३. वर्तमान स्थिति

३. वर्तमान स्थिति

बालबालिकाको हक हितको संरक्षण र विकासको लागि विगतमा सञ्चालन गरिएका विभिन्न प्रयासहरूका वावजुद बालबालिकाको स्थितिमा आशातीत सुधार हुन नसकेको यथार्थ हामी सामु विद्यमान छ । बालबालिकाको जन्म दर्ता न्यून रहेको छ भने शिशु मृत्युदर आशतीत रुपमा घटाउन सकिएको छैन । एक दशक लामो सशस्त्र द्वन्द्वको प्रभाव स्वरुप अपाङ्ग हुने, घाइते हुने र मानसिक पीडा वा मनोवैज्ञानिक असर परेका बालबालिका प्रसस्तै छन् । द्वन्दको कारणबाट पाँच हजार जति बालबालिका अनाथ हुन पुगेका छन् । ६ देखि १० वर्षका बालबालिकाहरूको प्राथमिक विद्यालयमा भर्नाको दरमा बढिरहेको भएतापनि यिनमा छात्राको भर्नादर तुलनात्मक रुपमा निकै कम छ । कतिपय गरीब र सीमान्तकृत समूहका बालबालिकाहरू शिक्षा पाउने अधिकारबाट वञ्चित छन् ।

 

बालबालिकाको विकास र कल्याणको लागि परिवार नै एक मात्र उपयुक्त प्राकृतिक वातावरण हो । तर ठूलो संख्याका बालबालिकाहरू विभिन्न कारणवश परिवारमा बसी हुर्कने अवसरबाट वञ्चित भइरहेका छन् । गरीब र पारिवारिक विखण्डनको कारण कतिपय बालबालिकाहरू सडकमा छन् र श्रम शोषणको शिकार भएका छन् । लाखौ बालबालिकाले सरुवा रोग र निको नहुने रोगबाट ग्रसित भई ज्यान गुमाउनु परेकोछ । समाजमा विद्यमान कुरीति र कुसंस्कारको कारण कतिपय बालबालिकाको सानै उमेरमा बाल विवाह भएको छ । बाल सहभागिताको नाममा बालबालिकालाई अनावश्यक रुपमा सभा, सम्मेलन तथा सेमिनारमा प्रयोग गर्ने प्रचलन बढिरहेको छ ।

 

यस बीचमा नेपालमा एक दशकसम्मको सशस्त्र द्वन्द्व अन्त्य भई शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया तार्किक निष्कर्षमा पुग्न लागेको छ । अब राज्यको ध्यान समाजमा सदियौंदेखि पछाडि परेका वर्ग लगायत बालबालिकाको उत्थान र विकासमा केन्द्रीत हुनु पर्ने आवश्यकता छ । यस सन्दर्भमा बालबालिकाको विकास र संरक्षणको लागि छुट्टै नीति बनाई देशको लागि सक्षम, प्रतिस्पर्धी र अनुशासित नागरिक तयार गर्नु पर्ने समय आएको छ ।