३.    वर्तमान स्थिति

३.    वर्तमान स्थिति

तुलनात्मकरूपमा जनसङ्ख्याको उच्च वृद्धिदर, किशोरकिशोरी तथा युवावर्गको बाहुल्य, वृद्धवृद्धाको संङ्ख्यामा क्रमशः बढोत्तरी, भौगोलिक रूपमा जनसङ्ख्याको असमान वितरण आदि हाल नेपालको जनसङ्ख्याका मुख्य विशेषताहरू हुन् । वि.सं. १९६८ मा प्रथम पटक जनगणना हुँदा नेपालको जनसङ्ख्या ५६ लाख ३८ हजार भएकोमा वि.सं. २०६८ मा यो सङ्ख्या वृद्धि भएर करिब २ करोड ६५ लाख पुगेको छ । विगत तीन दशकको वृद्धिदरलाई नियाल्दा वि.सं. २०४८ सम्म वार्षिक वृद्धि २.०८ प्रतिशत थियो भने वि.सं. २०४८ देखि २०५८ सम्ममा २.२५ प्रतिशत र वि.सं. २०५८ देखि २०६८ सम्ममा वृद्धिदरमा कमी आई १.३५ प्रतिशत रहेको देखिन्छ । वि.सं. २०६८ को जनगणनामा जनसङ्ख्या वृद्धिदरमा केही कमी आए तापनि सङ्ख्यात्मक हिसाबमा प्रत्येक वर्ष जनसङ्ख्या वृद्धि हुँदै गएको छ ।

 

तथ्याङ्कअनुसार वि.सं. २०६८ मा नेपालको कुल प्रजननदर २.६ रहेको थियो । कुल जनसङ्ख्यामध्ये १४ वर्षसम्मका ३५ प्रतिशत, १० देखि १९ वर्षका किशोरकिशोरी २४ प्रतिशत, १५ देखि २४ वर्षका युवा २० प्रतिशत, १५ देखि ५९ वर्षका वयस्क ५७ प्रतिशत तथा ६० वर्षमाथिका जेष्ठ नागरिक ८.१ प्रतिशत रहेका थिए । जेष्ठ नागरिकको संङ्ख्या वि.सं. २०३८ मा ५.६ प्रतिशत मात्र रहेकोमा वि.सं. २०६८ मा ८.१ पुगेको देखिन्छ ।

 

जनसङ्ख्याको आकार परिवर्तनमा योगदान पु¥याउने कारक तत्वमध्ये प्रजनन सबै भन्दा महत्वपूर्ण हो । वि.सं. २०३० (सन् १९८०) को दशकमा यसको दर प्रतिमहिला ६ सन्तानभन्दा बढी रहेकोमा वि.सं. २०६८ मा २.६ सन्तानका हाराहारीमा झरेको  देखिन्छ । भौगोलिक हिसाबले उच्च हिमाली क्षेत्र तथा तराईमा यो दर बढी देखिन्छ । अशिक्षित (३.७) र अति गरिब (४.१) समूहमा अन्यभन्दा प्रजननदर उच्च रहेको छ ।

 

जनसङ्ख्या परिवर्तनको दोस्रो कारक तत्व मृत्यु हो । वि.सं. २०६८ को तथ्याङ्कअनुसार औसत आयु ६६.६ वर्ष रहेको छ भने नेपाल मानव विकास प्रतिवेदन, २०१४ का अनुसार औसत आयु ६८. ८ वर्ष रहेको छ । सहस्राव्दी विकास लक्ष्य र आवधिक योजनाको लक्ष्य प्राप्तिका क्रममा नवजात शिशु मृत्युदर स्थिर भए तापनि कुल मृत्युदरमा आएको सुधारले औसत आयुमा भने सकारात्मक प्रभाव पारेको छ । त्यसै गरी मातृ मृत्युदरमा समेत उल्लेखनीय सुधार आएको     छ ।

