१. पृष्ठभूमि

१. पृष्ठभूमि

नेपालको अन्तरिम संविधान, २०६३ ले कानूनमा व्यवस्था भएबमोजिम आधारभूत स्वास्थ्य सेवा निःशुल्क रूपमा पाउने र आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने वा पाउने नेपाली नागरिकको मौलिक हक स्थापित गरेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनताको स्वास्थ्यस्तरमा अझ सुधार ल्याउन स्वास्थ्य सेवाको पहुँच र उपयोग वृद्धि गर्ने, सेवाको पहुँच बढाउन बाधा अड्चनहरू घटाउने र स्वास्थ्य पद्धति सुदृढीकरण गर्ने कार्यहरू निरन्तर रूपमा गरिरहेको छ । स्वास्थ्य प्रवद्र्धन, सरुवा एवं नसर्ने रोगहरूको रोकथाम र नियन्त्रण गरी मातृ, नवजात शिशु र बालमृत्युदर घटाई राष्ट्रिय स्वास्थ्य लक्ष्यहरू र सहश्राब्दी विकास लक्ष्य प्राप्त गर्नका लागि पनि अनवरत प्रयासरत र प्रगतिउन्मुख नै छ । सरकार, गैरसरकारी, निजी, संयुक्त राष्ट्रसंघ र बाह्य विकासका साझेदार संस्थाहरूले स्वास्थ्य सेवा र कार्यक्रमहरूलाई प्रभावकारी रूपमा जनताको घरदैलोसम्म पु¥याएर रोग र मृत्युदर घटाउन ठूलो भूमिका खेलेको भए तापनि नवजातशिशु र मातृमृत्यूदर घटाउनु चुनौतीपूर्ण छ । हालैका वर्षको तथ्यांक अनुसार नसर्ने रोगबाट हुने मृत्युदर बढ्दो गतिमा रहेको छ । सरुवा रोगहरू रोकथाम गर्न सहयोगी सावित हुने हात धुने तथा सरसफाइ र नसर्ने रोग रोकथामका लागि धुम्रपान तथा सूर्ति रहित वातावरण निर्माण गर्ने जस्ता साधारण व्यवहारको प्रवद्र्धन अत्यावश्यक देखिएको  छ । तसर्थ स्वास्थ्य प्रवद्र्धन, रोग रोकथाम तथा नियन्त्रणमा र स्वास्थ्य सेवाको पहुँच वृद्धि एवं अधिकतम उपयोगमा आम, अन्तरव्यक्ति र सामाजिक सञ्चार कार्यक्रमहरूको अझै ठूलो भूमिका रहने स्पष्ट देखिन्छ ।

 

नेपालमा स्वास्थ्य सञ्चार कार्यक्रमको शुभारम्भ प्रवद्र्धनात्मक र प्रतिकारात्मक स्वास्थ्य सेवाको शुरुवातसँगै सन् १९५७ मा किटजन्य रोग नियन्त्रण इकाईबाट भएको हो । सन् १९६१ मा स्वास्थ्य शिक्षा शाखाको स्थापना गर्नु स्वास्थ्य सञ्चारलाई संस्थागत गर्ने प्रक्रियाको दोश्रो पाइला थियो । त्यस बीचमा विभिन्न स्वास्थ्य परियोजनाहरूको आफ्नै बेग्लाबेग्लै स्वास्थ्य सञ्चार इकाईहरू कार्यरत थिए । वि.सं. २०५० मा ती स्वास्थ्य परियोजनाहरूको बेग्लाबेग्लै स्वास्थ्य सञ्चार इकाईहरूलाई परिमार्जन गर्दै स्वास्थ्य प्रवद्र्धन र सञ्चार कार्यक्रमहरूलाई एकीकृत र प्रभावकारी रूपमा योजना, कार्यान्वयन, अनुगमन र मूल्यांकन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको केन्द्रविन्दुको रूपमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको स्थापना भएको हो । यसले विगतका आवधिक योजना, स्वास्थ्य क्षेत्र योजना, स्वास्थ्य क्षेत्रका नीति, रणनीति तथा कार्यक्रमहरूले स्वास्थ्य सञ्चार कार्यक्रमहरूलाई प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा सम्बोधन गर्दै आएको छ ।

 

