यक्रमलाई प्राथमिकता दिइने   छ ।

८.१६.३ वागवानी फार्म तथा फलफूल खेती कृषकहरु सबैलाई मौरी प्रयोगमा ल्याउन प्रोत्साहित गरिने छ ।

८.१६.४ मौरी मित्र जीव भएकाले यसको बचावट र संरक्षण गर्न कृषकहरुलाई जागरुक गराउने खालका कार्यक्रमलाई प्राथमिकता दिइने छ ।

८.१६.५ परागसेचनको आवश्यकता, यसको महत्व र उपादेयता सम्बन्धी अध्ययन अनुसन्धानको क्रममा मह नपार्ने मौरी, जंगली मौरी र अन्य परागसेचीसँगको प्रतिस्पर्धी हुने तवरबाट अगाडी बढाइने छ ।

उद्देश्य ७.४ सँग सम्बन्धित नीति र कार्यनीति

      ८.१७ आर्थिक तथा सामाजिक रुपले पिछडिएका वर्गको मूल प्रवाहिकरण

८.१७.१ आर्थिक तथा सामाजिक रुपले पिछडिएका (महिला, दलित, आदिवासी, अपांग आदि) कृषक समुह र वर्गहरुलाई समुहगत रुपमा मौरीपालन अपनाउन विशेष तवरले प्रोत्साहित गरिने छ ।

८.१७.२ मौरीपालन सम्बन्धी तालिम, शैक्षिक भ्रमण एंव अन्य प्रसार र संगठनात्मक कार्यक्रमहरुमा पिछडिएका वर्गको सहभागिता सुनिश्चित गरिने छ ।

८.१७.३ महिला तथा पिछडिएका वन्चित वर्गका लागि विशेष कार्यक्रम प्याकेज ल्याइने छ जसमा थप सहुलियत र प्रोत्साहन हुने छन् ।

८.१७.४ जंगली अवस्थामा रहेको मह शिकारको चेतना जगाई व्यवस्थित तवरबाट मह शिकार गरी मौरी पर्यटनलाई चाडको रुपमा ग्रहण गरी अगाडी बढाउने ।

      ८.१८ संस्थागत विकास

८.१८.१ महिला एंव पिछडिएका वञ्चित वर्गलाई संस्थागत रुपमा संगठित गर्ने, मौरीपालन श्रोतकेन्द्रहरुको स्तर वृद्धि गर्ने र उनीहरुको लागि सेवा तथा आपूर्तलाई सुदृढ गराउने खालका कार्यक्रमलाई प्राथमिकता दिइने छ ।

८.१८.२ मौरीपालनको सर्वोपरी विकासको निमित्त प्रमुख उत्पादन क्षेत्रहरुको सहज पहुँचमा मौरी रोग निदान र व्यवस्थापन सहितका मौरी पालन कार्यालयहरु बिस्तार गरिने छ ।

८.१८.३ कार्यरत मौरीपालन श्रोतकेन्द्रहरुको मूल्याङ्कन गरी आवश्यकता अनुकुल स्तर वृद्धि गरिने छ ।

८.१८.४ पिछडिएका वर्गका मौरीपालकहरुलाई समुह/सहकारी/संघमा संगठित गरी विशेष कार्यक्रम प्याकेज दिइने छ ।

८.१८.५ मौरी प्रवर्द्धनको लागि आवश्यक पर्ने कार्यक्रमहरुको कार्यान्वयन र विस्तार गर्दा एकद्वार प्रणाली मार्फत सम्बन्धित निकायमा पठाउने र कार्यान्वयन गराउने व्यवस्था मिलाइने छ ।

८.१८.६ जिल्लाको चरिचरन क्षेत्र सम्भाव्यता तथा आवश्यकताको आधारमा जिल्लाका मौरी पकेट क्षेत्रहरु छनौट गरी मौरीको मूल्य श्रृङ्खलाको आधारमा क्लष्टर निर्माण गरी महिला, युवा एंव पिछडिएका वर्गलाई प्रोत्साहन हुनेगरि लक्षित कार्यक्रम निर्माण गरी अनुदानको व्यवस्था गरिने छ ।