 

जनसङ्ख्या परिवर्तनको तेस्रो कारक तत्व बसाइसराइ हो । नेपालको करिब एक चौथाई जनसङ्ख्या आफू जन्मेका स्थानमा बस्दैनन् । यति हुँदाहुँदै पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय आप्रवासनमा पर्याप्त ध्यान पुग्नसकेको छैन । वि.सं. २०६८ को तथ्याङ्कअनुसार प्रत्येक दिन अनुमानित १,२०० नेपाली युवा अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै देशबाट बाहिरिएका पाइन्छन् । यसरी विदेशमा भएको श्रम शक्तिबाट सन् २०१०/११ मा रू २ खर्ब ५९ अर्ब रूपैयाँ विप्रेषणका रूपमा प्राप्त भएको अनुमान भए तापनि यसको ठूलो हिस्सा (८२%) उपभोगमा र जम्मा २ (दुई) प्रतिशत मात्र पूँजी निर्माणमा लगानी भएको देखिन्छ । लाभ लागतका दृष्टिबाट यसमा सुधारको खाँचो छ । वि.सं. २०४८ मा कुल जनसङ्ख्याको करिव ३ (तीन) प्रतिशत विदेशमा रहेकोमा वि.सं. २०६८ मा यो संख्या बढेर करिव सात प्रतिशत पुगेको छ । आन्तरिक बसाइसराइले अव्यवस्थित सहरीकरणलाई तीब्रता दिएको छ । नेपालमा सहरी क्षेत्रहरूको जनसङ्ख्या वि.सं. २००९/११ (सन् १९५२/५४) मा तीन प्रतिशत मात्र भएकोमा वि.सं. २०६८ को जनगणनाअनुसार १७ प्रतिशत र वि.सं. २०७१ मा थपिएका गरी कुल १९१ नगरक्षेत्रको जनसङ्ख्याको प्रतिशत ४५ को हाराहारीमा पुगेको पाइन्छ । सन् २०११ को अनुमान अनुसार गरिबीका रेखामुनि रहेको जनसङ्ख्या अझै एक चौथाई भएकाले कुल गार्हस्थ्य उत्पादनमा भएको कमी समेतलाई ध्यानमा राखी जनसङ्ख्याको वैज्ञानिक व्यवस्थापन गर्नु आवश्यक छ ।

तालिका १: जनसङ्ख्या परिवर्तनका प्रमुख कारक तत्वहरूको विगत बीस

वर्षको तुलनात्मक स्थिति

सि.नं.       वर्ष वि.सं.

सुचक ईसं. (सन्)

२०४८

१९९१

२०५३

१९९६

२०५८

२००१

२०६३

२००६

२०६८

२०११

२०७१

२०१४

कुल प्रजननदर (TFR), प्रति महिला ५.८ ४.६ ४.१ ३.१ २.६ २.३
वार्षिक जनसङ्ख्या वृद्धिदर, प्रतिशत २.०८ २.२५ १.३५ १.३५
कोरा मृत्युदर (CDR), प्रति हजार १३.३ १०.८
शशु मृत्युदर (IMR), प्रति हजार जीवित जन्म १०७ ७९ ६४ ४८ ४६ ३३
औसत आयु (वर्ष)          दुवै ५४.३ ६०.४ ६६.६ ६८.८
  पुरुष ५५.० ६०.१ ६५.५
  महिला ५३.५ ६०.७ ६७.९
घर पिरवारको ‍औषत आकार ५.६ ५.४ ४.८ ४.६
अनुपस्थित जनसंख्या, प्रतिशत ३.६ ३.३ ७.३
कुल बसाइसराइ १८३११५६ २१७१७२४  
  हिमाल -१६१,६५५ -२५५,१०३ ४५,१७,२८७
  पहाड -७५३,९२३ -८३०,७५९
  तराई ९१५,५७८ १,०८५,८६२