सञ्चार यस्तो प्रकृया हो, जसले मानिसहरूको दैनिक जीवनका क्रियाकलापहरूमा प्रभाव पारिरहेको हुन्छ । हालको परिवर्तित राजनैतिक र सामाजिक सन्दर्भमा आमसञ्चार माध्यमहरूको तीव्र विकास, स्थापना र प्रयोगले मानिसहरूको दैनिक क्रियाकलाप र त्यसको प्रवद्र्धनमा उल्लेख्य प्रभाव पारिरहेको छ । खासगरी आमसञ्चार माध्यमहरूले स्वास्थ्य सन्देश वा सूचनाहरू व्यापक रूपमा प्रवाहित गरी मानिसहरूको स्वास्थ्य र व्यवहार प्रवद्र्धन एवं स्वास्थ्य सेवा उपयोग वृद्धि गरी स्वस्थ जीवनयापन गर्न सहयोग गरेको छ ।

 

नेपाल जनसांखिक तथा स्वास्थ्य सर्भेक्षण, २०११ को अनुसार नेपालमा रेडियो राख्ने र प्रयोग गर्ने घर परिवारको संख्या घट्दो छ भने टेलिभिजन, टेलिफोन, मोवाइल, कम्प्युटर राख्ने र प्रयोग गर्ने घर परिवारको संख्या बढ्दो छ । यसर्थ स्वास्थ्य सन्देश वा सूचनाहरू सम्प्रेषण गर्ने आधुनिक सञ्चारका माध्यमहरू गाउँगाउँसम्म पनि धमाधम स्थापित हुँदै आएका छन् । टेलिभिजन च्यानल, एफ.एम. रेडियो स्टेशन र पत्रपत्रिकाहरूको संख्या बढिरहेकोले सोहीअनुरूप स्वास्थ्य सन्देशहरूलाई व्यवस्थापन र प्रचारप्रसार गर्नु आवश्यक छ । सञ्चार माध्यमहरूको वृद्धिसँगै नागरिकहरूको स्वास्थ्य सम्बन्धी विभिन्न विषयका चेतनाको स्तर पनि वृद्धि भैरहेको छ ।

 

नेपालको स्वास्थ्य स्थितिको वर्तमान अवस्थालाई हेर्दा ५१ प्रतिशत नसर्ने रोग, ४२ प्रतिशत सरुवा रोग तथा अन्य अवस्था र ७ प्रतिशत मानिसहरूको दुर्घटना चोटपटक कारणले मृत्यु हुने गरेको छ (ध्ज्इ, २०१०) । यसर्थ जनस्वास्थ्य प्रवद्र्घन, रोगहरूको रोकथाम तथा नियन्त्रण र नागरिकमा स्वास्थ्य सेवाको पहुँच एवं उपयोग वृद्धि गराउने कार्यक्रम सञ्चालन गर्नु नेपाल सरकारको महत्वपूर्ण दायित्व हुन आएको छ । यस्ता आधारभूत स्वास्थ्य सेवा तथा कार्यक्रमहरूको महत्व र प्रभावकारिता बढाउन, नेपाली जनताको सन्देश वा सूचना पाउने हक सुनिश्चित गर्न र स्वस्थ व्यवहार प्रवद्र्धन गर्न स्वास्थ्य सम्बन्धी सन्देश वा सूचना सबै सञ्चार माध्यमहरूबाट प्रचारप्रसार गर्नुपर्ने हुन्छ । यसका लागि हाल नेपालको परिवर्तित सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक र समाबेशीकरणको परिप्रेक्षमा स्थापित आम, अन्तरव्यक्ति र सामाजिक सञ्चारका सबै माध्यमहरूबाट स्वास्थ्य सन्देश वा सूचना प्रचारप्रसार गर्नु अपरिहार्य छ । यसर्थ स्वास्थ्य जनचेतना तथा व्यवहार अभिवृद्धि गर्न, स्वास्थ्य सेवा र कार्यक्रमहरूको प्रवद्र्धन, पहुँच एवं उपयोग वृद्धि गर्नका लागि स्वास्थ्य सन्देश वा सूचनाहरूलाई उपयुक्त समय र माध्यमबाट लक्षित समूहसम्म प्रभावकारी रूपमा सम्प्रेषण गर्ने हेतुले राष्ट्रिय स्वास्थ्य सञ्चार नीति, २०६९ तर्जुमा गरी जारी गरिएको छ ।