१.    पृष्ठभूमि

१.    पृष्ठभूमि

जनसङ्ख्या बहुपक्षीय सरोकारको विषय हो । यसको व्यवस्थापनमा सबै क्षेत्रको संलग्नता आवश्यक छ । जनसङ्ख्याको वृद्धि, बनावट र वितरणलाई वैज्ञानिक रूपमा व्यवस्थापन गर्नसके जनसङ्ख्याले राष्ट्रिय विकासमा सकारात्मक योगदान पु¥याउँछ । जनसङ्ख्यामा परिवर्तन ल्याउने प्रमुख तीन तत्व जन्म, मृत्यु र बसाइसराइ हुन् । जनसङ्ख्यालाई राष्ट्रिय विकासको गतिसँग सुहाउँदो बनाउन यी विषयहरूमा सरकारको स्पष्ट नीति तथा कार्ययोजना आवश्यक छ ।

 

जनसङ्ख्या परिवर्तनशील भएकाले यसका लक्ष्यहरू भौगोलिक सामाजिक तथा आर्थिक संरचना अनुसार फरकफरक हुन्छन् । जनसङ्ख्याको विषयमा नियन्त्रण भन्दा वितरण र व्यवस्थापन महत्वपूर्ण हुन्छन् । नेपालले सन् १९९४ को कायरोमा सम्पन्न भएको जनसङ्ख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन तथा अन्य विभिन्न सम्मेलनहरूमा पारित कार्ययोजनाका आधारमा जनसङ्ख्याको व्यवस्थापनका पक्षमा जोड दिएको छ । यसै आधारमा हाल जनसङ्ख्या तथा विकाससम्बन्धी २० वर्षे (२०६७–२०८७) दीर्घकालीन योजना (Population Perspective Plan) कार्यान्वयनमा रहेको छ ।

 

जनसङ्ख्या तथा विकाससम्बन्धी दीर्घकालीन योजनाले जनसङ्ख्याको प्रक्षेपण गरी देशलाई आवश्यक पर्ने स्वास्थ्य, इन्जिनियरिङ्, कृषि, शिक्षा तथा अन्य क्षेत्रका दक्ष प्राविधिकहरू भौगोलिक आधारमा भन्दा पनि जनघनत्वका आधारमा न्यायोचित वितरण गर्नुपर्ने मान्यता राखेको छ । नेपालमा प्रतिमहिला प्रजननदर घटे पनि सङ्ख्यात्मक रूपमा नेपालको जनसङ्ख्या वृद्धि हुँदै गएको छ । जन्मदर घट्दो र वृद्ध जनसङ्ख्याको अनुपात बढ्न केही समय लाग्ने अवस्थाका बीचमा देशमा भएको श्रम शक्तिलाई जनसाङ्ख्यिक लाभांश (Demographic Dividend) का रूपमा उपयोग गर्नु आवश्यक हुन्छ ।

 

देशको अर्थतन्त्रलाई सबल बनाउन सरकारी प्रयासले मात्र सम्भव नहुने भएकाले सरकारी, गैरसरकारी, निजी क्षेत्र, नागरिक समाज एवं साझेदार सबै पक्षको सहभागिता र सहकार्यमा जनसङ्ख्याको समुचित व्यवस्थापन गर्नु आवश्यक छ ।