परिच्छेद – १ प्रारम्भिक

परिच्छेद – १ प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भः (१) यस ऐनको नाम “अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८” रहेकोछ ।

(२) यो ऐन नेपाल भर लागू हुनेछ र नेपाल बाहिर जहाँसुकै रहे बसेको भए पनि सबै नेपाली नागरिकलाई लागू हुनेछ ।

(३) यो ऐन तुरून्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसंगले अर्काे अर्थ नलागेमा यस ऐनमा,–

(क) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।

(ख) “आयोग” भन्नाले संविधानको धारा २३८ बमोजिम गठित अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्झनु पर्छ ।

(ग) “आयुक्त” भन्नाले आयोगको प्रमुख आयुक्तलाई समेत जनाउँछ ।

(घ) “सार्वजनिक पद धारण गरेको व्यक्ति” भन्नाले संविधान, अन्य प्रचलित कानुन वा सम्बन्धित निकाय वा अधिकारीको निर्णय वा आदेश बमोजिम कुनै सार्वजनिक अख्तियारी प्रयोग गर्न पाउने वा कुनै कर्तव्य पालन गर्नु पर्ने वा दायित्व निर्वाह गर्नु पर्ने पदमा बहाल रहेको व्यक्ति सम्झनु पर्छ र सो शब्दले सार्वजनिक संस्थाको कुनै पदमा बहाल रहेको पदाधिकारी वा कर्मचारी समेतलाई जनाउँछ ।

(ङ) “सार्वजनिक संस्था” भन्नाले देहायको संस्था सम्झनु पर्छः–

(१) नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रण भएको कम्पनी, बैंक वा समिति वा प्रचलित कानुनबमोजिम नेपाल सरकारद्वारा स्थापित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र यस्तै प्रकृतिका अन्य संगठित संस्था,

(२) नेपाल सरकारद्वारा सञ्चालित वा नेपाल सरकारको पूर्ण वा आंशिक अनुदान प्राप्त विश्वविद्यालय, महाविद्यालय, विद्यालय, अनुसन्धान केन्द्र र अन्य त्यस्तै प्राज्ञिक वा शैक्षिक संस्था,

(३) स्थानीय स्वायत्त शासन ऐन, २०५५ बमोजिम गठित स्थानीय तह,

(४) नेपाल सरकारको ऋण, अनुदान वा जमानतमा सञ्चालित संस्था,

(५) उपखण्ड (१), (२), (३) वा (४) मा उल्लिखित संस्थाको पूर्ण वा आंशिक स्वामित्व भएको वा नियन्त्रण रहेको संस्था,

(६) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक संस्था भनि तोकेको अन्य कुनै संस्था ।

(च) “अनुसन्धान अधिकृत” भन्नाले अख्तियार दुरूपयोगको अनुसन्धान र तहकिकात गर्न यस ऐन बमोजिम तोकिएको व्यक्ति सम्झनु   पर्छ ।

(छ) “अनुचित कार्य” भन्नाले सार्वजनिक पद धारण गरेको व्यक्तिले दफा ३ मा उल्लेख भएबमोजिम गरेको कुनै कार्य सम्झनु पर्छ ।

(ज) “भ्रष्टाचार” भन्नाले भ्रष्टाचार निवारण सम्बन्धी प्रचलित कानून बमोजिम सजाय हुने कसुर सम्झनु पर्छ ।

(झ) “अख्तियार दुरूपयोग” भन्नाले खण्ड (छ) वा (ज) बमोजिमको अनुचित कार्य वा भ्रष्टाचार सम्झनु पर्छ ।

(ञ) “अदालत” भन्नाले दफा ३४ को उपदफा (१) बमोजिमको अदालत सम्झनु पर्छ ।

(ट) “अख्तियारवाला” भन्नाले सार्वजनिक पद धारण गरेको व्यक्तिको सेवाका शर्त सम्बन्धी प्रचलित कानुन वा सम्झौता वा त्यस्तै कुनै लिखतमा व्यवस्था भएको अख्तियारवाला सम्झनु पर्छ र सो शब्दले त्यस्तो व्यक्तिलाई नियुक्त गर्ने, अवकाश दिने वा निजको काम कारबाहीको सुपरीवेक्षण गर्ने अधिकार प्राप्त अधिकारी समेतलाई जनाउँछ ।

३. अनुचित कार्यः सार्वजनिक पद धारण गरेको व्यक्तिले जानी जानी वा लापरवाही साथ देहायको कुनै कार्य गरेमा अनुचित कार्य गरेको मनिनेछः–

(क) आफ्नो अधिकार भित्रको कुनै काम गर्न इन्कार गरेको वा आफ्नो अधिकार नभएको कुनै काम गरेको,

(ख) कुनै निर्णय वा आदेश गर्दा वाध्यात्मक रूपले अपनाउनु पर्ने कार्यविधिको पालन नगरेको,

(ग) आफूलाई प्राप्त अधिकार सम्बन्धित कानुन, निर्णय वा आदेश विपरीत अर्कै उद्देश्य वा कार्यमा प्रयोग गरेको,

(घ) आफ्नो तजबिजी अधिकार बदनियत साथ वा स्वेच्छाचारी रूपमा प्रयोग गरेको,

(ङ) अन्य कार्यालय, अधिकारी वा कर्मचारीको कार्यमा अनाधिकार बाधा उत्पन्न गरेको वा त्यस्तो कार्यालय, अधिकारी वा कर्मचारीलाई दवाब दिई कुनै अनधिकृत कार्य गराएको,

(च) आफूले गर्नु पर्ने कुनै काम नगरी अन्य कार्यालय वा अन्य अधिकारी कहाँ पठाइ आफ्नो उत्तरदायित्व पन्छाएको,

(छ) आफ्नो पदको प्रकृति अनुसार पालन गर्नु पर्ने कुनै पदीय कर्तव्य पालन नगरेको,

(ज) आफ्नो मातहतमा रहेको कर्मचारी वा आफ्नो प्रभावमा रहेको व्यक्तिलाई अनुचित दबाब दिई वा प्रलोभनमा पारी आफ्नो अनुकूलको काम गराएको, वा

(झ) आफूलाई पदीय हैसियतले प्राप्त उन्मुक्ति, सुविधा वा सहुलियतको दुरूपयोग गरेको ।