४.   समस्याहरू र चुनौतीहरू

४.   समस्याहरू र चुनौतीहरू

जनसङ्ख्या र विकासबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । जनसङ्ख्याको सही व्यवस्थापनले आर्थिक तथा सामाजिक विकासमा प्रत्यक्ष योगदान गर्दछ । जनसङ्ख्या व्यवस्थापन आफैमा बहुआयामिक र बहुक्षेत्रगत विषय हो । यस क्षेत्रमा हाल विद्यमान समस्या र चुनौतीहरू निम्नानुसार रहेका छन् ।

४.१ प्रमुख समस्याहरू :

४.१.१   विकासका सबै प्रयासको केन्द्रविन्दु र सबै प्रतिफलको उपभोक्ता जनसङ्ख्या नै हो । विकास आयोजनाको तर्जुमा, कार्यान्वयन र अनुगमनमा जनसङ्ख्या व्यवस्थापनका कार्यक्रमलाई सबै सरकारी, गैर सरकारी र निजी क्षेत्रबाट आन्तरिकीकरण (Internalization) गर्न सकिएको छैन ।

४.१.२   आर्थिक पछौटेपन, अशिक्षा, भौगोलिक विकटता, अव्यवस्थित बसाई सराई, उच्च पहाडी क्षेत्रमा छरिएर रहेका वस्तीहरू, पितृसत्तात्मक पुरातनवादी सोच र कार्यशैलीले जनसङ्ख्या र विकासका बीच सन्तुलन कायम गर्न सकिएको छैन ।

४.१.३   उत्पादनशील जनशक्ति विदेसिँदा नेपालको कृषि तथा अन्य क्षेत्रको उत्पादनमा नकारात्मक असर गर्नका साथै ग्रामीण क्षेत्रको उमेर संरचना र लैङ्गिक अनुपात बदलिएर बालबालिका, महिला र वृद्धहरू मात्र ग्रामीण क्षेत्रमा रहने अवस्था सिर्जना भएको छ । यसका साथै देशको आन्तरिक कारण विस्थापित जनशक्तिलाई सम्मानपूर्वक उत्पादनशील कार्यमा संलग्न गराउने प्रभावकारी संरचनाको अभाव  छ ।

४.१.४   बालविवाह, उच्च प्रजननदर, कम उमेरमै र थोरै समयको अन्तरालमा गर्भधारण, परिवार नियोजनका साधनको माग एवं उपयोग गर्नसक्ने क्षमतामा कमी आदिका कारण प्रजनन तथा मातृस्वास्थ्यमा अपेक्षित सुधार हुन सकेको छैन ।

४.१.५   अवसरको खोजी, प्राकृतिक विपत्ति (जस्तै भूक्षय, बाढी पहिरो आदि) र उब्जाउ जमिनको विनाशका कारण आन्तरिक बसाइसराइले गर्दा तीब्ररूपमा बढ्दै गएको सहरीकरणलाई व्यवस्थित गर्न सकिएको  छैन ।

४.१.६   विकास व्यवस्थापन र जनसङ्ख्या व्यवस्थापनका बीचमा अध्ययन, अनुसन्धान तथा नीति र कार्यक्रममा सरकारी, गैरसरकारी, निजी क्षेत्र तथा नागरिक समाजबीचको समन्वयात्मक एवं प्रभावकारी सहकार्यको अभाव छ ।

४.१.७   राज्यका केन्द्रदेखि स्थानीयसम्मका सबै तहमा र विभिन्न क्षेत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण एवं मूलप्रवाहीकरण गर्न सकिएको छैन ।

४.१.८   जेष्ठ नागरिकहरूको वृद्धिदरको अनुपातमा उनीहरूको स्वास्थ्य हेरचाहलगायत विभिन्न सरोकारका विषयहरूको प्रवर्धनमा अपेक्षित सुधार हुन सकेको छैन ।

४.१.९   जनसङ्ख्यासम्बन्धी वर्गीकृत तथ्याङ्कको सङ्कलन, विश्लेषण तथा राष्ट्रिय नीतिमा पृष्ठपोषण गर्नसक्ने समयोचित र प्रतिनिधिमूलक प्रभावकारी अनुसन्धानको खाँचो छ ।

४.२ प्रमुख चुनौतीहरू :

४.२.१   राष्ट्रियरूपमा नीति तथा कार्यक्रम तर्जुमा गर्दा जनसाङ्ख्यिक सूचक, जनसाङ्ख्यिक गतिशीलता एवं आर्थिक तथा भौतिक विकासका सूचकहरूबीच सन्तुलन कायम गर्ने ।

४.२.२   उत्पादनशील जनशक्तिलाई स्वदेशमै राख्ने प्रभावकारी व्यवस्थापन, बदलिएको उमेर संरचना र लैङ्गिक अनुपातले पार्ने दुस्प्रभाव व्यवस्थापन गर्ने ।

४.२.३   विवाह, यौन, परिवार नियोजनका साधनको माग एवं उपयोग, गर्भधारण, प्रजनन तथा प्रजनन् स्वास्थ्यलाई अधिकारका रूपमा लिने अवस्था सृजना गर्ने ।

४.२.४   प्राकृतिक प्रकोप (जस्तै भूक्षय, बाढी पहिरो आदि) बाट हुनसक्ने सम्भावित मानवीय क्षतिको न्यूनीकरण एवं प्रकोप व्यवस्थापन गर्ने ।

४.२.५   नीति निर्माणलाई टेवा पुर्याउने गरी विकास र जनसङ्ख्या व्यवस्थापनका बीचमा हुने सम्बन्धलाई (स्थान र समुदाय अनुसार) आवधिकरूपमा अध्ययन, अनुसन्धान गर्ने प्रभावकारी परिपाटीको विकास गर्ने ।

४.२.६   जनसङ्ख्या वृद्धिका अनुपातमा आर्थिक तथा सामाजिक विकासका कार्यक्रम कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने ।

४.२.७   समाजको स्वरूप अझै पितृसत्तात्मक भएको र राष्ट्रिय नीति तथा कार्यक्रम तर्जुमामा महिला र लैङ्गिक, आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदाय सीमान्तकृत तथा अल्पसङ्ख्यक समूहको पहुँच राज्यको हरेक क्षेत्र र तहमा न्यून भएकाले यसलाई प्रभावकारी रूपमा सन्तुलित बनाउने ।